कान्तिपुर व्यवस्थापनले गैरकानुनी रुपमा पत्रकारहरूलाई निष्कासन तथा सरुवा गरेको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्त्वमा बुधबार भएको धर्नामा आक्रमण भएको छ । धर्ना जारी रहेका बेला एक अपरिचित व्यक्तिले पत्रकारमाथि ढुङ्गा प्रहार गरेका थिए ।
पत्रकार महासंघको एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यले 'भिजिलान्ते प्रयाेग गरेर आक्रमण प्रयास गरिएकाे' र आफूलाई ताकेको ढुङ्गा काठमान्डू पोस्टका पत्रकार टिकाराम प्रधानलाई लागेको लेखेका छन् । उनका अनुसार आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्यक्रम उद्घोषक भएका कारण आफूलाई टार्गेट गरिएको हुनसक्ने आचार्यले रातोपाटीलाई बताएका छन् । खुट्टामा चोट लागेका प्रधानलाई स्थानीय क्लिनिकमा उपचार गरिएको छ । कान्तिपुर पब्लिकेसन्सबाट प्रभावितपोस्टका पत्रकार प्रधान नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।
पत्रकारको धर्नामा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई पत्रकारहरूले 'यो मान्छे को हो?' भन्दै धकेलिरहेको र प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको भिडियोमा देखिन्छ ।
आन्दोलनमा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आक्रमणकारीको प्रहारबाट घाइते काठमान्डू पोस्टका पत्रकार प्रधान ।
"आन्दोलन अन्तर्गत आज दिउँसो धर्ना सुरु भए लगत्तै कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट आएका एक व्यक्तिले आन्दोलनकारीमाथि ढुंगा प्रहार गरी आक्रमण गरेका थिए", महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ, "शान्तिपूर्ण प्रदर्शनमा रहेका कान्तिपुर प्रभावित पत्रकारहरूमाथि भएको यो घटनाको जिम्मेवारी कान्तिपुर व्यवस्थापनको भएको महासंघको ठहर छ ।"

आक्रमणमा यी व्यक्ति सम्लग्न थिए ।
घटनामा संलग्न आक्रमणकारीलाई कानुनी कारबाहीमा ल्याउन महासंघले सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । यो पनि पढ्नुस्ः सम्पादकको खोजी, कान्तिपुरलाई १ रुपैयाँ सहयोग : पत्रकार महासंघको आन्दोलनका कार्यक्रममा के छ ?