लैङ्गिक संवेदनशीलतामा अग्रणी भूमिका निर्वाह गरेवापत लाड्ली मिडिया अवार्डको चौथो संस्करणमा नेपालका दुई पत्रकार सम्मानित भएका छन् । अक्टोबर ९ मा मुम्बईस्थित एनसीपीएको टाटा थिएटरमा आयोजित समारोहमा उनीहरूलाई पुरस्कार तथा सम्मान गरिएको छ ।
लैंगिक संवेदनशीलताका विषयमा कलम चलाउने नेपालका विनिता दाहाल र कल्पना भट्टराई सहित १४ जना पत्रकार महिलालाई ‘साउथ एसिया लाडली मिडिया एण्ड एडभरटाइजिङ अवार्ड फर जेन्डर सेन्सिटिभिटी–२०२४’ (SALMAAGS) प्रदान गरिएको हो ।
दक्षिण एसियाका सात देशबाट पत्रकारहरू अवार्डका लागि छानिएका थिए । पत्रकार दाहाल बीबीसी नेपालीमा कार्यरत छन् भने भट्टराई नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटर्वक (NIMJN) मा फेलोको रुपमा कार्यरत छन् ।
लैंगिक संवेदनशीलताका सवाललाई उजागर गर्न, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहलाई झक्झक्याउन तथा जनचेतनाका लागि योगदान दिनेका लागि सो पुरस्कार प्रदान गरिँदै आएको छ ।
न्यायपूर्ण समाज स्थापनाका लागि लैङ्गिक संवेदनशील दृष्टिकोण निर्माण गर्न सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाका लागि साल्माग्स (SALMAAGS) अवार्ड प्रदान गरिन्छ । दक्षिण एसियाका भारत, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, नेपाल, भुटान र माल्दिभ्सका पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ ।
साल्माग्स अवार्ड भारतको मुम्बईस्थित संस्था ’पपुलेसन फर्स्ट’ ले सहयोग गरेको छ । साउथ एसियन वुमन इन मिडिया (एसएडब्लुएम) र एसियन फेडेरेसन फर एडभरटाइजिङ एशोसिएसन (एएफएए) ले पनि यस वर्ष अवार्ड आयोजना लागि सहयोग गरेका छन् ।