बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ । फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार (पहिलो) कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाललाई संयुक्त रूपमा प्रदान गरेको छ । काठमाडौंमा जेठ ३ गते आयोजित समारोहमा बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार (दोस्रो) उकालो अनलाइनकी पत्रकार दीपा दाहाल र खोजमूलक पत्रकारिता पुरस्कार (तेस्रो) हिमाल खबरका पत्रकार रमेशकुमार न्यौपानेलाई प्रदान गरेको छ ।
कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ती पुरस्कार प्रदान गरेका थिए ।
हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैयाँ रहेको छ । पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहालले संयुक्त रूपमा १६ लाख रूपैयाँ पाएका छन् । त्यस्तै पत्रकार दीपा दाहालले ६ लाख रूपैयाँ र रमेशकुमार न्यौपानेले ३ लाख रूपैयाँ पाएका छन् ।
बारबरा फाउन्डेसनले २०८० असार २८ गते विज्ञप्ति निकालेर खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन माग गरेको थियो ।
कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाललाई “नक्कली भुटानी शरणार्थी प्रकरणबारे गरेको खोजमूलक समाचार” र त्यसको फलोअप रिर्पोटिङका लागि प्रथम पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।
उकालोमा प्रकाशित “बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रूपले यसरी गर्यो कब्जा” समाचारको लागि पत्रकार दीपा दाहालले दोस्रो पुरस्कार प्राप्त गरिन्।
हिमालखबरमा प्रकाशित “धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार” समाचारका लागि पत्रकार रमेशकुमार न्यौपानेले तेस्रो पुरस्कार प्राप्त गरेका हुन् ।
२०६७ सालदेखि नेपालको सामाजिक–सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील बारबरा फाउन्डेसन पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा स्थापित संस्था हो ।
सन् १९६० मा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणका क्रममा रिपोर्टिङका लागि नेपाल आएकी उनी त्यसपछि नेपालमै बसिन् । उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनको २०७३ सालमा निधन भएको थियो ।