शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरी आक्रमणमा दुई युवाको ज्यान गएको विषय काठमाडौंबाट छापिने सबैजसो पत्रपत्रिकाको प्रथम पृष्ठमा हेडलाइन बनेका छन् । तर सरकारी पत्रिका 'गोरखापत्र'ले भने त्यसलाई दोस्रो पृष्ठमा सीमित बनाएको छ ।
बरु उसले पहिलो पृष्ठमा दोलखामा प्रधानमन्त्रीको भाषण, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भाषण, चितवन हात्ती तथा पर्यटन महोत्सवको हात्तीको फोटो, सत्तारुढ माओवादी केन्द्रको अभियान समापन भएको खबर, क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर भएको खबर र बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग सम्बन्धी समाचार र इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन सम्बन्धी समाचार छापेको छ । बरु राइजिङ नेपालले भने उक्त समाचारलाई प्रथम पृष्ठमा स्थान दिएको छ ।
गोरखापत्रले बालकुमारी घटनाको खार खबरलाई पहिलो पृष्ठमा स्थान नदिई कांग्रेसले कारबाही गर्न माग गरेको विषयलाई मात्र स्थान दिएको छ भने खास समाचारलाई चाहिँ दोस्रो पृष्ठमा सीमित बनाएको छ । जसका कारण गोरखापत्रको आलोचना समेत भएको छ ।
यस्तो समाचार आयो भने त सरकारलाई ‘लाज’ हुन्छ भनेर सरकारको लाज जोगाइदिन अग्रसर भएछ सरकारी मुखपत्र गोरखापत्र दैनिक', माइसन्सारले लेखेको छ, 'गोरखापत्रमा त्यत्रो ठूलो घटनाको फोटो छापिएको छैन बरु सौराहाको हात्तीको फोटो छ । योसँग सम्बन्धित जस्तो देखिने एक टुक्रो समाचार भने दायाँ कुनामा छ दोषीलाई कारबाही गर्न कांग्रेसको माग शीर्षकमा। घटनाको समाचार भन्दा पनि सत्ता घटक एक दलको मागलाई समाचार बनाइएको छ । समाचार कांग्रेस पार्टीको मुख्य सचिवको विज्ञप्तिमा आधारित हो ।'
बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको गाडी पनि जलाइएको छ । र, प्रहरीको गोली प्रहार तथा कुटपिटमा दुई युवाको ज्यान गएको छ । यो समाचार कभरेजमा गोरखापत्र कहाँ चुक्यो ? कसरी यस्तो हुन गयो ?
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले फेसबुकमा यसको जवाफ सङ्केत गरेका छन् । उनले ‘सरकारी भूत’ र ‘अति स्वनियन्त्रणको रोग’ले गोरखापत्रलाई गाँजेको बताएका छन् ।
इपीएस परीक्षाको विवादमा झडप भई युवाको ज्यान गएको समाचारलाई दोस्रो पृष्ठमा राखी अरु सत्तारुढ दलसँग सम्बन्धित विषयलाई प्रथम पृष्ठमा स्थान दिएको भन्दै आलोचना भएका बेला उनले 'सरकारी भूत र अति स्वनियन्त्रणको रोगले कमजोरी भएको स्वीकारेका हुन् ।
आगामी दिनमा यस्ता गम्भीर प्रकृतिका भूल र कमजोरी नदोर्याउन सम्पादकीय नेतृत्वलाई सचेत गराइएको पनि उनले बताएका छन् । 'राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै, नागरिक जवाफदेहितालाई ख्याल गर्दै व्यवसायिक चरित्र कायम राख्ने सक्दो प्रयास हामीले गरेका छौं', कार्यकारी अध्यक्ष सुवेदीले फेसबुकमा लेखेका छन्, 'शनिबार प्रकाशित गोरखापत्र दैनिकको विषयमा सम्मानित पाठक वर्गबाट आएका प्रतिक्रियालाई हामीले गम्भीरताका साथ मनन् गरेका छौँ । यसले सम्पादकीय मूल्य र व्यवसायिक जिम्मेवारीप्रति हामीलाई थप सचेत पनि गराएको छ ।'
ललितपुरको बालकुमारीमा शुक्रबार भएको सम्वेदनीशल घटनालाई जुन महत्त्व र प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्ने थियो, त्यसमा आफूहरूबाट भूल र कमजोरी भएको उनले स्वीकारेका छन् । 'सरकारी भूत र हामीभित्रैको ‘अति स्वनियन्त्रणको रोगले पनि बेलाबखत यस्तो अवस्था उत्पन्न हुने गरेको छ', उनले भनेका छन्, 'आगामी दिनमा यस्ता गम्भीर प्रकृतिका भूल र कमजोरी नदोर्याउन सम्पादकीय नेतृत्वलाई सचेत गराइएको छ ।'
पछिल्लो समय समाचार कभरेज, लेआउट तथा संस्थागत सुधारका प्रयत्नका कारण गोरखापत्र व्यवस्थापनको प्रसंसा पनि हुने गरेको छ ।