गत असार १ देखि पशुपतिनाथ परिसरमा 'कोटिहोम' का नाममा सञ्चालित कार्यक्रमको समापन दिन पशुपतिमा केही अप्रिय घटनाहरू भएका छन् । साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबीच झडप भएको छ ।
काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेका अनुसार कार्यक्रम आयोजक विजय भण्डारीसँग केही प्रश्नहरू सोध्नका लागि सादा पोशाकका प्रहरीहरू घटनास्थलमा पुगेका थिए । तर, त्यहाँ उपस्थित केही व्यक्तिहरूले प्रहरीमाथि हातपात गरेको उनले बताए । यस घटनामा संलग्न दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको जानकारी उनले दिएका छन् ।
घटनापछि विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन् । उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोप लगाएका छन् ।
प्रहरीमाथि हातपात
असार १ देखि जारी कोटिहोम समापन अगाडि आयोजक समूहले प्रहरीमाथि हातपात गरेको हो । कोटिहोम स्थलमा सोधपुछका लागि पशुपतिमा पुगेका सादा पोशाकका प्रहरीमाथि आयोजक समूहले हातपात गरेको हो ।
सादा पोशाकका केही प्रहरीहरू कोटिहोम स्थलमा पुगेपछि आफूलाई कथावाचक विजय कृष्णमूर्ति जी महाराज बताउने विजय भण्डारीका समर्थकहरूले प्रहरीमाथि हातपात गरेका हुन् ।
काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन् । प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
╰┈➤ पशुपतिनाथ कोटिहोमः धर्मका नाममा धन कमाउने धन्दा
╰┈➤ विज्ञापन छाप्ने तर समाचार नछाप्ने ! पशुपतिनाथको कोटिहोमबारे लुकाइएको कथा
╰┈➤ नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!
विवादित विजय भण्डारी
अनेकौँ व्यक्तिहरूलाई अमेरिका पठाउँछू भन्दै करोडौँ रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर भएका भण्डारीले हिन्दुहरूको प्रमुख धार्मिक केन्द्रमा एक महिनादेखि कोटिहोम गरिरहेका थिए ।
आफ्ना समर्थकहरु खटाएर प्रहरीहरूमाथि हातपात गरेका भण्डारीले सामाजिक सञ्जाल फेसबुक लाइभ गरी सरकारविरुद्ध आन्दोलन गर्ने दाबी गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनले देशभरका भक्तहरूलाई आन्दोलनमा आउन आह्वान गरेका छन् ।
सोधपुछका लागि आएका प्रहरीबाट सशंकित भण्डारी 'विजय कृष्णमूर्ति जी महाराज' नामक एकाण्टबाट अराजक शैलीमा फेसबुक लाइभमा 'नेपालमा पनि बंगलादेशको आन्दोलन सल्किएको' भड्काउ अभिव्यक्ति दिइरहेका छन् ।
प्रहरी पक्राउ पूर्जीबिना नै आफूलाई पक्राउ गरेर जबरजस्ती भ्यानमा कोच्न खोजेको भन्दै रुष्ट भएका भण्डारीले सामाजिक सञ्जालमा द्वन्द्व भड्काउने खालका अभिव्यक्तिहरू दिइरहेका छन् ।
धर्म रक्षाका लागि 'धर्म युद्ध' भन्दै विजय भण्डारीका समर्थकहरूले आन्दोलनको घोषणा पनि गरेका छन् ।