राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेको छ । रास्वपाका प्रवक्ता समेत रहेका महामन्त्री मुलुक ढकालले विज्ञप्ति निकालेर नागरिकता कसूरमा सिरोहिया पक्राउ परेको घटनालाई प्रेस स्वतन्त्रता हननका रुपमा अपव्याख्या गरिएको दाबी गरेका हुन् ।
“नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्”, विज्ञप्तिमा भनिएको छ, “अदालतकको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।”
प्रहरीले धनुषा जिल्ला अदालतको अनुमति लिएर नागरिकताको कसूरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गरेको छ । उनलाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरी धनुषा लगिएको छ ।
नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम भएको भन्दै विज्ञप्तिमा पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रशंसा गरिएको छ । कानुनभन्दा माथि कोही नहुने भन्दै विज्ञप्तिमा एक समयमा गरेको योगदानलाई देखाएर कानुनबाट उम्कने अनैतिक अपेक्षा गर्न नमिल्ने विज्ञप्तिमा भनिएको छ ।
“विधिको शासनको अर्को सौन्दर्य हो- कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो”, विज्ञप्तिमा भनिएको छ, "कोही-कोहीलाई छुनै हुन्न" भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।”
“विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ”, विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् ।”
