श्रम अदालतले कान्तिपुरका ७ जना पत्रकार/कर्मचारीको अवकाश बदर गर्दै उनीहरूलाई पुनर्बहाली गर्न आदेश दिएको छ । श्रमजीवी पत्रकार/कर्मचारीहरूलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरिरहेका बेला कान्तिपुर पब्लिकेसन्स लिमिटेडले दिएको अवकाश श्रम अदालतले बदर गरेको हो ।
श्रम अदालतका न्यायाधीशद्वय प्रेम कुमार राई र निशा बानियाँको इजलासले ७ जना कान्तिपुरकर्मीको अवकाश बदर तथा पुनर्बहालीको फैसला गरेको हो । उनीहरूलाई कान्तिपुरले गैरकानुनी ढंगले निष्कासन गरेको थियो ।
पब्लिकेसन्सका राजेन्द्र कोइराला, हिमालय काफ्ले, विपुल श्रेष्ठ, ज्ञानराज गौतम, विष्णुबहादुर कार्की, धिरज अधिकारी, कृष्णहरि शर्माले गैरकानुनी ढंगले अवकाश दिइएको भन्दै गत साउन २५ गते कान्तिपुर पब्लिकेसन्सविरुद्ध मुद्दा दायर गरेका थिए ।
दुईजना पत्रकार माधव बस्नेत र रवि मानन्धरले कान्तिपुर पब्लिकेसन्स विरुद्ध दायर गरेको मुद्दा भने कानुन व्यवसायीका तर्फबाट स्थगित भएको छ । बस्नेत र मानन्धरले पारिश्रमिक तथा अन्य सेवा सुविधाको रकम उपलब्ध गराई पाऊँ भन्दै मुद्दा दायर गरेका थिए ।
कान्तिपुरले पछिल्लो ४ महिनायतामात्र ८२ जना पत्रकार र अन्य कयौँ कर्मचारी मजदुरलाई गैरकानुनी निष्कासन तथा सरुवा गरिरहेको छ । यी मध्ये कतिपय श्रमजीवी पत्रकार ऐनअनुसारका सेवासुविधा माग गर्दै प्रेस रजिस्ट्रारको कार्यालय तथा श्रम अदालत पुगिरहेका छन् ।