अनलाइनखबरको प्रधान सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन्।
शिव गाउँलेले राजीनामा दिएपछि खाली भएको प्रधान सम्पादकको जिम्मेवारी हाल सम्पादकको भूमिकामा रहेका बस्नेतलाई दिइएको अनलाइनखबर व्यवस्थापनले जनाएको छ।
अनलाइनखबर नेपाल प्रा.लि.को सञ्चालक समिति बैठकले बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको अनलाइनखबरले लेखेको छ।
यसअघि प्रधान सम्पादक शिव गाउँलेले दिएको राजीनामा पनि व्यवस्थापनले स्वीकृत गरेको छ ।
बस्नेत २०७९ साउनदेखि अनलाइनखबरमा सम्पादकको रूपमा कार्यरत थिए ।
नवनियुक्त प्रधान सम्पादक बस्नेतले सही सूचना र सोचको मञ्चका रुपमा समाचार कक्षलाई अगाडि बढाउने बताए ।
"सत्ता र सार्वजनिक पदमा बसेकाहरूमाथि प्रश्न उठाउने कुरा जति गाह्रो छ। त्यस्तै बढ्दो पपुलिज्मको लहरसँग पनि जुध्ने काम पनि जटिल हुँदैछ," बस्नेतले मिडिया कुराकानीसँग भने, "यो अवस्थामा सही सूचना र सोचको मञ्च बन्ने बनाउने सम्पूर्ण प्रयत्न गर्नेछौँ।"
उनले अनलाइनखबरले तत्क्षण समाचार दिएर हासिल गरेको प्रतिष्ठालाई कायम राख्ने बताए । "गतिका लागि हामी चर्चित नै छौँ, समाचारमा गहिराई पनि दिने गरी काम गर्नेछौँ," बस्नेतले मिडिया कुराकानीसँग भने।
सूचना दिएबापत् मूल्य चुकाउनुपर्ने अवस्था आएको बताउँदै उनले ती चुनौती सामना गर्न अनलाइनखबरको समाचार कक्ष तयार रहेको बताए।
२०५७ देखि पाँचथरबाट निस्कने ‘रवि’ साप्ताहिकमा अन्तर्वार्ता तथा नियमित स्तम्भमार्फत् लेखन/पत्रकारिता सुरु गरेका बस्नेतको औपचारिक पत्रकारिता भने इलाम एफएमबाट सुरु भएको हो ।
बस्नेतले त्यहाँ स्थापनाकालदेखि नै रेडियो कमेन्टेटर र कार्यक्रम उत्पादकको रूपमा काम गरेका थिए ।

स्वागत तथा बिदाईमा अनलाइखबर समाचार कक्षमा देखिएको जमघट । फोटोः अनलाइनखबर ।
२०६५ देखि उनी नागरिक दैनिकमा आबद्ध भए । नागरिक दैनिकमा साढे ३ वर्षको अनुभवपछि बस्नेत २०७१ को असारदेखि कान्तिपुर दैनिकमा आबद्ध भएका थिए ।
यसअघि उनी २०७७ भदौमा शिलापत्रको प्रधानसम्पादक र २०७४ साउनमा अन्नपुर्ण टुडेको सम्पादकको रूपमा काम गरिसकेका छन् । अन्नपूर्ण टुडे म्यागेजिन बन्द भएपछि उनी केही समय अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक रहे ।
२०७४ फागुनमा उनी पुनः कान्तिपुर फर्किए र कान्तिपुर पब्लिकेसन्सको 'नेपाल' म्यागेजिनमा सम्पादक रहे । उक्त म्यागेजिन कोभिड महाव्याधिमा बन्द भएपछि उनी शिलापत्र डट कममा प्रधान सम्पादक रहे ।
'७२ को विष्मय' (गैर आख्यान), 'महाभारा'(उपन्यास) र 'सिमसारा'(उपन्यास) गरी उनका तीनवटा कृति प्रकाशित छन् ।
अनलाइनखबर नेपाल प्रा.लि.ले निवर्तमान प्रधान सम्पादक शिव गाउँलेको बिदाइ पनि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी बुद्ध जयन्ती समारोहमा 'खाली कुर्सी' सम्बन्धी विवादित समाचार हटाइएको केही दिनमै अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले अचानक राजीनामा दिएका थिए।
गाउँलेले यो घटनालाई 'केवल संयोग' भनेका छन्, तर मिडिया क्षेत्रमा यसले व्यापक चर्चा पाएको छ।
निवर्तमान प्रधान सम्पादक गाउँलेले नेपालको नम्बर एक अनलाइनको एउटा महत्वपूर्ण चरणमा नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्ताको सक्षम सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद् भएको बताएको अनलाइनखबरले लेखेको छ ।