के तपाईं आफ्नो वाक् कौशलमा निखार ल्याउन चाहनुहुन्छ ? राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन उत्सुक हुनुहुन्छ ? यदि हो भने, यो खबर तपाईंको लागि हो !
युवाहरूको बक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरूलाई प्रोत्साहित गर्ने लगायतका उद्धेश्य राखेर बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रव्यापी प्रतियोगिता गर्न लागेको छ ।
यस अघि 'पब्लिक स्पिच बाँके' र 'पब्लिक स्पिच कञ्चनपुर'का दुई ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता 'पब्लिक स्पिच नेपाल २०८१' का लागि सहभागिता आव्हान गरेको छ ।
प्रतियोगिता तीन चरणमा गरिने बागेश्वरी असल शासन नेपाल (बास नेपाल) का कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।
पहिलो चरण अडिसन राउन्डका लागि सहभागिता जनाउन चाहने प्रतियोगिहरूले तोकिएको ढाँचामा आफ्नो सहभागिता दर्ता गर्नुपर्नेछ भने अडिसन राउन्डका लागि आफूले बोल्न चाहेको समसामयिक विषयमा भिडियो सामग्री तयार गरी पठाउनु पर्नेछ । यसरी पठाएको सामग्रीको आधारणमा निर्णायकले सेमिफाइनल राउन्डका लागि प्रतियोगि छनोट गरी संस्थाको वेबसाइट र सोसल मिडिया पेजमा सार्वजनिक गरिने शाहले जानकारी दिए ।
अडिसन राउन्डबाट छनोट भएका प्रतियोगीहरूले राजधानि काठमाडौंमा सेमिफाइनल राउन्डका लागि सहभागिता जनाउनेछन् भने सेमिफाइनलबाट फाइनल लागि छनोट भएका प्रतियोगीहरूको नतिजा घोषणा पश्चात १० दिनका लागि भोटिङ खुल्ला गरिनेछ ।
सेमिफाइनल र फाइनल राउन्डमा प्रतियोगीले आयोजकले दिएको विषयमा आफ्नो मन्तव्य दिनुपर्नेछ भने फाइनलको मूल्यांकन भोटिङ र निर्णायकले दिएको नम्बरको आधारमा विजेता घोषणा गरिनेछ । पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम पुरस्कार नगद ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ तोकिएको छ ।
राष्ट्रव्यापी प्रतियोगिताका लागि आयोजक संस्था बास नेपालले आवेदन आव्हान सँगै प्रतियोगितामा सहकार्य गर्ने संस्थाहरूलाई समेत जोडिन खुल्ला आव्हान गरेको कार्यकारी निर्देशक शाहले जानकारी दिए ।
सहभागी हुन चाहने इच्छुक व्यक्तिले २०८१ साउ ३० गते भित्र नाम दर्ता गर्नुपर्ने छ । नाम दर्ता गराएका सहभागीहरूले २०८१ साउ ३२ गते भित्र आफूले रोजेको समसामयिक सार्वजनिक सरोकारको विषयमा आफ्नो भाषणको भिडियो उपलब्ध गराउनु पर्ने आयोजक संस्थाले जनाएको छ । भिडियो सामग्री ३ देखि ५ मिनेट सम्मको हुनुपर्ने छ ।
आयोजकका अनुसार अडिसन राउन्डको नतिजा भदौ ५ गते बेलुका ५ बजे प्रकाशन गरिनेछ । सेमिफाइनल र फाइनल राउन्डको मिति, समय र स्थान केही दिनमा सार्वजनिक गरिने बास नेपालका कार्यकारी निर्देशक एवं कार्यक्रम संयोजक शाहले जानकारी दिए ।
