पोखरामा आन्दोलनरत यातायात व्यवसायीले पत्रकारमाथि कुटपिट तथा अभद्र व्यवहार गरेका छन् ।
रातो नम्बर प्लेटलाई पनि यात्रु ओसार्न दिने गरी सरकारले कार्यविधि निर्माणको तयारी गरेको विरोधमा आन्दोलनरत यातायात व्यवसायी तथा मजदुरहरूले आइतबार समाचार संकलनका लागि पुगेका पत्रकार बिनु थापा, सुरज थापा लगायतमाथि पोखराको पृथ्वीचोकमा हातपात गरेका हुन् ।
पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ‘बिनु’ र सञ्चारकर्मी सुरज थापालाई आइतबार आन्दोलनरत समूहले कुटपिटसँगै दुर्व्यवहार गरेको हो ।
पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सहितका पत्रकारका संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी शाखाले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।
"पत्रकारहरू बिनु र सुरज थापा मगर पत्रकार संघको कार्यालयमा नियमित बैठक सकेर पोखराको लखन थापा चोक (पृथ्वीचोक) आई भिडियो एवं तस्बिर खिचिरहेका बेला आन्दोलनकारीको तर्फबाट आक्रमण भएको हो," विज्ञप्तिमा लेखिएको छ,"यस घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग पत्रकार महासंघ गण्डकी प्रदेश समिति जोडदार माग गर्दछ।"
त्यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि विज्ञप्ति निकाली घटनाङ्को विरोध गरेको छ । यस्तै प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति,नेपाल मगर पत्रकार संघ कास्की, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश शाखाले समेत पत्रकारमाथि भएको घटना विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
गण्डकीका यातायातमन्त्री मनाङेले भने- अमृत सुवेदीलाई कुट्नुपर्थ्यो
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पत्रकारको नामै लिएर आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
आइतबार पोखरामा रिपोर्टिङमा रहेका पत्रकारमाथि दुर्व्यवहार भएपछि मनाङेले अमृत सुवेदीलाई कुट्नुपर्नेमा अर्का पत्रकार कुटिएको अभिव्यक्ति दिएका हुन् ।
केही दिन अघि सुवेदीले मन्त्रालयको कार्यकक्षमा गञ्जी लगाएर बसेको देखिने मन्त्री मनाङेको फोटोसहितको समाचार अनलाइनखबरमा लेखेका थिए । त्यसपछि उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
त्यसैबाट चिढिएका मन्त्री मनाङेले पोखरामा पत्रकार कुटिएकोबारे प्रतिक्रिया दिँदा उनीहरूको साटो अमृत सुवेदी कुटिनेपर्ने अभिव्यक्ति दिएका हुन् ।
“त्यो अस्ति मेरो गञ्जी लगाएर फोटो हालेर के गर्या त्यो ?”, एउटा भिडियोमा उनले भनेका छन्, “के नाम हो त्यस्को ? अमृत सुवेदी । त्यस्तोलाई पिट्दैनन् फेरि । त्यो विचारा सोझोसाझो पत्रकारलाई पिटेछन् । त्यो अमृत सुवेदी भन्ने उनिहरूको मान्छे हो फेरि… ।”
मन्त्रीले उनीहरूको मान्छे भनेर ‘व्यवसायीहरूको मान्छे’ भनेर आरोपित गर्न खोजेका हुन् ।
किन आन्दोलित छन् यातायात व्यवसायी ?
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपमार्फत सञ्चालन हुने दुई पांग्रे तथा चारपांग्रे सवारी साधनलाई पनि यात्रु बोक्न दिने गरी कार्यविधि ल्याउन खोजेको छ । हाल अनौपचारिक रुपमा सञ्चालनमा रहेका राइड सेयरिङ सेवालाई सरकारले कार्यविधि बनाएर नियमन गर्ने तयारी गरेपछि त्यसको विरोधमा व्यवसायी तथा मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा उनीहरू सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनरत छन् । उनीहरू आन्दोलनरत मात्रै छैनन्, उनीहरूले सर्वसाधरणमाथि दुर्व्यवहार गर्ने, लखेटी लखेटी कुट्ने जस्ता अराजक गतिविधिमै उत्रिएका छन् । सोही समुहले पत्रकार विनु र सुरजमाथि पनि कुटपिट गरेको हो ।
कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ शान्तिवनमा ट्याक्सी ४१ वर्षीय चालक सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा–१६ का १६ वर्षीय प्रशान गुरुङ, पोखरा जिरो किलोमिटर बस्ने २८ वर्षीय सन्तोष बस्नेत पक्राउ परेका हुन् ।