ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतमा सञ्चालन रहेको बीबीसी हिन्दी सेवालाई पुनर्गठन गर्ने भएको छ । पुनर्गठन पश्चात एक पूर्ण भारतीय स्वामित्वको कम्पनी ‘कलेक्टिभ न्युजरूम’ बनाएर बीबीसीका ६ वटा भारतीय भाषा सेवाहरू सञ्चालन हुनेछन् ।
विदेशी लगानीसँग सम्बन्धित संशोधित नियम अनुसार भारतमा सञ्चालन हुने डिजिटल समाचार कम्पनीहरूका लागि विदेशी कोषको अधिकतम सीमा २६ प्रतिशत तोकिएको छ।
यसको अर्थ के हो भने भारतमा डिजिटल समाचार सामग्री प्रकाशित गर्ने कुनै पनि कम्पनीमा विदेशी लगानीकर्ताको हिस्सेदारी अब २६ प्रतिशतभन्दा बढी हुन सक्दैन ।
सोही नियमको पालना गर्न बीबीसीले आफ्नो बीबीसी हिन्दी सेवालाई पुनर्गठन गरेर 'कलेक्टिभ न्युजरूम' बनाउन लागेको हो ।
बीबीसी इन्डियाका वर्तमान प्रमुख रुपा झा, मुकेश शर्मा, सञ्जय मजुमदार र सारा हसनले कलेक्टिभ न्युजरुमको नेतृत्व गर्नेछन् ।
कलेक्टिभ न्युजरूम बनाउनका लागि उनीहरूले बीबीसी कम्पनी छोड्दैछन् । कलेक्टिभ न्युजरूमले बीबीसीका ६ वटा भारतीय भाषा सेवाहरू बीबीसी गुजराती, बीबीसी हिन्दी, बीबीसी मराठी, बीबीसी पञ्जाबी, बीबीसी तमिल, बीबीसी तेलुगु सञ्चालन गर्नेछ ।
बीबीसीका यी ६ वटा भाषा सेवाहरू र बीबीसी इन्डिया अंग्रेजीमा युट्युब च्यानलमा काम गर्ने कर्मचारीहरूले अब नयाँ कम्पनीका लागि काम गर्नेछन् ।
भारतमा बीबीसीको अंग्रेजी भाषासँग सम्बन्धित काम बीबीसीसँग नै रहनेछ ।
बीबीसी हिन्दीमा लेखिएको समाचार अनुसार ‘यस वर्ष कर अधिकारीहरूले दिल्ली र मुम्बईमा रहेको बीबीसीको कार्यालयमा छानबिन गरेपछि यो निर्णय गरिएको हो ।'
“बीबीसीको भारतमा उपस्थितिको समृद्ध इतिहास रहेको र कलेक्टिभ न्युजरूमको गठनसँगै जारी रहने छ”, समाचारमा बीबीसी न्यूजका डेपुटी सीईओ जोनाथन मुनरोलाई उद्धृत गरिएको छ ।
त्यस्तै बीबीसी इन्डियाका वर्तमान प्रमुख रुपा झाले भनेकी छन्, “हामी भारतका दर्शकहरूलाई विश्वस्त दिलाउन चाहन्छौँ कि बीबीसी र कलेक्टिभ न्युजरूम बीचको सम्झौता अन्तर्गत, बीबीसीका भारतीय भाषा सेवाहरूले दर्शकहरूलाई जानकारी, शिक्षा र मनोरञ्जनका लागि गुणस्तरीय उत्पादन सम्प्रेषण जारी राख्नेछ।"
यो वर्षको सुरुमा बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा डकुमेन्ट्री देखाइएपछि कर अधिकारीहरूले फेब्रुअरी १४ मा बेलायतमा रहेको बीबीसी कार्यालयमा तीन दिने अनुसन्धान गरेका थिए।
त्यसबेला भारत सरकारले यो अनुसन्धानको डकुमेन्ट्रीसँग कुनै सम्बन्ध नरहेको बताएको थियो ।
बीबीसीका हाल भारतमा ३०० भन्दा बढी कर्मचारी छन् । बीबीसीले सन् १९४० मे ११ मा पहिलो पटक हिन्दी प्रसारण सुरु गरेको थियो । त्यस्तै बीबीसी डटकम अनलाइन सन् २००१ बाट सुरू गरेको थियो ।