पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू –
१. COVID-19 भन्नाले CO = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । कोरोनाको दोस्रो लहर पहिलोभन्दा जोखिपूर्ण हुदै गएको छ । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।
२. आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरूको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरूबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।
३. कोरोना भाइरसको दोस्रो लहरका बारेमा प्रसस्त चर्चा गरौं, सूचना लिउँ र दिउँ । कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरूका बारेमा लेखौं । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनीयतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं ।
४. कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं । तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई अपराधिकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । हामीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छौं भन्ने कुराको ख्याल गरौं ।
५. वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरूलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरूमा पनि सेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरूले दिएका सुझावहरूलाई पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं ।
६. कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरूलाई प्राथमिकता दिऔं । साना साना कदमहरूले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरूले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरू सम्प्रेषण नगरौं ।
७. संक्रमणको महामारी (Epidemic) भन्दा सूचनाको महामारी (Infodemic) चाँडो फैलन्छ । यसले मानिसहरूमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरूप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।
८. कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरूका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं ।
९. गलत सूचना प्रवाह, बुझाईमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कातिर संक्रमण रोकथामका लागि हुने कामहरूमा बाधा पुर्याइरहेको छ । यस्तो अवस्थामा मानिसहरू आत्तिनु स्वभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरूको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं ।
१०. संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरूका मानवीय पक्ष र विषयहरूलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, आदि) प्रति सहयोग पुग्ने र उनीहरूलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।
११. त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।
१२. शब्द प्रयोगमा ध्यान दिऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।
१३. कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरू, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरूको उपचार र हेरचाहमा संलग्नहरूका समाचार र अनुभूति प्रकाशन प्रसारण गर्दा कोरोना लागि हालेपनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन् । उनीहरूलाई सम्मान गरौं र उनीहरूका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।
१४. कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरूलाई मिडियामा उचित स्थान दिने गरौं, यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस् ।
१५. अन्त्यमा, आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं ।
- कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरू अपनाऔं ।
- सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
- सञ्चारगृहहरूले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
- अत्यावश्यक बाहेकका भेटघाटहरू नगरौं
- समय समयमा साबुन पानीले हात धुने गरौं ।
- अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौं ।
- भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।
- सकेसम्म भिडभाड हुने स्थानहरूमा नजाऔं ।
- श्रोतहरूसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
- सरकार वा आधिकारिक निकाय तथा संस्थाहरूले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।
(यो सामग्री विश्व स्वास्थ्य संगठनले तयार गरेका Social Stigma Associated with COVID-19 A guide to preventing and addressing social stigma मा आधारित रहेर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले तयार गरेको हो । यो सामग्री नेपाल पत्रकार महासंघले महासंघका सदस्य तथा सबै संचारकर्मीहरूलाई उपयोगी हुने ठानी जानकारी तथा प्रयोगको लागि वितरण गरिएको छ ।)