नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनले कान्तिपुर पब्लिकेसन्स लिमिटेडले श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका आधारभूत मान्यता र सिद्धान्त लत्याएको बताएको छ । शनिबार विज्ञप्ति जारी गरी संगठनले व्यवस्थापनको गैरजिम्मेवारीपनका कारण कान्तिपुरमा समस्या आएको जनाएको छ ।
"एउटा संस्थामा जीवनका उर्वर र रचनात्मक समय लगानी गरेका स्थायी, करार तथा स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण रोक्का, काम गरेर घर गएका पत्रकारलाई इमेलमार्फत अवकास पत्र थमौती र स्ट्रिन्जरलाई राजीनामा दिने वातावरण कम्पनीबाटै बनाइनु आफैँमा कानुनतः व्यवस्थापनको गैरजिम्मेवारीपन र नैतिक दायित्वबाट पन्छिएको संकेत हो", महासचिव रामकुमार एलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "अझ केही पत्रकारले मानव संशाधन विभागबाट फोनमार्फत् मानसिक तनाव दिने कार्य गरेको खुलासा पनि गरेका छन् ।"
"‘हात्ती किनेपछि दाम्लो पनि किन्न पर्छ, दाम्लो महँगो छ’ भनेर पन्छिन र छिमेकीको आँगनमा हात्ती छाड्न मिल्दैन", विज्ञप्तिमा भनिएको छ, "अर्कातिर ‘कानुनी अज्ञानता रह्यो भन्दैमा दोषी जरिवानाबाट मुक्त हुनै सक्दैन’ भन्ने मान्यता पनि छ ।"
कान्तिपुरजस्तो एउटा प्रतिष्ठित मिडिया हाउसले मुलुकको आर्थिक मन्दी देखाएर राज्यले निर्देशन र व्यवस्था गरेको सिद्धान्त, कानुनी व्यवस्थाको बर्खिलापमा गएर एकतर्फी श्रमजीवी पत्रकारको दैनिकीमै समस्या पार्ने काम गरेको उक्त संगठनको ठहर छ । कान्तिपुरमा सिर्जित समस्या समाधानका लागि आन्दोलित कर्मचारी, पत्रकारको माग पूरा गराउन संगठनले अपिल गरेको छ ।
केही दिनदेखि कान्तिपुरमा भइरहेको वार्ताले शनिबार साँझसम्म पनि व्यवस्थापन पत्रकारका मागका सम्बन्धमा गम्भीर नभएको पाइएको उसको भनाई छ । कान्तिपुरमा कार्यरत पत्रकारहरूले व्यस्थापनसमक्ष राखेका मागमा संगठनले साथ, समर्थन र ऐक्यवद्धता जनाएको छ । उसले तत्काल पत्रकारलाई काम गर्ने वातावरण बनाउन माग गरेको छ । "अन्यथा पत्रकारको आन्दोलनमा समाजवादी प्रेस संगठन नेपाल पनि सरिक हुने विषयमा कान्तिपुर व्यवस्थापन र राज्यका निकायहरुको ध्यान आकर्षित गराउन चाहन्छौँ", विज्ञप्तिमा भनिएको छ ।
कान्तिपुरमा के भइरहेको छ ? पढ्नुस्
- युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’
- कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त
- कसले गर्यो कान्तिपुरबारे ‘अलर्गल प्रचार’ ? महासंघ शाखाको विज्ञप्तिका सङ्केत र सन्देश
- कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो
- कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध
- कान्तिपुरको समस्या सुनेपछि सञ्चारमन्त्रीले भनिन्- आवश्यक परे क्याबिनेटमा प्रस्ताव लान्छौँ
- कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग
- कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'
- दशैँको मुखमा ६८ पत्रकारलाई कान्तिपुरको अवकाश पत्र
- पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’
- ‘कान्तिपुर’ मा सल्किएको आगो