ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ मंसिर २१ र २२ गते काठमाडौंमा हुँदै छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा हुन लागेको नवौं शिखर सम्मेलनको आयोजना ग्लोबल भ्वाइसेजले गर्न लागेको हो ।
पत्रकार, अनुवादक, अभियन्ता, प्राविधिक, नीति निर्माता सहित विश्वभरका विभिन्न व्यक्तिहरूलाई एकै ठाउँमा भेला गरी विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान र अभियानको बारेमा छलफल गर्नु सम्मेलनको उद्देश्य रहेको छ ।
दुई दिने अन्तरक्रियात्मक छलफल र कार्यशालाहरूमा अभिव्यक्ति स्वतन्त्रता, भाषिक विविधतासँग सम्बन्धित सकारात्मक तथा नकारात्मक दुवै रूपमा प्रभाव पार्ने कारकहरूको खोजी गरिने आयोजकहरूले जनाइएका छन् ।
"नेपाल गतिशील र विविधिकृत मिडियाको घर हो जसले जटिल लोकतन्त्रिक संक्रमण पार गर्दै आफूलाई विकास गर्न सफल भएको छ", सम्मेलनका लागि नेपाललाई रोज्नुको कारणबारे वेबसाइटमा भनिएको छ, "नेपालका अनलाइन समुदायहरूले अनुभव गरेका अवसर र चुनौतीहरूबाट बाँकी विश्वले धेरै कुरा सिक्न सक्छ ।"
डिसेम्बर ६ अर्थात् मंसिर २१ गते हुने पहिलो दिनको कार्यक्रममा नेपालको डिजिटल संवाद, ब्लगिङको अवस्था, मिडियाको सम्भावना र सार्वजनिक संवादमा मिडियाको भूमिका जस्ता विषयमा छलफल हुनेछ । यसैगरी अधिनायकवाद र डिजिटल सुरक्षा, डाटा विश्लेषण, इन्टरनेट कनेक्टिभिटी र हिमाली क्षेत्रको वातावरणीय पत्रकारिताबारे पनि विभिन्न सत्रहरू हुनेछन् ।
दोस्रो दिन डिसेम्बर ७ मा इन्टरनेटको भविष्य, स्वतन्त्रता विरोधी वातावरणमा अनुसन्धानमूलक पत्रकारिता, इन्टरनेट र बहुभाषा, डाटा सुरक्षा र गोपनीयता, चीनको प्रभाव र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी छलफलहरू हुनेछन्।
सम्मेलनमा नेपाल लगायत विश्वभरका पत्रकार, कार्यकर्ता, प्राविधिक विज्ञ र अनुवादकहरूको सहभागिता रहनेछ । नेपालबाट विशेषगरी कुन्द दीक्षित, उज्ज्वल आचार्य, दिनेश वाग्ले, रमेश भुषाल, सोनाम लामा लगायतका पत्रकारहरू विभिन्न सत्रहरूमा वक्ताका रूपमा रहनेछन् । बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म चल्ने कार्यक्रमको पूरा तालिका वेबसाइटमा छ ।
ओपन टेक्नोलोजी फण्ड, विकिमेडिया फाउण्डेशन, ओपन सोसाइटी फाउण्डेशन, डब्ल्यू के केलग फाउण्डेसन, म्याकअर्थर फाउण्डेसन, नेपाली टाइम्स, अकाउन्टाबिलिटी ल्याब, नेपाल पर्यटन बोर्ड, सिएमआर नेपाल जर्नालिज्म एकेडेमी लगायतका संस्था ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ का दाता तथा सहयोगीका रूपमा रहेका छन् ।
सन् २००४ मा स्थापित ग्लोबल भ्वाइसेज लेखक, अनुवादक र मानव अधिकारकर्मीहरूको अन्तर्राष्ट्रिय तथा बहुभाषिक समुदाय भएको यसको वेबसाइटमा उल्लेख छ ।
सम्मेलनका सत्रहरू वेबकास्ट, ब्लग पोस्ट र लाइभ ट्विटिङमार्फत अनलाइनमा पनि उपलब्ध हुने जनाइएको छ ।