चिल्लो पत्रिकाको खस्रो भविष्य

चिल्लो पत्रिकाको खस्रो भविष्य

  • जेठ १, २०८० सोमबार १९:०३

हिमाल खबरपत्रिका बन्द भएको छ । समाजमा बढ्दो आर्थिक असमानताबारे ‘कोही किन धनी–गरीब ?’ शीर्षकको आवरण कथासहितको जेठ अंकलाई अन्तिम अंक बनाउँदै ‘हिमाल’ ले आफ्नो प्रकाशन बन्द भएको जानकारी गराएको हो । 

पछिल्लो दुई वर्ष ‘हिमाल’ अर्थ-राजनीति प्रधान मासिकका रुपमा छापिइरहेको थियो । सुरुमा द्वैमासिकका रुपमा सुरु भएको ‘हिमाल’ पछि पाक्षिक बन्यो, साप्ताहिक बन्यो अनि २०७८ भदौ १ देखि पछिल्ला २२ अंक मासिकका रुपमा छापिए । 

प्रकाशक कनकमणि दीक्षितले यसलाई ‘विश्राम’ भनेका छन् । मिडिया बजार तथा पाठकका चासो र रुचिको समीक्षा गरी पुनः ‘हिमाल’ लाई पाठकमाझ पुर्‍याउने उनले उल्लेख गरेका छन् । ‘नचाहेरै पनि यति बेला पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ र मिडिया बजार तथा पाठकका चासो र रुचिको समीक्षा गरी फेरि कुनै न कुनै रूपमा कुनै बेला तपाईंको हातमा आउने नै छ’, अन्तिम अंकको प्रकाशकीयमा दीक्षितले लेखेका छन् ।

कारण - 'अर्थअभाव'

कोभिड-१९ को असरका कारण करिब १७ महिना बन्द भएर पुनः प्रकाशन भएको हिमाल बन्द हुनुमा यतिबेला अर्थभावलाई कारण दिइएको छ । कोभिड-१९ महाव्याधिका कारण चैत, २०७६ मा स्थगित हिमालको छापा संस्करण २०७८ भदौदेखि पुनः प्रकाशन भएको थियो।

सम्पादक रविन गिरीले ‘हिमालको विश्राम’ शीर्षकमा इमेल लेखी आफ्ना नियमित लेखक तथा स्तम्भकारहरूलाई ‘अर्थभावकै कारण पुनः स्थगन गर्नुपरेको’ जानकारी दिएका छन् । 

‘हिमाल मासिकको प्रकाशन अर्थभावकै कारण पुनः स्थगन गर्नुपरेको तथ्य तपाईसामु यसरी हठात् राख्नुपर्ला भनेर मैले कहिल्यै चिताएको थिइन। तर, भइदियो यस्तै’, सम्पादक गिरीले इमेलमा लेखेका छन् ।

‘मासिक हिमालको २२ वटा अंकको यो यात्रामा तपाईले पत्रिकालाई र व्यक्तिगत रुपमा मलाई पनि गर्नुभएको स्नेह, प्रेम, सहयोग र सुझवका लागि म जीवनभर ऋणी रहनेछु’, गिरीले लेखेका छन् ।

सन् १९९७ मा स्थापित हिमाल मिडिया प्रालिले ‘हिमाल’ सँगै नेपाली टाइम्स अंग्रेजी  प्रकाशित गर्दछ । हिमालका प्रकाशक कनकमणि दीक्षित हुन् भने नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित हुन् । हिमाल र नेपाली टाइम्सका अनलाइन पोर्टल पनि छन् । हिमालले अनलाइन संस्करण भने जारी राख्ने छ । 

हिमालको जन्म

‘हिमालको बिउ न्यूयोर्क शहरमा सन् १९८७ मा रोपिएको हो, जब म संयुक्त राष्ट्रसंघको ‘प्रेस अफिस’ मा जागीरे थिएँ । र, नेपाल फर्किने ध्येयमाझ दिनरात बित्दै थिए’, प्रकाशक कनकमणि दीक्षितले २०७९ भदौ १ को अंकमा लेखेका थिए ‘‘लङफर्म’ र खोजमूलक सामग्री छाप्ने दि एट्लान्टिक, न्यू योर्कर र हार्पर्स् पत्रिकाको कामबाट उत्साहित भएर नेपालको मात्र नभई पूरै हिमालय क्षेत्रका लागि एउटा ‘रिभ्यू म्यागेजिन’ निकाल्ने निधो गरें। पहिलो दुई वर्ष उतै छाप्ने गरी पत्रिका निक्लियो- अंग्रेजी हिमाल।’ 

भारतदत्त कोइराला अध्यक्ष रहेको ‘हिमाल एसोसिएट्स’ हिमालको प्रकाशक भयो, र कनकमणि दीक्षित सम्पादक। 

पछि ‘हिमाल एसोसिएशन’ संस्था जन्मियो। जसले वृत्तचित्र प्रदर्शनी ‘फिल्म साउथएशिया’ तथा ‘हिमाल किताब’ समेत जन्मायो।

‘अंग्रेजी हिमालले पञ्चायतको कालखण्डमा राजनीतिभन्दा वातावरणीय, सांस्कृतिक तथा समाजशास्त्रीय विधालाई प्राथमिकता दियो, जसले पछि गएर दक्षिणएशिया उपमहाद्वीप हेर्ने गरी आफूलाई फैलायो’, दीक्षित लेख्छन्, ‘नेपालमा छापिने पत्रिकाले मुख्यतः अंग्रेजीभाषी पाठकलाई मात्र लक्षित गरेकाले हिमालको सामग्रीलाई नेपालीमा पनि प्रस्तुत गर्ने विषयमा छलफल भयो। शुरूमा उल्था सामग्री सहित वार्षिक रूपमा पुस्तकाकारमा छाप्ने काम भयो।’ 

पछि ‘समसामयिक, राजनीतिक समाचार र विश्लेषण पनि पस्कनुपर्ने’ आवश्यकताका कारण अंग्रेजी हिमालबाट अलग्गिएर हिमाल द्वैमासिक बन्यो, त्यसपछि पाक्षिक, साप्ताहिक र मासिक । २०४७ देखि २०५० सम्म वार्षिक पुस्तकाकारमा छापिएको हिमाल २०५२ देखि त्रैमासिक बन्यो । २०५३ देखि २०५५ सम्म द्वैमासिक र २०५६ देखि पाक्षिक र २०६९ देखि साप्ताहिक रुपमा छापियो । 

बसन्त थापा, राजेन्द्र दाहाल, शिव गाउँले, कुन्दन अर्याल, किरण नेपाल र रविन गिरी विभिन्न कालखण्डमा यसका सम्पादक रहे । 

'०५६ मा हिमाल खबरपत्रिका त्यस्तो म्यागजिन बन्यो, जसले नेपाली पत्रकारितालाई घटना विशेषबारे जानकारी पाउने चक्रबाट घटना प्रवृत्ति बुझाउने अभ्यासमा ढाल्ने जमर्को गर्‍यो । हिमाल खबरपत्रिकामा काठमाडौँ टुडेका सल्लाहकार र देशान्तर साप्ताहिकका सम्पादक राजेन्द्र दाहालले सम्पादनको जिम्मा पाए', भाष्कर गौतम म्यागेजिनका चार कुइनेटा शीर्षकको लेख (२०७६) मा उल्लेख गर्छन्, 'खबरपत्रिकाले राम्रै गर्न थाल्यो । त्यसैले अर्को वर्ष साउनमा कान्तिपुर पब्लिकेसन्सले नेपाल पाक्षिक निकाल्न थाल्यो । हिमाल र नेपाल बजारमा राम्रै चले । न्युज म्यागजिनको बजारलाई प्रतिस्पर्धीसमेत बनाए । समयक्रममा धेरै म्यागजिन आए/गए पनि हिमाल र नेपालले आफूलाई बजारमा स्थापित गरेका छन् ।'

कोभिड-१९ महाव्याधि सुरु भएलगत्तै कान्तिपुर पब्लिकेसन्सले पनि 'नेपाल' म्यागेजिन बन्द गरेको थियो। कोभिडमा बन्द भए पनि हिमाललाई प्रकाशकले छाप्ने आँट गरे । 

कोभिड-१९ मा हिमाल बन्द भएर मासिकका रुपमा पुनर्जीवित हुँदा सम्पादक रविन गिरीले खबरको कुहिरो चिर्ने चुनौती शीर्षकको सम्पादकीयमा लेखेथे- ‘महामारीअघि नै संकट व्यहोर्दै आएको छापा माध्यममा नयाँ चुनौती थपिएका छन्। त्यस्तो चुनौती सत्ता वा अन्य शक्तिबाट नभई सामाजिक सञ्जाल र अनलाइन पोर्टलको प्रभावका कारण थपिएको हो। अखबार, पत्रिका खुम्चिएसँगै उनीहरूका मान्यता र ‘प्रोटोकल’ पनि हराउने हुन् कि भन्ने चिन्ता छ।’

भैदियो पनि त्यस्तै । संसारभर नै छापा माध्यमको संकट बढेको छ । पाठक-स्रोता-दर्शक पनि इन्टरनेटमा आधारित मिडियातर्फ र मिडियाको मुख्य आर्थिक स्रोतका रुपमा विज्ञापन बजार पनि इन्टरनेटतर्फ नै केन्द्रित हुँदा पत्रपत्रिकाहरू अस्तित्वका लागि संघर्षरत छन् । यसमा पनि म्यागेजिनहरू पहिलो शिकार बनेका छन् । 

द न्यु योर्क टाइम्समा सन् २०१७ मा प्रकाशित ‘द नट सो ग्लोस्सी फ्युचर अफ म्यागेजिन’ शीर्षकको रिपोर्टिङको निष्कर्ष छ– अब म्यागेजिनको भविष्य करिब करिब सक्कियो । न्युजस्ट्यान्डहरूमा म्यागेजिन झुन्डिरहेकै छन् तर यो उद्योग विश्वभर नै धरासायी हुने क्रममा छ । उक्त रिपोर्टिङ कहीँ कतै भन्छ– ‘बिस्तारै साँझ पर्दैछ । र, हामी सूर्यास्तको सन्निकट छौँ ।’ 

नेपालकै सन्दर्भमा, कोभिड-१९ महाव्याधि सुरु भएलगत्तै कान्तिपुर पब्लिकेसन्सले पनि 'नेपाल' म्यागेजिन बन्द गरेको थियो। 

माथि उल्लेखित लेखमा गौतम शिथिल प्रायः रहेको म्यागेजिनकारिताले पुनः जाग्ने कसरत गरिरहे पनि त्यसका तीनवटा मुख्य चुनौती औँल्याउँछन् - लामा-लामा सामग्री छाप्न थालेका दैनिक पत्रिका, बढ्दा अनलाइन पोर्टल र कमजोर लगानी । नेपालमा म्यागेजिनकारिताको अवस्थाबारे लामो चर्चा गरेपछि उनी सोध्छन्- 'के यतिमै रमाएर सार्वजनिक वृत्तको काल्पनिकीमा निर्णायक स्थान बनाउने कार्यबाट म्यागेजिनकारिता रमाइरहने हो ? पुनर्जागरणतर्फ लाग्ने होइन ?' सम्भवतः अब म्यागेजिनको यस्तो पुनर्जागरण दुरूह छ । 

पत्रकार बिदाई जारी

‘हिमाल’ ले एक महिनाअघि नै पत्रिका बन्द हुने जानकारी समाचार कक्षमा गराइसकेका थियो । सम्पादक गिरीले  पत्रिकालाई कम्तिमा असारसम्म निरन्तरता दिन चाहेको भए पनि त्यस्तो भएन । पत्रिका बन्द भएपछि त्यहाँ कार्यरत केही पत्रकारहरूलाई हिमालले बिदा गर्ने भएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८