यति बेला काठमाडौंमा चलिरहेको एउटा 'कोटिहोम' को चर्चा सर्वत्र छ । भर्खरै अनलाइनखबरमा सम्पादक बसन्त बस्नेतले लेखेका छन् - यहाँ [पशुपतिमा जारी कोटिहोममा] धर्म, परोपकार, आइटी सेक्टर, कर्पोरेट, संसदीय राजनीति सबै जोडिएको छ । बस्नेतको ‘कथा’को केन्द्रमा छन्- देवी प्रतिभा ।
देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना ! शीर्षकको कथामा देवी प्रतिभालाई प्रसङ्ग बनाएर बस्नेत कथाहरूकै कथा भन्छन् । र, कथा भन्नेहरूमाथि लेख्छन्- ‘सबैले पत्याउने गरी कथा भन्न जसले सक्छ, त्यो माथि गयो, जसको कथावाचन क्षमता छैन, त्यो तलै रह्यो ।'
हामी पनि तपाईँलाई एउटा कथा भन्दैछौँ । तर यो देवी प्रतिभाको कथा होइन । यो त कोटिहोम लगाएर देवी प्रतिभालाई कथा भन्न बोलाउने विजय भण्डारीको कथा हो ।
सम्बन्धविच्छेद पाप भएको प्रतिभाको अभिव्यक्तिको सचेत आलोचना पनि सञ्जालमा भएकै छ । तर देवी प्रतिभासँगै कोटिहोममा अर्की कथावाचक पनि छन्- राधिका दासी, जो आफैँ ‘डिभोर्सी’ हुन् ।
पशुपतिको कोटिहोममा के भनिन् ‘देवी प्रतिभा’ले? शीर्षकमा उकालोमा नेहा शर्मा लेख्छिन्- प्रतिभाको वाचन सुन्दा लाग्थ्यो–ठूलो संघर्षले ल्याएका सबै समताका कानुन खारेज गर्दै मध्य युगीन धार्मिक कानुन स्थापित गर्नुपर्छ, फेरि ‘सतियुग’ फर्काउनुपर्छ। र त्यो मध्य युगीन ‘नर्क’ नै हाम्रो ‘धर्म’ हो ।
यो देवी प्रतिभा, राधिका दासी वा साउन १ देखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जारी कोटिहोमको कथा होइन । यो त पहिला नेपाली मिडियामा प्रशस्त चर्चा भएर अहिले 'न्युज रुम' हरूले 'न्युज भ्यालु' नदेखेका बाल योगेश्वरको कथा हो । बाल योगेश्वर अर्थात् विजय भण्डारी ।