पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको बताए । उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए ।
यस्तै विज्ञ तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितको कार्य थाल्ने विश्वास व्यक्त गरे । विज्ञ बबिता बस्नेतले चुनौतीका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषयमा प्रतिवेदनमा समेटिएको उल्लेख गरिन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चार माध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आवश्यकता महशुस गरेरै विज्ञ समूहलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुनअनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा लैजाने उनको भनाइ थियो ।
काउन्सिलले गत असार १९ गते पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिन जिम्मेवारी दिएको थियो । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् भने बस्नेत सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् ।