अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद ऐनविपरीत बोलपत्रको सूचना प्रकाशन गरेको आरोपमा जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृज कुमार यादवसहित तीनजना विरूद्ध मुद्दा दायर भएको छ ।
आयोगले जनकपुर टुडे पत्रिकामा बोलपत्रको सूचना प्रकाशन नै नगरी वृज कुमार यादवले ६ लाख ४४ हजार एक सय रुपैयाँको फर्जी बिल तयार पारेको आरोप लगाएको छ ।
त्यही फर्जी बिलको आधारमा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीले भुक्तानी गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर
जनकपुर टुडे राष्ट्रिय दैनिकमा बटेश्वर गाउँपालिकामा स्वास्थ्य चौकी र डिप बोरिङ निर्माण कार्यको बोलपत्रको सूचना सार्वजनिक रूपमा प्रकाशन नगरी गाउँपालिकाको ठेक्काको कार्यालय अभिलेखका लागि एक प्रति पत्रिकामा मात्र सूचना प्रकाशित गरी गाउँपालिकाबाट ६ लाख ४४ हजार एक सय रूपैयाँ भुक्तानी निकालिएको आरोप अख्तियारले लगाएको छ ।
अख्तियारले दायर गरेको आरोपपत्रमा बिगो बराबरको रकम असुल उपर गरी कैद तथा जरिवानाको माग गरिएको छ । अख्तियारले आरोपपत्र दायर गरेको विषयमा यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।