प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था Research and Analysis Wing (R&AW) ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच ६ महिनाअघि भएको गोप्य सम्झौताको पत्र खुलासा भन्दै एउटा सम्झौता पत्रको फोटो सोसल मिडियामा भाइरल बनाइएको छ । तर खुलासा गरेको भनिएको उक्त सम्झौता पत्र नै शंकास्पद देखिन्छ ।
यसको अर्थ के होइन भने प्रधानमन्त्री ओली सन्देहको घेराभन्दा बाहिर छन् । पक्कै छैनन् । किनभने उनले रअका प्रमुख गोयलसँग खुसुक्क भेटेका थिए । कम्तिमा भेटअघि यसबारे सरकारले औपचारिक रुपमा केही बोलेको थिएन । जब भेट सकियो, गोयल फर्किए र गोप्य रुपमा भएको भेटबारे सार्वजनिक टिप्पणीहरू तेर्सिए, तबमात्र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेट भएको स्वीकारेका थिए ।
तर प्रधानमन्त्री ओलीले गोयलसँग जे जस्ता सम्झौता गरे भनेर प्रचार गरिएको छ, यो प्रधानमन्त्री विरुद्धको प्रोपगन्डाजस्तो देखिन्छ ।

कसरी सुरु भयो प्रचार ?
प्रचारको सुरुवात उज्यालो नेटवर्क नामक अनलाइनको एक समाचार सामग्रीबाट भएको देखिन्छ । त्यो समाचार राखेको तस्बिरलाई पछि सामाजिक सञ्जालबाट भाइरल बनाएको देखिन्छ । उज्यालो नेटवर्क अनलाइनको समाचारमा रअ प्रमुख र प्रधानमन्त्री ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति भएको दाबी गरिएको छ ।
२१ अक्टोबर २०२० को मितिमा चार बुँदे सम्झौता भएको भनी उक्त तस्बिरमा उल्लेख छ । उज्यालो नेटवर्क अनलाइनको लोगो समेत राखेर एक्सक्लुसिभ जस्तो देखाइ सार्वजनिक गरिएको उक्त तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखको हस्ताक्षर पनि राखिएको छ ।
तर यसलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले यसलाई भ्रमपूर्ण प्रचार भनेका छन् । “भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ”, भट्टराईले ट्विटरमा लेखेका छन्, “विदेश मामिला जस्तो सम्वेदनशील विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।”
भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।
— Rajan Bhattarai (@Rajanktm) April 15, 2021
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख गोयलबीच त्यतिबेला भेटमा के कुराकानी वा सम्झौता सहमति भए भन्नेबारे सार्वजनिक रुपमा सरकारका तर्फबाट केही जानकारी भने दिइएको थिएन । यतिसम्म कि यस विषयमा तत्कालीन नेकपासमेत अनभिज्ञ थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच भेट भएको जानकारीसहित प्रेस नोट जारी गर्नेबाहेक सरकारका तर्फबाट कुनै जानकारी गराइएको थिएन ।
परराष्ट्र मामिलाका जानकारहरूले पनि प्रधानमन्त्री ओलीको भेट कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी त्यतिबेला गरेका थिए ।
कुन कुन मिडियामा भयो ‘खुलासा’ ?
समाचार दैनिक अनलाइनले पनि यस विषयमा समाचार लेखेको छ । तर उसले समाचारमा उज्यालो नेटवर्क अनलाइनकै तस्बिर राखेको छ ।

यस्तै ओली र गोयलबीचको सहमति बाहिरएको भन्दै सुदर्शन खबर डट कमले समाचार राखेको छ । यो अनलाइनले ६ महिनासम्म गोप्य राखिएको सम्झौता कसले सार्वजनिक गर्यो ? यस्तो छ गम्भीर खुलासा शीर्षकमा दोस्रो समाचार पनि लेखेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो कार्यलाई ‘राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने खेल’ भनेका छन् । मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, “राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने षडयन्त्रपूर्ण खेल कसैले नखेलौँ । त्यस्तो षडयन्त्रलाई कसैले पनि प्रोत्साहित नगरौँ’, पोखरेलले भनेका छन् ।
राजनीतिक अन्तर संघर्षमा राष्ट्रलाई वदनाम गराउने षडयन्त्रपूर्ण खेल कसैले नखेलौ । त्यस्तो षडयन्त्रलाई कसैले पनि प्रोत्साहित नगरौ ।
Posted by Shankar Pokhrel on Thursday, April 15, 2021
पहिलो कुरा, मानिसहरू झुक्किने सम्भावना किन पनि छ भने सार्वजनिक भएको भनिएको पत्रमा उज्यालो नेटवर्क नामक अनलाइनको लोगो राखिएको छ । तर यो उज्यालो ९० नेटवर्क भने होइन । माइसन्सारले यो विषयसहित सार्वजनिक भएको भनिएको पत्रका चार शंकास्पद विषयबारे लेखेको छ ।
दोस्रो, सार्वजनिक भएको भनिएको सहमति पत्रको सुरुमा हेर्नुस्, लेखिएको छ- Unofficial Translation । यदि यो बास्तविक सहमति पत्रको अनौपचारिक अनुवाद हुन्थ्यो भने, त्यसमा प्रधानमन्त्री वा गोयलको हस्ताक्षर हुन सम्भावना हुँदैन । त्यसैले पनि यसलाई विश्वास गर्न सकिँदैन ।
तेस्रो, अझ अविश्वसनीय कुरा के देखिन्छ भने खुलासा भएको भनिएको सहमति पत्रको अन्तिममा लेखिएको छ- Confidential document Please file it properly । यदि यो गोप्य कागजात हुन्थ्यो भने यसरी अपरिपक्व ढंगको लेखाइ हुँदैनथ्यो । बरु के भन्न सकिन्छ भने मानिसहरूको दिमागमा यो त ठूलै चिज रहेछ, भएकै कुरा रहेछ भनेर भ्रम पार्न यसो गरिएको हो कि भन्ने शंकालाई बल दिन्छ ।