पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति अकस्मात् निधन भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-९ स्थायी घर भएका ३३ वर्षीय पुडासैनी काठमाडौंको सरस्वतीनगरमा बस्दै आएका थिए ।
पुडासैनी नेपाल भ्युज अनलाइनका उपसम्पादक तथा प्रेस चौतारी नेपालका एसोसिएट प्रदेशका उपाध्यक्ष थिए ।
पुडासैनी शुक्रबार कार्यालयको नियमित काम सकेर एक सहकर्मीकोमा खाना खाएर राति करिब १० बजे आफ्नो कोठामा फर्किएका थिए । कोठा पुग्नासाथ अचानक बेहोस भएर ढलेका उनलाई घरपति र छिमेकीहरूको सहयोगमा तत्काल चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे ।
पुडासैनीका निकटका साथी तथा सहकर्मीहरूका अनुसार उनी केही दिनदेखि बिरामी थिए र नियमित रूपमा अस्पतालमा जाँच गराउँदै कार्यालय जाने गरेका थिए ।
चिकित्सकहरूले उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि मृत्युको यकिन कारण खुल्न बाँकी छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
विगत १४ वर्षदेखि पत्रकारितामा सक्रिय पुडासैनीले नेपालका विभिन्न प्रतिष्ठित सञ्चार माध्यमहरूमा काम गरेका थिए । उनले माउन्टेन टेलिभिजन, हिमालयन टाइम्स दैनिक, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण लगायतका मिडियामा काम गरिसकेका थिए। पछिल्लो समय उनी नेपाल भ्युजमा उपसम्पादकको जिम्मेवारीमा कार्यरत थिए ।
पुडासैनी अविवाहित थिए र डेरामा एक्लै बस्दै आएका थिए। उनको अकस्मात् निधनले नेपाली मिडिया क्षेत्रमा गहिरो शोक छाएको छ ।
नेपालभ्युजका प्रधान सम्पादक मधुसुधन पन्थीले समाचारबाहेक अरु थोक नसोच्ने पत्रकारको अल्पायुमा भएको निधनले आफूहरू शोकाकुल भएको बताए ।
"अत्यन्त जोधाह पत्रकार हुनुहुन्थ्यो", त्रिवि शिक्षण अस्पतालबाट पन्थीले भने, "समाचारका विषय खोज्ने, रिपोर्टिङ गर्ने, सम्पादन गर्ने सबैजसो प्रक्रियामा उहाँ स्वयम् प्रेरित हुनुहुन्थ्यो ।"