पटक पटक मिति घोषणा भइसक्दा पनि निर्वाचन हुन नसकेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।
आइतबारको बैठकमा राजीनामा दिने बताएका अध्यक्ष पोखरेलले सोमवार महासंघमा राजीनामा दर्ता गराएका हुन् । महासंघको नयाँ नेतृत्व चयनका लागि चुनाव हुन नसकेर विवाद बढिरहेका बेला पोखरेलले राजीनामा दिएका हुन् ।
महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।
‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्,‘ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’
गत १६ गते मात्रै पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा असोज ५ मा निर्वाचन हुने भनिएको थियो । यसअघि दुई पटक मिति तोकेर स्थगित भएको महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित बनेको थियो । पढ्नुस्ः नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?
लामो समयसम्म पनि चुनाव हुन नसक्दा पत्रकार महासंघमा सरकारी हस्तक्षेप निम्तिन सक्ने भन्दै पूर्वअध्यक्षहरूले चिन्ता व्यक्त गरेका थिए ।
काठमाडौंमा सम्पन्न पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते चुनावको मिति तोके पनि मतदाता नामावली टुङ्ग्याउन नसक्दा उक्त चुनाव स्थगित भएको थियो ।
सदस्यता शुद्धीकरण विवाद टुङ्ग्याउन नसक्दा अनिश्चितकालका लागि स्थगित भएको महासंघको निर्वाचन त्यसपछि असार २२ मा तोकियो । तर उक्त मितिमा पनि निर्वाचन हुन सकेन ।