काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् ।
प्रेस काउन्सिल नेपालले गरेको पछिल्लो विशेष अनुगमनबाट साम्प्रदायिक सद्भाव बिथोल्न र अफवाह फैलाउन परम्परागत समाचार सामग्रीभन्दा 'फेसबुक रिल' (Reels) को प्रयोग अत्यधिक रूपमा भएको पाइएको छ ।
छोटो समयमा धेरै दर्शक माझ पुगेर भाइरल (Viral) हुन सकिने र 'मनिटाइजेसन' (Monetization) मार्फत आर्थिक लाभ लिन पाइने भएकाले फेसबुक रिलको दुरुपयोग बढेको प्रतिवेदनले औँल्याएको छ ।
धार्मिक र साम्प्रदायिक सु-सम्बन्धमा खलल पुर्याउने, हिंसा र त्रास फैलाउने तथा उत्तेजना पैदा गर्ने यस्ता रिलहरूले समाजलाई थप अस्थिर बनाउने कार्य गरेको काउन्सिलको निष्कर्ष छ ।
अनुगमनका क्रममा केही सामाजिक सञ्जाल पेज सञ्चालकहरूले सामग्रीबाट आर्थिक लाभ भइरहेको तर्क गर्दै उत्तेजक सामग्री हटाउन अस्वीकार गरेका काउन्सिलले जनाएको छ ।
काउन्सिलले मानवीय संवेदनाभन्दा पैसालाई प्राथमिकता दिने यस्तो प्रवृत्ति पत्रकारिताको मूल मर्मविपरीत रहेको ठहर गरेको छ ।
प्रतिवेदन अनुसार आचारसंहिताविपरीत ठहर भएका कुल ९० सामग्रीको वर्गीकरण गर्दा रिलबाहेक फेसबुक पोस्ट तथा तस्बिर २० वटा, समाचार वेबसाइटका लिङ्क ४ वटा, युट्युबका भिडियो २ वटा र फेसबुक लाइभ भिडियो २ वटा रहेका छन् ।
काउन्सिलले बिबिसी नेपाली जस्ता स्थापित सञ्चार माध्यमका सामग्रीलाई समेत 'नोटिस' मा राखेर अनुगमन गरिरहेको प्रतिवेदनले देखाउँछ ।
प्रेस काउन्सिल नेपालले सुनसरी जिल्ला लगायत पूर्वी नेपालमा हालै घटेका संवेदनशील घटनाका विषयमा अफवाह फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गरी सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सोसल मिडिया एकाउन्ट/पेज माथि कडा निगरानी र कारबाही सुरु गरेको हो ।
२०७ वटा सामग्रीको स्वअनुगमन गरिएकोमा ९० वटा सामग्री आचारसंहिता प्रतिकूल देखिएका हुन् ।
यसअन्तर्गत ३४ वटा मिडियाका ५९ वटा र २ वटा दर्ता नभएका सामाजिक सञ्जाल एकाउन्टर/पेजका दुई वटा सामग्रीलाई तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिएकोमा ३१ वटा मिडिया र २ वटा दर्ता नभएका सोसल मिडिया पेजले निर्देशन पालना गरी सामग्री हटाएका छन् ।
पत्रकार आचारसंहिता विपरीतका सामग्री हटाउन अटेर गर्ने १८ वटा सोसल मिडिया पेज/एकाउन्टलाई भने कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ ।
काउन्सिलले मिडियाअन्तर्गत आबद्ध नभएका २० वटा सोसल मिडियामध्ये १८ वटा सामाजिक सञ्जालका २५ वटा गम्भीर प्रकृतिका सामग्री अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरेको हो ।
काउन्सिलले यस्ता सामग्री सम्प्रेषण गर्ने ३४ वटा मिडियालाई सचेत गराएको छ भने १८ वटा गैर-मिडिया पेजहरूलाई कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ ।
यसअघि साउन १२ गते नै काउन्सिलले विज्ञप्ति जारी गरी अपुष्ट सूचना, अफवाह र घृणात्मक अभिव्यक्ति सम्प्रेषण नगर्न आग्रह गरेको थियो ।
साउन १३ गतेको अनुगमनमा १५ मिडियालाई सामग्री हटाउन निर्देशन दिइएकोमा ७ वटाले तत्काल पालना गरेका थिए भने बाँकी ७ मिडियालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको थियो ।
मौखिक निर्देशन पालना नगर्ने ६ वटा सामाजिक सञ्जाललाई सोही दिन साइबर ब्युरो पठाइएको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले जारी गरेका विज्ञप्तिमा समाचार, तस्बिर वा भिडियो सम्प्रेषण गर्दा तथ्य र मानवीय संवेदनशीलतालाई ध्यान दिन आग्रह गरिएको छ ।
साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने सामग्री हटाउन र समाजलाई थप अस्थिर बनाउने कार्यमा सहयोग नगर्न काउन्सिलले अनुरोध गर्दै कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न पुनः ध्यानाकर्षण गराएको छ ।