लामो समयदेखि स्थगित नेपाल पत्रकार महासंघको चुनाव अन्ततः आगामी असोज ५ गते हुने गरी मिति तोकिएको छ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आउँदो असोज ५ गते निर्वाचन हुने भएको छ । महासंघका सबै समितिहरूको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न अध्यक्ष विपुल पोख्रेलले निर्वाचन समितिलाई पत्राचार गरेका हुन् ।
अध्यक्ष पोखरेलले भदौ १६ गते आइतबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई मिति २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न पत्राचार गरेका हुन् । पोख्रेलले निर्वाचनलाई सफल बनाउन सबैसँग आग्रह गरेका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले महासंघले निर्वाचन अगाडि बढाउन पत्र पठाएकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए ।
"महासंघले सदस्यताको अन्तिम टुंगो लगाइसकेर निर्वाचन अगाडि बढाउन पत्र दिएकाले सोहीअनुसार हामी निर्वाचन कार्यतालिका अगाडि बढाउँछौँ", प्राध्यापक खनालले भने ।
यसअघि दुई पटक मिति तोकेर स्थगित भएको महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित बनेको थियो । पढ्नुस्ः नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?
लामो समयसम्म पनि चुनाव हुन नसक्दा पत्रकार महासंघमा सरकारी हस्तक्षेप निम्तिन सक्ने भन्दै पूर्वअध्यक्षहरूले चिन्ता व्यक्त गरेका थिए ।
काठमाडौंमा सम्पन्न पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते चुनावको मिति तोके पनि मतदाता नामावली टुङ्ग्याउन नसक्दा उक्त चुनाव स्थगित भएको थियो ।
सदस्यता शुद्धीकरण विवाद टुङ्ग्याउन नसक्दा अनिश्चितकालका लागि स्थगित भएको महासंघको निर्वाचन त्यसपछि असार २२ मा तोकियो । तर उक्त मितिमा पनि निर्वाचन हुन सकेन ।
अध्यक्षका नाताले नैतिक जिम्मेवारी लिन्छुः पोख्रेल
पटकपटक निर्वाचनको मिति तोकेर पनि निर्वाचन हुन नसकेको पनि अध्यक्ष पोख्रेलले नैतिक जिम्मेवारी लिने बताएका छन् । "नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक छ", आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, "घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु ।"
अध्यक्ष पोख्रेलले महासंघ स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पारेका छन् ।
घोषित मितिमा निर्वाचन हुन नसक्नुमा नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पोख्रेलले भनेका छन्, "महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु ।"
विज्ञप्तिमा महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गर्दै पेशागत शुद्धतामा यसले योगदान गरेको जिकिर उनले गरेका छन् । शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।
पढ्नुस् महासंघका अध्यक्ष पोख्रेलद्वारा जारी विज्ञप्तिः
