नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्सबाट अन्यायपूर्वक निष्कासन तथा सरुवा गरिएका पत्रकार कर्मचारीको न्यायका पक्षमा कान्तिपुर मुख्यालयमा धर्ना थालेको छ ।
व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवा बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका मागहरू पूरा गर्न महासंघसहितका संघसंगठन र संस्थाहरूले मंगलबार एक घण्टा धर्ना दिएको हुन् । कार्यक्रममा कान्तिपुरसहित विभिन्न सञ्चारसंस्थामा कार्यरत पत्रकारहरू सहभागी थिए ।

कान्तिपुरका फोटो पत्रकारहरू धर्नामा । फोटोः देशसंचार
धर्नालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले कानुन उल्लंघन गरी श्रमजीवीहरूमाथि शोषण गरेको बताए । उनले कान्तिपुरलाई कानुन पढाउने अवस्था आएको बताए ।
"पत्रकारको पुर्नवहाली गर, सरुवा बदर गर, त्यसपछि कानुनका कुरा गरौँ । कानुनमा त सबैभन्दा पछि नियुक्त भएकाबाट सुरु गर्नुपर्छ भनिएको छ, यसरी जहाँ जहाँ मन लाग्यो, अनुहार हेरेर मनलाग्दी गर्न पाइन्छ ?" वरिष्ठ उपाध्यक्ष विष्टको प्रश्न थियो, "कान्तिपुरसँग कानुन पढ्ने र बुझ्ने क्षमता छैन भने पत्रकार महासंघले कानुनको ट्युसन पढ्ने व्यवस्था गरिदिन्छ ।"
विष्टले महासंघ श्रमजीवीका मुद्दाका लागि जस्तोसुकै आन्दोलनका लागि तयार रहेको बताए । "महासंघ कसैको दबाबका अगाडि डग्दैन, कसरी आन्दोलन हुन्छ र कसरी झुक्छ भन्ने इतिहास हामीसँग छ", उनले भने "कान्तिपुर जस्तो संस्थाको विश्वसनीयता नखस्कियोस् र बदनामी नहोस् भन्नेमा हामी सचेत छौँ, तर यस विषयमा व्यवस्थापन बेलैमा सचेत हुनुपर्छ ।" उनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसहितका संस्थाहरू र कुटनीतिक निकायमा पनि पत्राचार गरी श्रमको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी धर्नालाई सम्बोधन गर्दै । फोटोहरूः महासंघ
महासंघका महासचिव रोसन पुरीले कान्तिपुरले श्रमजीवी पत्रकार ऐन लगायतका कानुन कार्यान्वयन नगर्दा पत्रकारहरू सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए ।
"कान्तिपुरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएन, उल्टो पत्रकारमाथि अपमान गरिहर्यो", पुरीले भने, "कानुनअनुसार पत्रकारले पाउने सेवासुविधा कान्तिपुरले निदिएसम्म यो आन्दोलन रोकिँदैन । यो आन्दोलनको सुरुवात हो, यसलाई निष्कर्षमा पुर्याएर मात्र हामी उठ्ने छौँ " कान्तिपुरसँगको पैठोजोरी नभएर आधारभूत मानवअधिकारको विषय भएको उनको भनाई छ ।
कान्तिपुरका पत्रकार अतुल मिश्रले पत्रकारको श्रमको आन्दोलन कान्तिपुर संस्था विरुद्ध नभएको स्पष्ट पारे। "हामीले श्रमको मूल्य मागेका हौँ, व्यवस्थापनले यसलाई आफूविरुद्धको आन्दोलन नठानोस्", उनले भने ।

काठमान्डू पोस्ट र कान्तिपुरका पत्रकार क्रमशः प्रज्ज्वल वली र अतुल मिश्र ।
काठमाडौं पोस्टका पत्रकार प्रज्ज्वल ओलीले कानुन र विधिअनुसार निर्णय लिन व्यवस्थापनलाई अनुरोध गरे । आफूहरूले सामूहिक माग राख्दा व्यक्तिगत रुपमा बोलाएर दबाब दिने गरेको बताए । "हाम्रो जायज माग सुनुवाई नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ", उनले भने ।
धर्नामा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकारहरूसहित पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवीको विषय समग्र मिडिया उद्योगमा रहेकाले यसलाई विस्तारित गर्नुपर्ने बताए । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले धर्नामा ऐक्बद्धता जनाउँदै श्रमको मुद्दा निरुपण गर्ने यो उपयुक्त बेला भएको बताए ।

धर्नामा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी (माथि), समाजवादी पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदी (वायाँ) र प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेः (दायाँ) ।
श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारहरूको न्यायपूर्ण आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए । जायज मुद्दा र शालीन आन्दोलनलाई सकारात्मक रुपमा लिन र कानुनको पालना गर्न उनले आग्रह गरे। सम्पूर्ण श्रमजीवीहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनले बताए ।
महासंघका महासचिव रोसन पुरीले कान्तिपुरमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिए । महासंघले बुधबार पनि ३ देखि ४ बजेसम्म धर्ना जारी राख्नेछ ।