कान्तिपुर दैनिकमा १० वर्षदेखि कार्यरत पत्रकार लिला श्रेष्ठ गत भदौदेखि काममा जान सकेकी छैनन् । श्रमजीवी पत्रकार ऐन, २०५१ मा पत्रकार महिलाले सुत्केरी बिदा पाउने प्रावधान अनुसार सुत्केरी स्याहार बिदाका लागि थप समय अपिल गरेकी उनले बिदा पाइनन् । बरु व्यवस्थापनले उनलाई राजीनामाका लागि दबाब दिन थाल्यो ।
व्यवस्थापनबाट आफूमाथि ऐनविपरीत हर्कत भएपछि लिलाले गत माघ २९ गते प्रेस रजिस्ट्रार कार्यालयमा सेवासुविधा माग गर्दै निवेदन दिइन् । त्यसपछि व्यवस्थानले बेतलबी बिदामा बस्न बाध्य पार्दै निवेदन लेख्न लगायो । त्यसयता लिला हाल बेतलबी बिदामा छिन् । व्यवस्थापनले आफूमाथि गरेको अपमानले उनलाई पुनः कान्तिपुर नफर्किने मनस्थितिमा पुर्याएको छ ।
११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर सोमबार प्रेस चौतारी नेपालले गरेको 'समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व' विषयक अन्तर्क्रियामा समाचार कक्षमा पत्रकार महिलाले भोग्नुपरेका नमिठा अनुभूतिहरू छचल्किएका थिए । भलै लिला आफैँ उक्त कार्यक्रममा थिइनन्, तर उनले व्यवस्थापनबाट भोगेको पीडा कार्यक्रमभर चर्चाको विषय बन्यो ।
प्रेस चौतारीकी उपाध्यक्ष देविका घर्तीमगरले कान्तिपुरले पत्रकारमाथि देखाएको व्यवहार पत्रकार महिलाहरू कसरी हतोत्साही भइरहेका छन् भन्ने विषयको एउटा उदाहरण भएको बताइन् ।

"पत्रकारितामा २०/२२ वर्षदेखि महिला सहभागिताको कुरा गरिरहेका छौँ तर अब समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व किन हुने सकेन ? यसका अवरोधकहरू के हुन् ?”, उनले प्रश्न गरिन्, "मिडिया उद्योगमा देखिएको सङ्कटको पहिलो मारमा हामी परेका छौँ । कोभिडपछिका समस्या स्वभाविक पनि होलान् तर कतिपयमा कृतिम समस्या देखाएर पत्रकार महिलालाई नै पीडित बनाइएको छ ।"
पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहालले सदस्यता शुद्धीकरणका क्रममा पनि महिलाहरू पीडित भएको दाबी गरिन् । "म महासंघको उपाध्यक्ष हो तर मेरो आफ्नै सदस्यता खारेजीमा पारिएको छ”, उनले भनिन् । प्रेस युनियन नेपालका उपाध्यक्ष नकुल अर्यालले पनि शुद्धीकरणका क्रममा क्रियाशील पत्रकार महिलाहरूको सदस्यता खोसिएको बताए ।
तर नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले सदस्य शुद्धीकरणको अन्तिम सूचि छिनोफानो नभइसकेको बताइन् । "सदस्यता शुद्धीकरणका सवालमा प्रश्नहरू उब्जिएका छन् तर अन्तिम सूचि अझै आइसकेको छैन," उपाध्यक्ष अधिकारीले भनिन्, "सदस्यता शुद्धीकरण समितिले केन्द्रीय कमिटिलाई सूचि बुझाउन बाँकी छ । क्रियाशील महिला पत्रकारहरू छुट्नुभएको रहेछ भने हामी त्यसको प्रतिकार गर्छौँ ।”
पत्रकार महिलाहरूले बेहोर्नुपरेका समस्या समाधान गर्न नीतिगत कदम चाल्नुपर्ने समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अस्मिता गिरीले बताइन् । "नेतृत्वका लागि महिलालाई अगाडि बढाउनु पर्छ । फरक संगठनहरूमा भएपनि महिला नेतृत्वका लागि एकीकृत हुनुपर्छ ।"

सञ्चारिका समूहका अध्यक्ष विमल तुम्खेवाले पत्रकार महिलाबीच एकता भएमा विभेदविरुद्ध लड्न सकिने बताइन् ।
नेपाल पत्रकार महासंघकी सल्लाहकार समेत रहेकी निर्मला शर्माले महिलाले समाचार कक्षमा भोग्नुपरेको समस्या समाधानका लागि सम्बन्धित सञ्चार प्रतिष्ठानमा ज्ञापन पत्र बुझाउनेसहितका काम गर्नुपर्ने बताइन् । "लिलाको समस्या हामीले सुन्यौँ । सुनेपछि चुप बस्ने होइन”, उनले भनिन्, “सम्बन्धित सञ्चार प्रतिष्ठानमा ज्ञापन पत्र बुझाएर यसको समाधानको पाटो खोज्नुपर्छ । उपत्यकाबाट नै यो कामको थालनी गरौँ ।"
