सरकारले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय समाचार समितिको महाप्रबन्धक सिफारिस समितिको सचिवालयले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको हो ।
यससम्बन्धी सूचना सोमबारको गोरखापत्रमा छापिएको छ । नियुक्तिका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ८ दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।
आवेदक कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।
यस्तै आवेदक कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आम सञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ ।
कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको र सेवा निवृत्त व्यक्तिको हकमा दुवैका लागि कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा नवौँ तहमा काम गरेको हुनुपर्नेछ । पत्रकार आचारसंहिता उल्लङ्घन अन्तर्गत सजाय नपाएको हुनुपर्ने सूचनामा जनाइएको छ ।
प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको पनि हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिहरूले देहायको विवरण खुलाई आफ्नै हस्ताक्षरबाट प्रमाणित कागजात सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष आवेदन दिनुपर्नेछ ।
(क) नियुक्त हुन चाहेको व्यहोरा खुल्ने आवेदन,
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ग) व्यक्तिगत विवरण,
(घ) शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्ने ।
(ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
(च) नेपाली भाषामा (यूनिकोड कालीमाटी ११ वा प्रति १६ का फन्ट साइजमा टाइप गरिएको १५ सयदेखि तीन हजार शब्द सम्मको सिलबन्दी व्यावसायिक कार्ययोजना,
(छ) हालसालै खिचेको दुई प्रति फोटो,
(ज) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वोषणा
(झ) दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि ।
समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजना कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ताको आधारमा मूल्याङ्कन गर्ने सूचनामा जनाइएको छ ।
हेर्नुहोस् सूचनाः
