कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । तर सिरोहियाले भने उक्त आरोप अस्वीकार गरेका छन् । उनले कान्तिपुरकाको समाचार कभरेजबाट आत्तिएको 'कोही कसैले' स्टन्टबाजी गरेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कान्तिपुरका अध्यक्ष सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जन अवाले आइतबार नागरिकता कसूरको उजुरी दर्ता भएको जानकारी दिए ।
यससम्बन्धी समाचार उकेरा डट कमले ब्रेक गरेको थियो । नेपालप्रेस डटकमले सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गरेको लेखेको छ ।
जाहेरी दर्ता भएको समाचर ब्रेकिङ गरेको उकेराले सिरोहियाको नाममा जारी नागरिकता नम्बर र शिवजीको नागरिकता नम्बर एकै भएको तर हिमालयन रि-इन्स्योरेन्सको शेयर लागतमा उल्लेख नम्बर र धनुषाको नम्बर फरक रहेको भन्दै अर्को समाचार प्रकाशित गरेको छ ।
उकेराले प्रकाशित गरेको समाचारमा कैलाश सिरोहियाको नागरिकता र जनकपुर उप-महानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै भएको दाबी गरिरएको छ ।
कान्तिपुरका अध्यक्षको विज्ञप्ति
आफूविरुद्धको उजुरी र मिडियामा आएका समाचारलाई कान्तिपुरका अध्यक्ष सिरोहियाले अस्वीकार गरेका छन् । "...मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ । जसमा '२०३३/३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ," सोमबार सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,"नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।"
२०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा निकालिएको नागरिकतामा त्यही नम्बर लेखिएको छ भने आफ्नो जिम्मेवारीको विषय नभएको उनले उल्लेख गरेका छन् ।
मेरो भनाइ… pic.twitter.com/2nJdytZ0kV
— Kailash Sirohiya (@KailashSirohiya) April 29, 2024
उकेराको समाचारमा हिमालयन रि इन्स्योरेन्सको सेयर लागत पुस्तिकामा उल्लेख गरिएको सिरोहियाको नागरिकता नम्बर फरक भएको उल्लेख छ । तर सिरोहियाले टाइप गर्दा नम्बर गलत परेको प्रष्टीकरण दिएका छन् ।
"...त्यस्तै हिमालयन रि– इन्स्योरेन्सको प्रबन्धपत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी राजस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ," उनले विज्ञप्तिमा भनेका छन् ।
सिरोहियाले कान्तिपुरमा प्रकाशित समाचारहरूबाट अत्तालिएको समूहले स्टन्टबाजी गरेको दाबी गरेका छन् । “राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु,” उनले भनेका छन्, “तर, कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले 'स्टन्टबाजी' गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुनेछ ।”
केही दिनअघि सिधाकुरा डट कमले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा र सर्वोच्चका बहालवाला न्यायाधीशसमेत लाई समेत मुछेर सनसनीखेज समाचार सामग्री प्रकाशित गरेको थियो । उक्त अनलाइनका प्रकाशक तथा सम्पादकविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनामा पहिलो सुनुवाई भएको छ ।
यही सन्दर्भमा सिरोहियाविरुद्ध उजुरी दर्ता हुनु संयोगमात्रै हो वा प्रतिशोधको प्रयत्न पनि हो ? त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कुन्दन अर्याल पछिल्ला घटनाहरूलाई निरन्तरतामा हेर्नुपर्ने बताउँछन् ।
"उजरी परेपछि छानबिन हुनुपर्छ । तर छानबिन गृहले गर्ने हो । केही समय भए पनि दुःख दिउँ भन्ने नियत हुन सक्छ", अर्याल भन्छन्, "यो उहाँविरुद्धको पूर्वाग्रह हो भन्ने लाग्छ ।"