सरकारले चर्चित भिडियो प्लर्टफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ । कात्तिक तेस्रो साता टिकटकमा पोस्ट हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन भन्दै उक्त प्लेटफर्मका अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गरेको सरकारले हठात् टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको समाचारहरूमा जनाइएको छ । 'टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मालाई अनलाइनखबरले उद्धृत गरेको छ, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले बन्द गर्ने निर्णय गरेको शर्माको भनाइ छ । ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, सेतोपाटीले मन्त्री शर्मालाई उद्धृत गरेको छ ।
'टिकटक आजै बन्द गर्ने निर्णय भएको छ। प्राविधिकरुपमा आजैबाट बन्द गर्न साथीहरू खटिरहनुभएको छ', अन्नपूर्ण पोस्टले मन्त्री शर्मालाई उद्धृत गरेको छ ।
कात्तिक १९ गते टिकटकका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा भएको बैठकमा गृहसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधि सहभागी थिए । यो पनि पढ्नुस्ः टिकटकका भिडियोमा सरकारी निगरानी
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी टिकटक दुरुपयोग गरेर हालिने सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको जनाएको थियो ।
काठमाडौं विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक डा. सुधांशु दाहाल टिकटक बन्द गर्ने सरकारी निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भन्छन् । "प्लेटफर्ममाथि नियमन गर्नुपर्छ तर नियन्त्रण गर्नु भनेको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हनन हो", दाहालले मिडिया कुराकानीसँग भने, "मानिसहरूले हेर्ने/पढ्ने वा त्यसमा पोस्ट गर्ने सामग्रीमा समस्या छ भने सचेतना र शिक्षा बढाउने हो तर प्रयोगबाटै बञ्चित गर्नु प्रत्यूत्पादक हुन्छ ।"
दाहाल टिकटकमा रहेका समस्या इन्टरनेटका सबैजसो प्लेटफर्ममा रहेकाले बिना सोचविचार सरकारले लज्जास्पद निर्णय गरेको बताए । "टिकटकले घरेलु तथा साना उद्यमीहरूलाई आफ्ना उत्पादन र सीप बजारसम्म पुर्याउनसजिलो भएको छ, अर्थतन्त्रमा पनि यसको योगदान छ", उनले भने, "सरकारले जे गर्यो, यो लहडमा गरेको छ । नेताहरूले गाली खाए भनेर प्लेटफर्म बन्द गरिएको हो भने गाली नखानेगरी काम गर्नुपर्यो, प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु गम्भीर विषय हो ।"
यसैबीच, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले पनि सरकारी निर्णय गलत भएकोले सच्याउनुपर्ने बताएका छन् ।
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
— Gagan Thapa (@thapagk) November 13, 2023
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको…