तपाईँ मिडियाप्रति सकारात्मक हुनुहुन्छ ? नकारात्मक हुनुहुन्छ ? वा, दुबै हुनुहुन्न ? कि घटना वा सन्दर्भअनुसार कहिले सकारात्मक त कहिले नकारात्मक हुनुहुन्छ ? सोच्दै गर्नुस् ।
तर हामीले देखाउन लागेको तथ्याङ्कले भन्छ- मानिसहरू मिडियाप्रति अत्यन्त नकारात्मक छन् ।
यो भिडियोका लागि हामीले एउटा घटनाको अध्ययन गरेका छौँ, जसले भन्छ- ८० प्रतिशत भन्दा बढी मानिसहरू मिडियाप्रति नकारात्मक छन् ।
हुन त इन्टरनेटको एउटा सामग्रीमा आएका प्रतिक्रियाहरू हेरेर मात्र सञ्चार माध्यम र पत्रकारहरूप्रतिको आमधारणा यस्तै हुन्छ भनेर निष्कर्ष निकाल्न सायद नमिल्ला । तर, मिडियाप्रति आम मानिसको धारणा सकारात्मक छैन भन्न चाहिँ सकिन्छ ।
हाम्रो अध्ययनको निष्कर्ष छ- मिडियाप्रति मानिसहरूको बढ्दो नकारात्मक धारणा सामान्य होइन, डरलाग्दो छ ।
गत मंसिर १५ गते उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दिप रायमाझीलाई ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।
त्यसको चार दिनपछि अर्थात् मङ्सिर १९ गते प्रहरीले सन्दिपलाई बैंक ग्यारेन्टी बुझाउने क्रममा अदालतमा ल्याएको थियो । अदालतबाट बाहिरिने क्रममा रायमाझीलाई प्रहरीको गाडीतर्फ लगिँदै थियो ।
कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन सञ्जय लुइँटेल भिडियो खिच्दै थिए । छायाङ्कनकै क्रममा सञ्जयमाथि सन्दिप रायमाझीले मुक्का प्रहार गर्छन् ।
सन्दिप नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री, पूर्व माओवादी नेता र पछि एमालेमा सचिव रहेका टोपबहादुर रायमाझीका छोरा हुन् । उक्त घटनामा संलग्न गिरोहका सदस्यले रायमाझी बाबुछोराको नाम बकेपछि उनीहरू पक्राउ परेका थिए ।
सन्दीपको प्रहारबाट पत्रकार लुइँटेलको गालामा चोट लाग्छ भने उनको क्यामेराको बुम माइक पनि फुट्छ ।
यससम्बन्धी समाचार अरु मिडियाहरूले सम्प्रेषण गरेका छन् । कान्तिपुर टेलिभिजनमा पनि उक्त भिडियोसहितको समाचार सामग्री प्रसारण भएको छ ।
कान्तिपुर टिभीको फेसबुक पेजमा मंसिर १९ गते अपलोड गरिएको उक्त भिडियो १० लाख बढीले हेरिसकेका छन् । उक्त भिडियोमा ३७ हजार भन्दा बढीले रियाक्ट गरेका छन् । १ हजार भन्दा बढीले उक्त भिडियो सेयर गरेका छन् ।
भिडियोमा ३६ सय भन्दा बढी प्रतिक्रिया आएका छन् । ती कमेन्टहरू ध्यान दिएर पढ्नुभयो भने तपाईँले थाहा पाउनुहुन्छ कि अवस्था किन डरलाग्दो छ ।
हामी यसलाई किन डरलाग्दो भनिरहेका छौँ भने, मानिसहरू मिडिया र पत्रकारलाई गाली गरिरहेका छन् । र, मिडियामाथि जाइलग्ने अभियुक्तको पक्षमा छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने अपराधमा संलग्न रहेको आरोप लागेका अभियुक्तको पक्षपोषण गर्दै मानिसहरू पत्रकारले मुक्का खाएकोमा रमाइरहेका छन् । पत्रकारलाई मुक्का हानेर अभियुक्त सन्दिपले ठिक गरे भन्ने प्रतिक्रियाको संख्या ८२ प्रतिशत छ । पत्रकारले मुक्का खाएकोमा अधिकांशको प्रतिक्रिया छ - गुड जब अर्थात् राम्रो काम !
हामीले मंसिर १९ गतेदेखि पुस १२ गते दिउसो १ बजेसम्म आएका कमेन्टहरू हेरेका थियौँ ।
फेसबुकको उक्त भिडियोमा ३ हजार ६४५ कमेन्ट आएका छन् । हामीले सबै कमेन्ट पढ्यौँ र ४ भागमा बाँड्यौँ ।
पहिलो समूहमा, पत्रकारले मुक्का खाएकोमा रमाएर अनि खुसी भएर गरिएका प्रतिक्रियाहरू ।
दोस्रो, पत्रकारमाथि आक्रमण भएकोमा आपत्ति जनाइएका प्रतिक्रियाहरू ।
तेस्रो, घटनाप्रति तटस्थ रहेका प्रतिक्रियाहरू ।
र, चौँथो, घटनासँग असम्बन्धित खालका प्रतिक्रियाहरू ।
कूल ३ हजार ६४५ प्रतिक्रियामध्ये २ हजार ९९७ अर्थात् ८२ प्रतिशत प्रतिक्रियामा पत्रकारले मुक्का खाएकोमा खुसी व्यक्त गरिएको छ । अधिकांश मानिस पत्रकार कुटिएकोमा खुसी छन् । उनीहरूलाई क्यामेराको बुम फुटाएर, पत्रकारलाई घाइते बनाएर अभियुक्तले ठिक गरे भन्ने लागेको छ ।
थोरै मात्रै मानिसहरूले सन्दिपले ठिक गरेनन् भनेका छन् । पत्रकारमाथि आक्रमण भएकोमा आपत्ति जनाइएका प्रतिक्रिया ४४२ अर्थात् १२ प्रतिशत मात्र छन् ।
२ प्रतिशत अर्थात् ७८ वटा कमेन्ट तटस्थ छन् । यस्ता प्रतिक्रिया पक्ष र विपक्षमा छैनन् । पक्षविपक्षमा नभएकाहरूले कान्तिपुरले यी कमेन्टहरू पढ्नुपर्छ भनेर सुझाव पनि दिएका छन् । न उनीहरू खुसी छन्, न आपत्ति जनाएका छन् ।
घटनासँग असम्बन्धित अर्थात् उदाहरणका लागि ‘धन्यवाद प्रचण्ड सरकार’, ‘एउटै मन कति जित्छौ ?’, ‘रवि बालेनको सपोर्टरजति यता’ जस्ता प्रतिक्रिया ३ प्रतिशत भन्दा बढी छन् ।
मिडियाप्रति नकारात्मक हुनु एउटा कुरा हो तर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न रहेको आरोप लागेका व्यक्तिले मिडियामाथि गरेको हर्कतको समर्थनमा देखिएको ८२ प्रतिशत मनोविज्ञानले के भन्छ ?
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने, कान्तिपुर त्यही मिडिया हो जसले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको पर्दाफास गरेको थियो ।
जुन मिडियाले राष्ट्रविरुद्धको यति ठूलो अपराध सार्वजनिक गर्यो, त्यही मिडियामाथि उक्त अपराधमा संलग्न रहेको आरोप लागेका व्यक्ति जाइलाग्दा आएका यस्ता प्रतिक्रियाले के देखाउँछन् ?
मिडियाप्रति किन यसरी आक्रोश बढेको होला ?
के यो मिडियाको घट्दो विश्वसनीयताको परिणाम हो ?
सधैँ अरुलाई ऐना देखाउने मिडियाले पनि ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ भन्ने सन्देश पो हो कि ?
कि यो समाजमा बढ्दै गएको भनिएको भिडतन्त्र र असम्वेदनशीलताको संकेत हो ? हामी मिडिया कुराकानीका आउँदा भिडियोहरूमा यी र यस्तै प्रश्नहरूको जवाफ लिएर आउने छौँ ।