मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ ।
साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको संस्थाका सचिव बालकृष्ण साहले जानकारी दिए।
निवर्तमान अध्यक्ष प्रियंका झाले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै संस्थाले नयाँ अध्यक्ष चुनेको हो । अरु कार्यसमितिका सदस्य भने पूर्ववत छन् ।
मिडिया र विकासमा लामो अनुभव रहेका पोखरेलले यसअघि इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट्स (IFJ) को दक्षिण एसिया संयोजकका रूपमा काम गरेका थिए ।
उनले जर्मनीस्थित DW Akademie का लागि अनुसन्धान परामर्शदाताका रूपमा समेत काम गरिसकेका छन् ।
मिडिया अनुसन्धान, पत्रकारिता, मिडिया विकास, प्रेस स्वतन्त्रता तथा पत्रकारका अधिकारका क्षेत्रमा उनको विशेष अनुभव रहेको छ ।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै पोखरेलले मिडिया एक्सन नेपालको स्वतन्त्र अभिव्यक्ति, पत्रकारको सुरक्षा, सूचनाको अधिकार र मिडिया विकास प्रवर्द्धन गर्ने उद्देश्यमा योगदान गर्ने अवसर पाउँदा खुसी लागेको बताए ।
नवनिर्वाचित अध्यक्ष पोखरेललाई स्वागत गर्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष डा. लक्ष्मणदत्त पन्तले पोखरेलको नेतृत्वमा संस्थाले मिडिया विकास, प्रेस स्वतन्त्रता, सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा आफ्नो कामलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।
यसैगरी, अमित प्याकुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको मिडिया एक्सनले जनाएको छ।
निवर्तमान अध्यक्ष प्रियंका झाले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल तथा विश्वभर स्वतन्त्र प्रेस र मिडिया विकासका लागि संस्थाले गर्दै आएको योगदानमा आफ्नो तर्फबाट सदैव सहयोग रहने बताइन् ।