विश्वसनीयतामा प्रश्न उठेपछि त्यसको जवाफ वा प्रष्टीकरण दिने, भूलसुधार गर्ने वा माफी माग्ने विकल्प छोडेर प्लेटफर्म नै बन्द
विशेषतः युवामाझ लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अनिश्चितकालका लागि बन्द भएको छ । नेपालमा अनेक नाममा भइरहने हड्ताल तथा ‘बन्द’ को अपडेट दिन २०६८ सालमा सुरू भएको पेज अहिले आफैँ बन्द भएको हो । पेजका एडमिन भिक्टर पौडेलले पेज अनपब्लिस गरेका छन् ।
नेपालमा भइरहने बन्द हड्तालको जानकारी तथा त्यतिबेला भइरहने 'लोडसेडिङ' को तालिका दिँदै लोकप्रिय बनेको उक्त प्लेटफर्म अहिलेलाई बन्द छ ।
‘अब धेरै एट्याक (आक्रमण) गर्न पर्दैन, नाऊ आई एम फ्रि (अब म स्वतन्त्र भएँ)' पेज अनपब्लिस गरेपछि उनले लेखे । अहिले फेसबुकमा सोही नाम गरेको प्रशस्त ‘फेक’ पेजहरू भेटिएपनि ‘रुटिन अफ नेपाल बन्द’ भने भेटिँदैन ।
आलोचक र प्रशंसकहरू दुबैबाट ‘रुटिने’ नाम पाएको उक्त पेज फेरि सक्रिय हुन्छ वा सधैँका लागि बन्द भएको हो प्रष्ट छैन ।
४० लाखजति ‘फलोअर्स’ रहेको छोटकरीमा ‘आरओएनबी’ भनिने यो प्लेटफर्मका फेसबुक पेजमात्र होइन, इन्स्टाग्राम, ट्वीटर समेत एक्कासी बन्द भएपछि सोसल मिडियामा एसिया कपमा नेपाल र भारतको खेल भन्दा बढी त्यसैको चर्चा चर्चा देखियो ।
बालेन अभिव्यक्तिको आलोचना ढाकछोप गर्ने प्रयत्न
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेको आपत्तिजनक अभिव्यक्ति पश्चात भएको आलोचनालाई ढाकछोप गर्न तथा उनको पक्षमा महौल बनाउन रुटिन अफ नेपाल बन्दले आफ्नो प्लेटफर्मलाई प्रयोग गरेपछि चर्को आलोचना भयो । मेयर बालेन्द्रलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतलाई उद्धृत गर्दै नेपालप्रेसले लेखेको छ ।
विश्वसनीयतामा प्रश्न उठेपछि त्यसको जवाफ दिने, खण्डन गर्ने, प्रष्टीकरण दिने वा आत्मालोचना गर्ने, भूलसुधार वा माफी माग्ने विकल्प छोडेर फेसबुक पेज, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा रहेका अकाउन्ट बन्द गर्ने बाटो ‘रुटिने’ ले रोजेको छ ।
रुटिन अफ नेपाल बन्द कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीका रुपमा र सूचना तथा प्रसारण विभागमा मिडियाका रुपमा दर्ता थियो । तर यसले पत्रकारिताको प्रक्रियाबाट गुज्रँदै सत्यापन (भेरिफिकेसन) गरेर समाचार सामग्री प्रकाशित गर्ने भन्दा पनि सार्वजनिक चासो तथा सरोकारका विषयहरूमा अन्य मिडियाका सामग्री तानतुन पारेर राख्ने गर्थ्यो । फलस्वरुप, सामान्य फेसबुक पेज मात्र भए पनि यसले मिडियाकै दर्जा र विश्वसनीयता पनि आर्जन गर्दै गयो । सोसल मिडियामा आधारित यो प्लेटफर्मको उदय र लोकप्रियता मूलधारका मिडियामा पनि खबर बनेका छन् ।
“विवादमा पर्ने, कसैको मानहानि हुने र मूलधारको सञ्चारमाध्यमले जस्तो घटना नभई अनुमानको भरमा या स्रोतको आधारमा भनेर समाचार हाल्दैनौं”, यसका सञ्चालक भिक्टरले हिमालखबरसँग भनेका थिए, “त्यसैले गलत सूचना जाने जोखिम कम छ ।“
बालेनलाई पुत्रीलाभको ‘ब्रेकिङ’

माइसन्सारको स्क्रिनसट
सिंहदरबार जलाउँछु भनेर मेयर बालेनले आपत्तिजनक अभिव्यक्ति दिएको भोलिपल्ट अर्थात् भदौ १७ गते आइतबार रुटिन अफ नेपाल बन्दले मेयर बालेन र उनकी पत्नी सबिना काफ्लेलाई पुत्री लाभ भएको सूचना ‘ब्रेक’ गर्यो ।
त्यसपछि मिडियाहरूले पनि त्यसैलाई पछ्याए । रुटिन अफ नेपाल बन्दले ‘बालेन र पत्नी सबिनालाई पुत्रीलाभ भएको’ भन्दै शुभकामना पोस्ट गरेपछि मूलधारका अनलाइन मिडियाहरू थप विवरण खोजी वा पुष्टि गर्नुपर्ने ‘झन्झट’ गरेनन् । उता, आरओएनबीले मेयर दम्पत्तिलाई 'केही दिनअघि' पुत्री लाभ भएको भनेर पोस्टमा थप्यो । यता, मेयर दम्पत्तीका दुई छोरी भदौ ८ गते जन्मिएको पत्तो लागेपछि मिडियाहरूले सुटुक्क समाचार सच्याउने तथा डिलिट गर्न थाले ।
मिडियाहरूसँगै आरोएनबीको पनि आलोचना भयो । यता मेयर बालेनले पनि सिंहदरबार जलाउँछु भन्दै फेसबुकमा दिएको अभिव्यक्ति सुटुक्क डिलिट गरे ।
बालेनको ‘ड्यामेज कन्ट्रोल’ गर्दा आफैँलाई ‘ड्यामेज’
अघिल्लो दिन सिंहदरबार जलाउँछु भन्दै मेयर बालेनले गरेको आपत्तिजनक पोस्टले सोसल मिडियामा प्रशस्त ‘इन्गेज्मेन्ट’ बटुले पनि त्यति नै आलोचित भयो । तर भोलिपल्ट बिहान छोरी जन्मिएको खबर रुटिन अफ नेपाल बन्दमार्फत् सार्वजनिक भएपछि त्यसलाई धेरैले उत्तेजक अभिव्यक्तिका कारण भएको ‘ड्यामेज कन्ट्रोल’ गर्न र बालेनको बचाउ गर्न भएको भन्दै आलोचना पनि भयो ।
मेयर बालेन र आरओएनबीका सञ्चालक भिक्टरबीच अन्तरङ्ग सम्बन्धको चर्चा पनि बेलाबखत खबर बनेका छन् । बालेनको चुनावी प्रचारप्रसारका क्रममा भिक्टरले आरओएनबीबाट खुलेरै समर्थन गरेका थिए । चुनाव जितिसकेपछि पनि उनी भिक्टर स्वामित्वको पब्जी टिम ‘डीआरएस’ सहित नेपालको ‘टीटूके’ पब्जीको विश्व च्याम्पियनसिपको फाइनल खेलमा ‘हौसला दिन’ इन्डोनेसियासम्म पुगेका थिए ।
ई–स्पोर्टस्का नाममा एक करोड रुपैयाँ बजेट छुट्याएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन विवादमा तानिएका थिए । मेयर निर्वाचित भएपछि बालेनले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको ‘खेलकुद सम्बन्धी नीति’ को अन्तिम बुँदामा ‘ई–स्पोर्टस् प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिने’ उल्लेख गरेका थिए ।
कांग्रेस नेतृ आरजु राणा देउवाले ठूलो फलोअर भएको ‘रुटिन अफ नेपाल बन्द’ लाई आफ्नो पक्षमा परिचालन गर्न बालेन सफल भएको दाबी गरेकी थिइन् । ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ?’, राणाले कांग्रेस कार्यकर्ताहरूलाई राजनीति सिकाउँदै पोहोर साल सोधेकी थिइन् ।
प्रशंसनीय कार्यहरू
आरओएनबीले प्रशंसायोग्य कामहरू पनि धेरै गरेको छ । यसमा सूचनाहरू पोस्ट भएका कारण कतिपय हराएका मानिसहरू भेटिएका छन्, परिवार वा आफ्न्तको सम्पर्कमा पुगेका छन् । आर्थिक अभावका कारण उपचार नपाएकाहरूले उपचार पनि पाएका छन् ।
पासपोर्ट, नागरिकता वा अन्य महत्त्वपूर्ण कागजातहरू भेटिएका छन् । यी र यस्तै सकारात्मक कार्यहरूले गर्दा आम मानिसहरूको मन जित्न सफल आरओएनबीले जब उसमाथि मानिसहरूले यसो के खबरदारी के गरेका थिए, सञ्चालकले पेजहरू नै बन्द गरिदिए ।
पाठकको भावनामाथि खेलबाड ?
नेपालका मिडियाहरूका समाचार कभरेज तथा प्रस्तुतिकरणका विषयमा सोसल मिडियासहित सबैखालका सार्वजनिक वृत्तमा आलोचना भइरहन्छ । नियतलाई छोड्ने हो भने, पत्रकारिता तथा मिडियाका सामग्रीहरूमा गल्ती स्वभाविक हो । मिडियाहरूले भूलसुधार तथा माफी माग्ने गरिरहन्छन् । तर आरओएनबीका सञ्चालकले त्यसो गरेनन् । गल्ती सच्याउँदै प्लेटफर्मलाई थप विश्वसनीय बनाउने भन्दा पनि लाखौँ फलोअर्स भएको पेज हठात् बन्द गरिदिए ।
कतिपयले पेज पुनः पब्लिस गर्न अनुरोध पनि गरेका छन् । चर्चित र्यापर मिस्टर डिले रुटिन अफ नेपाल बन्द एउटा पेज मात्र नभएर मानिसहरूलाई ज्ञान दिने स्रोत पनि भएकाले पेज फिर्ता गर्न अनुरोध गरेका छन् । “यो हामीजस्ता युवाहरूको विश्वास पनि हो”, उनले भनेका छन् । एक समयको चर्चित फेसबुक ग्रुप मेन्स रूम रिलडेडले ‘आरओएनबी युवाहरूको इमोसन हो’ भन्दै आफ्नो निर्णय पुनः विचार गर्न सञ्चालक भिक्टरलाई आग्रह गरेको छ ।
“पेजलाई लिएर ठूलो महत्त्वाकांक्षा राखेको छैन। पेज चलाएर मलाई कतै पुग्नु पनि छैन,” पौडेलले हिमालखबरसँग भनेका थिए, “यो पेज सधैंभरि डिजिटल नोटिस बोर्डका रूपमा नै रहन्छ।”
लहड नै सही, कुनैबेला रुटिन अफ नेपाल बन्द डिजिटल नोटिस बोर्डका रूपमा सधैंभर रहिरहने बताएका भिक्टरले उक्त पेज पुनः प्रकाशित गर्छन् वा गर्दैनन् यो उनैलाई थाहा होला । तर लहडवश चालेको कदमले सोसल मिडियाका चर्चित पेजहरूको जवाफदेहितामाथि प्रश्न उठेको छ ।