नेपालका जेन् जीहरू जब भ्रष्टाचार विरुद्ध सडकमा आए, तब उनीहरूले आफ्ना कुरा भन्न परम्परागत मिडियाको प्रतीक्षा गरेनन् । बरु, उनीहरू आफै मिडिया बने ।
भदौ २३ गते बिहान प्रदर्शन शान्तिपूर्ण रुपमा सुरु भयो । प्रत्येकजसोले स्मार्टफोनबाट मिनेट मिनेटका गतिविधिको फोटो र भिडियो खिचिरहेका मात्र थिएनन्, लाइभ पनि गरिरहेका थिए ।
प्रहरीले बर्बर दमन गरेपछि यी नवजवानहरूले टिकटकबाटै आफ्ना कुरा भने । गोली लागेर सडकमा प्रदर्शनकारी ढल्न थालेपछि उनीहरूले अन्तर्राष्ट्रिय मिडियालाई आह्वान गरेर भिडियो बनाउन थाले ।
नेपाल र प्रवासमा रहेका कयौँ अरु नवजवानहरूले टिकटकमा भिडियो बनाएर प्रदर्शनका बारेमा आवाज उठाए, ताकि अन्तर्राष्ट्रिय समुदायले यसबारे बुझुन् । अझ बढी अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिचोस् भन्ने अपेक्षा उनीहरूको देखिन्छ ।
जेन जीहरूले घटना घटिरहँदा तत्क्षण संसारलाई देखाइदिए । उनीहरू पेशागत पत्रकार थिएनन् । तर काम भने पत्रकारजस्तै गरे । उनीहरूले गरेको काम पत्रकारिता भन्दा कम प्रभावकारी भएन । यो नागरिक पत्रकारिता थियो ।
मिडिया कुराकानीले ओपन सोर्स इन्टेलिजेन्स (OSINT) विधिबाट टिकटकका ६० भन्दा बढी भिडियो पहिचान गरी अध्ययन गरेको छ ।
हामीले देख्यौँ- नेपालको जेन् जी प्रदर्शनले अभूतपूर्व रुपमा अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिचेको छ ।
यो भिडियोमा हामी तपाईँलाई देखाउनेछौँ -
➡️ नेपालमा उठेको जेन् जी आन्दोलनले विश्वभरको ध्यान कसरी तान्यो ?
➡️ चिनिएका नचिनिएका अनेक अन्तर्राष्ट्रिय मिडियामा यति धेरै कभरेज कसरी भयो ?
➡️ सुरुमा सोसल मिडियामा लगाइएको प्रतिबन्ध विरुद्ध प्रदर्शन भनेका अन्तर्राष्ट्रिय मिडियाले पछि सच्याएर भ्रष्टाचारविरुद्धको आन्दोलन पनि हो भने । यो कसरी सम्भव भयो ?
यो भिडियो हेर्नुहोस् ।