सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुनः लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको जेठ १२ गते सोमबारको बैठकले हुमागाईंलाई विज्ञापन बोर्डको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
हुमागाईंले यसअघि चार वर्ष बोर्डको नेतृत्व गरिसकेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वैशाख ५ गते विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको थियो । बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन परेको थियो ।
कार्य योजना, प्रस्तुतीकरण र अन्तरवार्तामा उत्कृष्ट अंक ल्याउने तीनजनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा पेश गरेकोमा सबैभन्दा धेरै अंक ल्याएका हुमागाईंलाई नियुक्ति गरिएको सरकारका प्रवक्ता गुरुङले बताए ।
हुमागाईंले आफ्नो पहिलो कार्यकालमा विज्ञापन नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यमको बिलको आधारमा मात्र विज्ञापन एजेन्सीलाई पैसा भुक्तानी गर्ने व्यवस्था मिलाएका थिए। विज्ञापन बजारको चुहावट रोक्न यो व्यवस्थाले सहयोग पुगेको हुमागाईँ बताउँछन् ।
उनको पहिलो कार्यकालमा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी गरेर नेपालमा पहिलो पटक विज्ञापन आचारसंहितालाई लागू गरिएको थियो ।
सञ्चार क्षेत्रमा तीन दशकको अनुभव भएका हुमागाईंले नेपाल टेलिभिजन, जनता टेलिभिजन र ईमेज च्यानल लगायतका संस्थाको नेतृत्व गरिसकेका छन् ।
आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा उनले स्नातकोत्तर गरेका छन् । पत्रकारिता तथा आमसञ्चारमा एमफिल गरेका उनले विज्ञापन नियमनकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरिरहेका छन् ।