एक्लै १५ दिन धादिङको दुर्गम उत्तरी हिमाली भेग पुगेर रिपोर्टिङ गरेको पनि २५ वर्ष बितेछ। त्यति वेला ‘जहाँ विकास पछाडि छ, चर्च अगाडि’ भनेर रिपोर्ट तयार पारेको थिएँ। अहिले त्यो रिपोर्टबारे कुराकानी गर्न बस्दा रिपोर्टिङभन्दा पनि रिपोर्ट तयार गर्दाको भोगाइ झलझली याद आइरहेको छ।
त्यति वेला पाएको दुःख फर्केर हेर्दा दुस्साहस गरिएछ कि जस्तो लाग्छ। नुवाकोट, रसुवा, धादिङ हुँदै तिप्लिङ गाउँसम्म एक फन्को लगाएको थिएँ। धुन्चेमा पुगेपछि तत्कालीन जिल्ला विकास समितिका सभापति भीमलाल हिराचनले ‘हिउँ परेको छ, नजानोस्’ भनेका थिए। तैपनि स्याफ्रुबेसीबाट पैदल हिंडें, उत्तरतिर।
पार्वतीकुण्ड पुगेपछि हिउँ पर्यो र तीन-चार दिन थुनिएँ। दुई-तीन फुट थियो। मैले सामान्य ज्याकेट मात्र लगाएको थिएँ। जाडोले साह्रै सतायो। हिउँमा घाम टल्केर चश्मा विना हिंड्न सकिंदैन भन्ने पनि थाहा थिएन। मसँग कालो चश्मा थिएन।
हिउँ थामिएपछि गन्तव्यतिर लागें। पहिलो पटक हिउँमा हिंडेको त्यहीं हो। गणेश हिमालको फेदी सोमदाङमा त धेरै दुःख पाइयो। रातभरि गोठमा सुत्नुपर्यो। हिउँ छिचोलेरै तिब्बतसँग जोडिएको गाउँ तिप्लिङ गइयो, जुन मूल गन्तव्य थियो। त्यहाँबाट झार्लाङ, री, सेर्तुङ घुमेर रिपोर्टिङ गरेको थिएँ।
त्यो रिपोर्टिङको विषयबारे अहिले सम्झिँदा आफ्नै धारणा छ। तर, काम चाहिं रमाइलो थियो। त्यो स्थलगत रिपोर्टिङले अरू रिपोर्टिङ गर्न, समाज बुझ्न मद्दत गरेको थियो।
त्यो रिपोर्टिङबाट धर्म परिवर्तनलाई हेरेको होइन। चीनसँग सीमा जोडिएका ती दुर्गम गाउँ (अहिले पनि दुर्गम नै मानिन्छन्) मा बौद्ध धर्म, झाँक्री प्रथा, बोन धर्म प्रचलनमा थिए। ती धर्मबाट एक्कासि गाउँहरू कसरी इसाई धर्ममा रूपान्तरित भए भन्ने उत्सुकताले त्यो रिपोर्टिङ गरिएको हो। जहाँ विकास केही थिएन। लगभग सबै घरधुरी नै इसाई धर्ममा रूपान्तरित थिए।
पञ्चायतकालदेखि नै यसको राजनीतिक प्रयोग पनि भएको रहेछ। तल्लो भेगका बुद्ध धर्मावलम्बी र इसाईबीच एक खालको द्वन्द्व भएको पनि देखियो। कारण के हो त भनेर त्यहाँको समाज, वस्तुस्थिति, सामाजिक, आर्थिक अवस्था बुझ्न रिपोर्टिङ गरिएको हो।
त्यतिखेर म काठमाडौं टुडे म्यागेजिनमा काम गर्थें। राजेन्द्र दाहाल खोज पत्रकारिता केन्द्रको सम्पादक हुनुहुन्थ्यो। उहाँले नै यो रिपोर्टिङ गर्न प्रोत्साहन गर्नुभएको थियो। पूरा हिमालखबरमा पढ्नुहोस् ।