अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले बताएका छन् ।
हालैका दिनमा अन्नपूर्ण मिडिया नेटवर्कमा देखिएको श्रम संकट र कर्मचारीहरूको सामूहिक राजीनामाको पृष्ठभूमिमा बस्नेतको राजीनामा आएको हो ।
बस्नेत २०८१ साउन २ गते अन्नपूर्णको महाप्रबन्धक नियुक्त भएका थिए ।
यद्यपि, बस्नेतले आफ्नो राजीनामा संस्थाको आन्तरिक श्रम समस्या वा हालैका व्यवस्थापकीय निर्णयहरूसँग सम्बन्धित नरहेको दाबी गरे ।
"विशुद्ध मेरो कार्यभार पूरा भइसकेका कारण राजीनामा दिएको हुँ," मिडिया कुराकानीसँग उनले भने, "राजीनामा कम्पनीमा कसैले मागेको छैन र यो यहाँ भएको श्रम समस्यासँग सम्बन्धित छैन। व्यवस्थापन र सहकर्मीहरूले बस्न आग्रह गर्दागर्दै पनि मैले बाहिरिने निर्णय गरेको हुँ ।"
बस्नेतको दुई वर्षे कार्यकाल यस्तो समयमा बित्यो जतिबेला अन्नपूर्ण मिडिया नेटवर्क मात्र नभई नेपालका मूलधारका सञ्चार माध्यमले ठूलो आर्थिक चुनौतीको सामना गरिरहेका छन् ।
विज्ञापन बजारमा आएको गिरावट, खासगरी हालै सरकारले निजी मिडियालाई सरकारी विज्ञापन रोकेपछि, यो संस्थाको आम्दानी ४४ प्रतिशतले घटेको उनी आफैँले हामीसँग बताएका थिए ।
यसैका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गत जेठ ६ गते कर्मचारीहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेपछि सबैजसो पत्रकार र कर्मचारीले सामुहिक राजीनामा दिएका थिए । पढ्नुस्ः अन्नपूर्ण पोस्ट्मा सामूहिक राजीनामा: श्रम दायित्व छल्न व्यवस्थापनको यस्तो जुक्ति
प्रतिकूल परिस्थितिका बीच पनि आफूले नयाँ कामहरूको थालनी गरेको र सफलता प्राप्त गरेको बस्नेतले उल्लेख गरे ।
"बदलिँदो र प्रतिकूल परिस्थितिका कारण केही योजनाहरू सोचेजस्तो हुन सकेनन्, तर तिनलाई मैले हार नभई अमूल्य सिकाइका रूपमा लिएको छु", उनले फेसबुकमा लेखेका छन् ।
गत साता मात्र कोभिड महाव्याधिदेखि रोकिएको तलबको माग गर्दै अन्नपूर्णका ११ जना पूर्व पत्रकारले श्रम तथा रोजगार कार्यालयमा निवेदन दिएका छन् । पढ्नुस्ः अन्नपूर्णका पत्रकारहरूको प्रश्न – तलब त नदिने मिडियाले अरु सुविधा दियो भनेर कसले पत्याउँछ?