सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ?
हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो पर्छ होला ? एकछिन विचार गर्नुस् त !
आज हामी तपाईँलाई अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२५ को वार्षिक शब्दका रूपमा घोषणा गरेको शब्द "रेज बेट" को बारेमा बताउँदै छौँ ।
सेप्टेम्बर ८ को घटनालाई उदाहरण लिउँ । कन्टेन्ट क्रियटर टंक दाहालले संसद भवनमा केही युवालाई बन्दी बनाइएको अपुष्ट सूचना आफ्नो सोसल मिडियामा पोस्ट गरे । यो सामग्री केही बेरमै भाइरल भयो ।
जेन जी आन्दोलनमा सरकारले गरेको दमनले पहिलेदेखि नै रुष्ट युवा यो खबरले झन् आक्रोषित बने ।
यो ‘रेज बेट’ को एउटा उदाहरण हो । अपुष्ट, भ्रामक र सनसनीपूर्ण सूचनाले पाठकलाई उत्तेजित र आक्रोषित बनाउँछ ।
अक्सफर्ड युनिभर्सिटी प्रेसका अनुसार, समाजमा आक्रोश फैलाउने उद्देश्यका साथ तयार पारिएका उत्तेजक, निराशाजनक र आपत्तिजनक अनलाइन सामाग्रीहरू रेज बेट हुन् ।
यसको मुख्य उद्देश्य के हो भने - सामाजिक सञ्जाल र वेबसाइटमा अन्तरक्रिया बढाउने। जति धेरै आक्रोश, त्यति धेरै क्लिक। जति धेरै क्लिक, त्यति धेरै भ्युज ।
DW का अनुसार, रेज बेट शब्द पहिलो पटक सन् २००२ मा युजनेट नामक ग्लोबल डिस्कसन फोरममा डकुमेन्ट गरिएको थियो । त्यतिबेला यो शब्दको प्रयोग एकजना सवारी चालकले जानीजानी अर्को चालकलाई उत्तेजित पार्ने कामलाई देखाउन भएको थियो ।
तर डिजिटल युगमा भने ‘रेज बेट’ इन्टरनेट स्ल्याङ बनिसकेको छ ।
Rage bait दुईवटा शब्द मिलेर बनेको छ । Rage को अर्थ 'अनियन्त्रित आक्रोश वा रिस' हुन्छ भने bait को अर्थ 'कसैलाई लोभ्याउन राखिएको खानेकुरा' भन्ने हुन्छ । (use words)
Rage र bait दुबै शब्द अंग्रेजी भाषामा लामोसमय देखि प्रयोगमा छन् । यसरी यी दुई शब्द मिलेर नयाँ अर्थ बोकेको rage bait बनेको हो ।
अक्सफर्ड युनिभर्सिटि प्रेसले सन् २०२५ को वार्षिक शब्दको रूपमा रेज बेटलाई भोटिङका आधारमा छनोट गरेको हो ।
अरु दुई पदावली ‘औरा फार्मिङ’ र ‘बायो ह्याक’ सँगको प्रतिस्पर्धामा ३० हजार भन्दा बढी मत सहित ‘रेज बेट’ विजयी भयो ।
औरा फार्मिङले अनलाइन माध्यममा प्रभावशाली व्यक्तित्व चित्रण गरिने प्रक्रियालाई बुझाउँछ भने बायो ह्याक शब्दले डिजिटल प्रविधिका माध्यमबाट स्वास्थ्य अनुकूलन गर्ने अभ्यासलाई जनाउँछ ।
अब आउनुहोस् रेज बेटले हामीलाई अनि हाम्रो समाजलाई कस्तो असर पार्छ भन्ने बुझौँ ।
पहिलो - यसले अनलाइन माध्यमलाई झनै विषाक्त बनाउँछ।
दोस्रो - अनलाइन माध्यमको विश्वसनीयता घटाउँछ।
तेस्रो - विचारलाई ध्रुवीकरण गर्छ । नकरात्मकता फैलाउँछ।
चौथो - यस्ता खबरले निराशावादी भावना पैदा गरी पाठकको मानसिक स्वास्थ्यमा समेत नकरात्मक प्रभाव पार्छ।
पाँचौं - रेज बेटले मिथ्या सूचना प्रवाह गर्नुका साथै उत्पादनशील सामाजिक विमर्श पनि घटाउँछ।
अन्तमा - यसले लोकतन्त्र र नागरिक संलग्नताको जगलाई पनि कमजोर पार्छ।
रेज बेटलाई वार्षिक शब्दको रूपमा छनोट हुनुको अर्थ यो शब्द लोकप्रिय छ भन्ने मात्र होइन । यसले हामी बाँचिरहेको डिजिटल युगको विषाक्त वातावरणबारे हामीलाई सचेत पनि गराउँछ ।
अबदेखि कुनै सनसनीपूर्ण खबर देख्नुभयो भने एकछिन रोकिनुहोस् । सोच्नुहोस् - कतै यो ‘रेज बेट’ त हैन ?