सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले कान्तिपुर पब्लिकेसन्स लिमिटेड लगायतका मिडियामा देखिएको श्रम समस्या समाधान गर्न आवश्यक परे मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएकी छन् ।
सोमबार नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघ नेपालका प्रतिनिधि मण्डलसँगको छलफलमा मन्त्री शर्माले कान्तिपुर लगायतका मिडियामा देखिएको श्रम समस्या समाधान गर्न क्याबिनेटसम्म जाने बताएकी हुन् ।
"कान्तिपुर लगायतका सबै श्रमजीवी पत्रकारका विषयमा हामीले मन्त्रालयबाट के सहजीकरण गर्नुपर्छ पहल गर्छौँ", मन्त्री शर्माले भनिन्, "मन्त्रालयबाट अझ माथि जानुपर्यो भने क्याबिनेटसम्म पुगौँला । आवश्यक परे तपाईँहरूको पनि साथ सहयोग लिन्छौँ ।"
शर्माले यसअघि पनि सूचना तथा प्रसारण विभागले समस्या समाधानका लागि पहल गरेको स्मरण गराउँदै सक्रियतापूर्वक पहलकदमी थाल्न विभागलाई निर्देशन दिइन् ।
"श्रमजीवी पत्रकारका विषयमा नेता संगठन [नेपाल पत्रकार महासंघ] आएर कुरा राखेपछि हामीले गम्भीरतापूर्वक लिएका छौँ । पहिला पनि सूचना [तथा प्रसारण] विभागले समस्या समाधानका लागि प्रयत्न गरेको हो । अझ सक्रियतापूर्वक विभागले पहलकदमी थालोस्", मन्त्री शर्माले भनिन्, "यसका लागि हामी...क्याबिनेटसम्म पुगौँला । आवश्यक परे तपाईँहरूको पनि साथ सहयोग लिन्छौँ ।"
कान्तिपुर लगायतका सञ्चार माध्यममा पत्रकारहरूलाई ऐन विपरीत निष्कासन गरिएको विषयमा आफू जानकार रहेको उनले बताइन् । गत असोज ९ गते कान्तिपुरले ६८ जना कर्मचारीहरूलाई कानुन विपरीत अवकाश पत्र दिएको थियो ।
यसै विषयमा ध्यानाकर्षण गर्न मन्त्रालयमा पुगेको महासंघको टोलीलाई मन्त्रीले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आवश्यक परे क्याबिनेट (मन्त्रिपरिषद् बैठक) मा लगेर पनि यस विषयमा छलफल गर्न सकिने बताएकी हुन् ।
मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गरिनुपर्नेमा जोड दिइन् ।
कान्तिपुरले पछिल्लो समय त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूलाई विभिन्न बाहनामा हतोत्साही गर्न थालेको छ । कान्तिपुरस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ । आइतबार पत्रकारहरूलाई वार्तामा बोलाइए पनि व्यवस्थापनले पछि वार्तामा बस्न अलटाल गरेको त्यहाँका पत्रकारहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघले आइतबार कान्तिपुरलाई समस्या समाधानका लागि दबाब दिँदै आन्दोलनको चेतावनी दिएपछि व्यवस्थापन वार्ताबाट भागेको कान्तिपुरका पत्रकारहरूको दाबी छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रत्येक दिन अपमानजनक रुपमा मिडिया हाउसबाट पत्रकार निकालिने गरेकोले पीडित श्रमजीवीको पक्षमा महासंघले आन्दोलन थालेको बताए । "सरकारले यथासीघ्र कानुन कार्यान्वयन गरोस्", उनले भने ।
श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले श्रमको आन्दोलनमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए ।