पूर्वाधार र विकास निर्माणलाई मुख्य विषय बनाई रिपोर्टिङ गर्ने पत्रकारहरूले नेपाल पूर्वाधार पत्रकार समाज गठन गरेका छन् । बिहीबार काठमाडौंमा भएको भेलाबीच संस्था
जीवन बस्नेत (नयाँ पत्रिका) को अध्यक्षतामा नेपाल पूर्वाधार पत्रकार समाजको ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोस्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन् ।
सदस्यहरूमा विमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दिपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङ्गाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहेका छन् ।
संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता गरिएको छ । पूर्वाधार तथा विकास निर्माणलाई मूल विषय बनाई पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर संस्था दर्ता गरिएको समाजका अध्यक्ष बस्नेतले जनाएका छन् ।
‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने, नयाँ र सिकारुहरूको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उद्देश्य हो,’ बस्नेतले भने,'विकास निर्माणका विभिन्न क्षेत्रहरू छन्, त्यससँग जोडिने सबै पक्षसँग जानकारमार्फत पत्रकार साथीहरूको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’