बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको सञ्चार रजिष्ट्रारको कार्यालयले चालु आर्थिक वर्षका लागि निःशुल्क तालिमहरू सञ्चालन गर्न लागेको जनाएको छ ।
एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा कार्यरत पत्रकार, व्यवस्थापक, रेडियो प्राविधिक र पत्रकार महिलाहरू यी तालिमहरूमा सहभागी हुन सक्छन् ।
तालिम हुने विषयहरू
सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न ६ वटा विषयमा तालिम दिन लागेको हो ।
- रेडियो प्राविधिक तालिम
- बजार व्यवस्थापकका लागि विज्ञापन कला सम्बन्धी तालिम
- समाचार लेखन तथा सम्पादन कार्यशाला (पत्रकार महिलाका लागि मात्र)
- अनलाइन पत्रकारिता तालिम
- डाटा ड्रिभन पत्रकारिता तालिम
- मोबाइल पत्रकारिता तालिम
आवेदन कसरी दिने ?
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तालिमका लागि निवेदन दिनुपर्ने छ । २०८० साउन १६ गते सूचना प्रकाशित भएको हो । निवेदन दिनका लागि सञ्चार रजिष्ट्रार कार्यालयले वेबसाइटमा एउटा ढाँचा पनि राखेको छ ।
आवेदन कहाँ दिने ?
सञ्चार रजिष्ट्रारको कार्यालयको इमेलमा आवेदन दिन सकिन्छ । हेटौडा तथा ललितपुरको जावलाखेलमा रहेको कार्यालयमै पुगेर पनि आवेदन दिन सकिन्छ ।
कसले दिने आवेदन ?
सम्बन्धित विषयमा कार्यरत पत्रकारहरू तथा इच्छुक मिडियाकर्मीले आवेदन दिन सक्नेछन् ।
डाटा ड्रिभन पत्रकारिता तालिमका लागि अनलाइन पत्रकारिता तालिम लिएका र अनलाइन पत्रकारितामा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइने सूचनामा जनाइएको छ । यस्तै अनलाइन पत्रकारिता तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइनेछ ।
मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका टेलिभिजन र अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइनेछ ।
समाचार लेखन तथा सम्पादन कार्यशालामा पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकार महिलाले मात्र आवेदन दिन सक्नेछन् ।
विज्ञापन कला तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका रेडियो तथा टेलिभिजन सञ्चालक संस्थामा क्रियाशील बजार व्यवस्थापकलाई प्राथमिकता दिइनेछ ।
रेडियो प्राविधिक तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका रेडियोमा क्रियाशील प्राविधिकलाई प्राथमिकता दिइनेछ ।
मोबाइल पत्रकारिता बाहेक अन्य तालिममा सहभागी हुन चाहनेले ल्यापटप अनिवार्य रुपमा ल्याउनु पर्नेछ । तालिम एक सातासम्म सञ्चालन हुनेछ ।
विस्तृत जानकारीका लागि सञ्चार रजिष्ट्रार कार्यालयको सूचना पढ्नुहोस् ।
