सरकारले विरोधका स्वरहरूलाई दबाउन खोजिरहेको सङ्केत
भदौ २४ गते सोमबार साँझ ५ बजे । मानबहादुर कार्की (२९) महानगरीय प्रहरी वृत्त दरबारमार्गको फलामे बारभित्र खाली खुट्टा उभिएका थिए ।
नारायणहिटी दरबार संग्राहलयको वारीपट्टी रहेको वृत्तको चारैतर्फ फलामे सटर र रडले घेरिएको भुईँतलामा मानबहादुर निन्याउरो देखिन्थे ।
“म होटेलमा काम गर्दै थिएँ । दुईजना प्रहरीहरू आइपुग्नुभयो”, चार दिनदेखि प्रहरी हिरासतमा रहेका मानबहादुरले भने, “सोधपुछ गर्नुछ भन्दै पहिला साइबर ब्यूरो अनि त्यसपछि यहाँ (दरबारमार्ग वृत्त) ल्याउनुभयो । त्यसपछि म फर्केर काममा जान पाइनँ ।”

दरबारमार्गस्थित प्रहरी वृत्त । तस्बिरः पहिलोपोस्ट
मानबहादुरका अनुसार साइबर ब्यूरोबाट उनकी भाइबुहारीलाई भदौ २० गते बिहान ११ बजेतिर फोन गएको थियो । प्रहरीले उक्त नम्बर कसको हो भनेर जिज्ञासा राखेका थिए । श्रीमानको नम्बर भएको जवाफ दिएपछि ती प्रहरीले साइबर ब्यूरो पठाइदिन भने ।
जब मानबहादुरका भाइ सुवास साइबर ब्यूरो पुगे, उनलाई एउटा फेसबुक आइडी देखाएर ‘यो कसको हो?’ भनेर सोधियो । त्यो मानबहादुरको फेसबुक एकाउन्ट थियो ।
दाजुसँग सामान्य सोधपुछ गर्नुपर्ने छ भन्दै प्रहरीले मानबहादुरको ठेगानासम्म पुर्याउन भनेपछि सुवास प्रहरीलाई बाटो देखाउँदै महाबौद्धतिर हान्निए । काठमाडौंको महाबौद्धमा कार्की परिवारले मःमः पसल सञ्चालन गर्छ ।
साइबर ब्यूरोबाट खटिएका दुईजना प्रहरी जवानले दिउँसो ४ बजेतिर मानबहादुरलाई पक्राउ गरी भोटाहिटीमा रहेको साइबर ब्यूरो पुर्याइयो । त्यसपछि बल्ल पक्राउपूर्जी थमाइयो र अदालतबाट ५ दिनको म्याद लिएर दरबारमार्ग वृत्त पुर्याइयो ।
मङ्गलबार थप अनुसन्धानका लागि भन्दै जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थपिएको छ ।
मानबहादुरमाथि प्रहरीले विद्युती कारोबार ऐन, २०६३ को दफा ४७ को कसूर गरेको आरोप लगाएको छ ।
फेसबुकमा मानबहादुरले गरेको 'अपराध'
मानबहादुरले फेसबुकमा त्यस्तो के गरे जसले गर्दा यतिबेला उनी दरबारमार्गस्थित प्रहरी वृत्तको चिसो छिँडीमा छन् ?
सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय मानबहादुर सत्तारुढ नेकपा एमाले र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका कारण पक्राउ परेको देखिन्छ । त्यसको पुष्टि प्रहरी अधिकारीहरूको भनाईबाट पनि हुन्छ ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थी ‘सम्मानित व्यक्तिहरूका विषयमा गलत खालका सूचना प्रबाह गरेका कारण’ मानबहादुरलाई पक्राउ गरिएको बताउँछन् ।
“सम्माननीय, माननीयको विषयमा हुँदै नभएको विषयमा थपथाप गरेर अनर्गल प्रचार गर्ने गरेको पाइयो”, एसपी अवस्थीले मिडिया कुराकानीसँग भने, “तपाईँले उहाँको फेसबुक आइडी हेर्नुभयो भने पनि स्पस्ट हुन्छ ।”
फेसबुकमा उनले सबैभन्दा बढी आलोचना प्रधानमन्त्री केपी शर्मा ओलीको गरेका छन् । त्यसो त उनले सार्वजनिक चर्चाका सबैजसो विषयमा सामग्रीहरू राख्ने गरेको देखिन्छ । ‘दोलखाली कुशल कार्की शैलुङे’ नामको एकाउन्ट चलाएका मानबहादुरका ६७ हजार फलोअर छन् ।
पछिल्लोपटक गत भदौ ११ गते ७ बजेर ११ मिनेटमा उनले फेसबुकमा एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा वर्तमान सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको देखिन्छ । उक्त भिडियो गौरा पर्वका दिन (भदौ १०) टुँडिखेलमा भएको घटनाको हो ।
हामीलाई साइबर ब्यूरोका एक अधिकारीले बताएअनुसार सोही भिडियो पोस्ट गरेका कारण मानबहादुर पक्राउ परेका हुन् । “गौरा पर्वको भिडियो फेसबुकमा हालेका रहेछन्”, नाम नबताउने शर्तमा साइबर ब्यूरोका ती अधिकारीले भने ।
गौरा पर्वका दिन टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो ।
गौरा पर्वका दिन वर्तमान सत्ता गठबन्धनका दुई शक्तिशाली पात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजीको भिडियो मात्र होइन, उनले सरकारको विरोध वा खबरदारीमा अनेक सामग्रीहरू फेसबुकमा राखेको भेटिन्छ ।
सामाजिक विषय र चर्चाको उत्कर्षमा रहेका विषयलाई फेसबुकमा राख्ने उनको पुरानो बानी रहेको उनको फेसबुक हेर्दा थाहा हुन्छ । मानबहादुरले कुनै विशेष उद्देश्य वा कारणले मात्र नभई, आफ्नो नियमित सामाजिक सञ्जाल गतिविधिको रूपमा उक्त भिडियो सेयर गरेको देखिन्छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीलक्षित अनफलो अभियानमा मानबहादुर निकै सक्रिय देखिन्छन् । उनका भाइ सुवास, प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियानमा लागेका कारण उनलाई पक्राउ गरिएको हुनसक्ने शंका गर्छन् । “टुँडिखेलको भिडियो सेयर गरेर मात्रै दाइलाई पक्राउ गरिएको होइन”, मानबहादुरका भाई सुवास कार्की भन्छन्,“अनफलो अभियानमा जोडिएको हुनाले पनि पक्राउ गरिएको हुनसक्छ ।”
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन र प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकबीच सोसल मिडियामा गत साता चलेको आरोप प्रत्यारोपका बीच प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक पेज अनफलो गर्ने ‘अभियान’ चलेको थियो । त्यसक्रममा दुई दिनमा ओलीका ४३ हजार भन्दा बढी फलोअर घटेका थिए ।
प्रहरीले मानबहादुरविरुद्ध जाहेरी दिनेको नाम औपचारिक रुपमा खुलाउन मान्दैन । तर प्रहरी स्रोतबाटै हामीले प्राप्त गरेको उजुरीकर्ताको विवरण र सोसल मिडियामा उनका बारेमा गरेको खोजीले उनी सत्तारुढ एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता रहेको खुल्छ ।
संसदमा मानबहादुर पक्राउको विरोध
भदौ २३ गते आइतबार मानबहादुरलाई भेट्न दरबारमार्ग वृत्त पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र गणेश पराजुलीले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा पक्राउको विरोध गरेका छन् ।
“एउटा सार्वजनिक कार्यक्रममा खिचिएको र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भएको भिडियो सेयर गरेको भरमा पक्राउ गरेर मुद्दा चलाउनु कत्तिको लोकतान्त्रिक हो सभामुख महोदय ?” सोविताले प्रतिनिधि सभाको बैठकमा प्रश्न गरिन्, “जनताले राजनीतिक विषयमा असन्तुष्टि राखेर जिन्दावाद वा मुर्दावादको नारा लगाएकै भरमा मुद्धा चल्छ भने सरकारले जनतालाई एउटा भुसुना बराबर पनि सम्झिएको रहेनछ भन्ने प्रमाण हो ।”
रास्वपाकै सांसद गणेश पराजुलीले पनि मानबहादुरलाई निःशर्त रिहा गर्न माग गरे । “भिडियो सेयर गरेकै भरमा तानाशाही प्रवृत्ति देखाउँदै सरकारले गिरफ्तार गरेर जेलमा राखेको रहेछ”, पराजुलीले प्रश्न गरे, “नारा लगाएकै भरमा कति युवालाई जेलमा थुन्ने विचार गरेको छ यो सरकारले ?”
अधिवक्ता सन्तोष सिग्देल पछिल्लो समय सरकार, राजनीतिक दल वा नेताहरूको आलोचनामा सलंग्न सामाजिक सञ्जाल प्रयोगकर्ताविरूद्ध सरकार कठोर रूपमा प्रस्तुत हुन थालेको बताउँछन् । “नागरिकलाई दल, नेता, नीतिको स्वस्थ्य आलोचना गर्ने अधिकार छ र यो संविधानप्रद्धत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हो”, डिजिटल राइट्स नेपालका अध्यक्षसमेत रहेका सिग्देल भन्छन्, “सामान्य आलोचनाहरू पनि सहन नसक्ने भएपछि राज्यले यस्तो गतिविधि गर्दै आएको देखिन्छ ।”
सिग्देलको बुझाईमा नाराबाजी गर्ने वा कालो झण्डा देखाउनेलाई सयौँ प्रहरी लगाएर पक्राउ गर्ने राज्यले सामाजिक सञ्जाललाई पनि चुनौतीका रूपमा देख्न थालेको छ। “कसैले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदा पक्राउ गर्ने प्रवृत्ति बढ्नु शक्तिको दुरुपयोग हो ।”
प्रश्नसँग भयभीत सरकार
सर्सर्ती हेर्दा मानबहादुर पक्राउ एउटा घटनाजस्तो देखिन्छ । तर पछिल्ला केही दिनमै यस्ता धेरै घटनाहरू दोहोरिइरहेका छन्, जसले सरकार विरोधका स्वरहरूसँग भयभीत रहेको सङ्केत गर्छ ।
भदौ १० गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिन अर्थात् भदौ १४ गते धरौटीमा छुटेका थिए ।
त्यसकै भोलीपल्ट अर्थात भदौ ११ गते कांग्रेस सभापति देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध फेसबुकमा टिप्पणी गरेको भन्दै कैलाली प्रहरीले प्रतीक जोशी र रचित शाहलाई पक्राउ गरेको थियो । चौतर्फी विरोध भएपछि प्रहरीले उनीहरूलाई कागज गरेर छाडेको थियो ।
गत साउन ३२ गते मात्रै प्रधानमन्त्री ओलीलाई फेसबुकमा ‘भ्रष्टाचारी’ भनेर लेख्ने बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावल पक्राउ परेका थिए । उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको छ ।

भदौ २१ गते आन्दोलनरत रुबि खान सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । निर्मला कुर्मी हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेशमन्त्री बनाएको विरोधमा तिजको दिनमा माइतीघर मण्डलाबाट मार्च गर्दै जिल्ला अदालतबाट सिंहदबार क्षेत्र प्रवेश गर्न खोजेका रुबी खानसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
देशसञ्चारका प्रधान सम्पादक युवराज घिमिरे पछिल्ला घटनाहरूले अभिव्यक्ति स्वतन्त्रतालाई जोखिममा पर्न सक्ने बताउँछन् । "कुनै पनि व्यक्तिले सार्वजनिक मञ्चमा आफ्नो भनाइ राख्न नपाउने भन्ने हुँदैन," घिमिरे भन्छन्, "जसरी राज्यले यी खालका कदम चालिरहेको छ, यो 'पोलिटिकल चार्ज' (राजनीतिक रुपमा प्रेरित) जस्तो देखिन्छ । यो राम्रो कुरा होइन । यसले अभिव्यक्ति स्वतन्त्रता जोखिममा पार्न सक्ने संकेत दिएको छ ।"
हाम्रो अनुगमनले मानबहादुर पक्राउको समाचार देशसञ्चार र नयाँ पत्रिकाबाहेक अन्य मिडियामा छापिएको देखिँदैन । उक्त समाचार छापिएपछि आफूहरूलाई मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालबाट फोन आएको घिमिरे बताउँछन् ।
"मानबहादुर पक्राउ परेको समाचार हाम्रा संवाददाताले प्रहरीसँग पुष्टि गरेर नै लेख्नुभएको हो । समाचार गलत भएको भए त प्रहरीले विज्ञप्ति निकाल्नु पर्ने हो", घिमिरेले मिडिया कुराकानीसँग भने, "काउन्सिलबाट फोन आउनुले सरकारी निकाय दलबाट निर्देशित छन् भन्ने स्पस्ट देखिन्छ । यो पत्रकार र पत्रकारिता पेशाका लागि खतराको विषय हो ।"
अधिवक्ता सिग्देल पनि विरोध गरेकै आधारमा पक्राउ गर्ने परिपाटीले सेन्सरसिपको अवस्था सिर्जना गर्ने खतरा देख्छन् । “यस्तो अवस्थाले खुला र सार्वजनिक बहसमा रोक लगाउँछ र लोकतन्त्रलाई नै हानी पुर्याउँछ”, उनी भन्छन्, “यो भनेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता अधिकारमाथिको गम्भीर आक्रमण हो ।”