अमेरिकाको प्रतिष्ठित ‘वाशिङ्टन पोस्ट’ को सम्पादकीय नेतृत्वमा पहिलोपटक महिला पुगेकी छन् । यही जुन १ देखि स्याली बज्बीले पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी हुन् ।
यद्यपि पोस्टको कार्यकारी सम्पादकमा बज्बी नियुक्त भएको खबर गत महिनामै सार्वजनिक भइसकेको थियो ।
समाजका हरेक अवयवमा जस्तै पत्रकारितामा पनि महिला प्रतिनिधित्वको विषय विश्वभर जोडतोडले उठिरहेका बेला अमेरिकाको १४४ वर्ष पुरानो दैनिक पत्रिकाको सम्पादकीय नेतृत्व महिलाको हातमा पुगेको हो ।
आउनुस् जानौँ, वाशिङ्टन पोस्टकी नवनियुक्त कार्यकारी सम्पादक स्याली बज्बी को हुन् ।
वाशिङ्टन पोस्टमा सन् २०१३ देखि सम्पादक रहेका मार्टी ब्यारोन गत फेब्रुअरी मसान्तदेखि सेवानिवृत्त हुने भएपछि पोस्टको व्यवस्थापन नयाँ सम्पादकको खोजीमा लागेको थियो । यसका लागि कयौँ आन्तरिक छलफलहरू भएका थिए । तर अचम्मको कुरा के भने आन्तरिक छलफलहरूमा बज्बीको नाम कमै मात्र आउँथ्यो ।
पोस्टको नयाँ सम्पादकको खोजीलाई नजिकबाट नियालेकाहरू पनि बज्बीलाई छान्ने व्यवस्थापनको निर्णयबाट चकित भएको वाशिङ्टन पोस्टकै खबरमा उल्लेख छ । समग्र मिडिया उद्योग र पोस्टभित्रै पनि सम्पादक पदका लागि एकसे एक उम्मेदवारहरू थिए ।
बज्बी नै किन ?
२२ वर्ष पोस्टमा बिताएका केभिन मेरिडा सन् २०१५ मा ईएसपीएन जानुअघि पोस्टमा समाचार तथा फिचरका प्रबन्ध सम्पादक थिए । गत सातामात्र 'लस एन्जेलस टाइम्स' मा सम्पादकको जिम्मेवारी सम्हालेका उनी व्यवस्थापनको नजरमा थिए ।
पोस्टभित्रकै पत्रकार पनि यो पदका लागि बलियो दाबेदार थिए । मेरिडापछि सन् २०१५ मा प्रबन्ध सम्पादक नियुक्त क्यामेरन बार पनि कार्यकारी सम्पादकको उम्मेदवार मानिएका थिए । ब्यारोन कार्यकारी सम्पादकबाट निवृत्त भएपछि उनैले अन्तरिम कार्यकारी सम्पादक भएर पोस्टलाई नेतृत्त्व गरेका थिए ।
यस्तै पोस्टका नेसनल इडिटर स्टेभिन गिन्सबर्ग जो मुलतः ह्वाइट हाउसको कभरेजलाई सम्पादकीय नेतृत्व गर्दथे, उनलाई पनि कार्यकारी सम्पादकको उम्मेदवारका रुपमा हेरिन्थ्यो । तर पोस्टको व्यवस्थापनले यी तीनैजनालाई पन्छाएर कार्यकारी सम्पादक पदमा बज्बीलाई ने किन रोज्यो ? बितेका ३३ वर्ष बज्बीले जे गरिन्, त्यो कर्म नै यो प्रश्नको जवाफ हो ।
५५ वर्षीय बज्बी वाशिङ्टन पोस्टमा कार्यकारी सम्पादक नियुक्त हुनुअघि अमेरिकाको समाचार संस्था एसोसिएटेड प्रेस (एपी) की कार्यकारी सम्पादक तथा वरिष्ठ उपाध्यक्ष थिइन् । नयाँ जिम्मेवारीसँगै उनले अब करिब एक हजार जना कार्यरत समाचार कक्षको नेतृत्व गर्नेछिन् । सन् २०१७ देखि एपीको समाचार कक्षको नेतृत्व सम्हालेकी बज्बीको पत्रकारिता करिअर सन् १९८८ मा एपीबाटै सुरु भएको थियो ।
अमेरिकाको न्यु योर्कमा मुख्यालय रहेको प्रतिष्ठित समाचार संस्था एपी विश्वकै ठूला समाचार संस्था मध्ये गनिन्छ । विश्वका २५० स्थानबाट समाचार उत्पादन र वितरण हुने एपीमा २८ सय भन्दा बढी पत्रकार कार्यरत छन् । विश्वका १५ हजार भन्दा बढी सञ्चारमाध्यमहरू एपीका ग्राहक छन् ।
पोस्टले बज्बीलाई कार्यकारी सम्पादकमा छान्नुको मुख्य कारण एपी समाचार संस्थामा रहेर उनले समाचार रिपोर्टिङ तथा उत्पादनमा हासिल गरेको अन्तर्राष्ट्रिय अनुभव हो । उनको यो अनुभवका कारण पोस्टको सञ्चालन अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अपेक्षा राखेको प्रकाशक फ्रेड रायनले बताएका छन् ।
पोस्टले बेलायतको लन्डन र दक्षिण कोरियाको सियोलमा समाचार कक्ष स्थापना गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । अस्ट्रेलियाको सिड्नी, कोलम्बियाको बोगोटामा पनि ब्युरो स्थापना गर्ने उसको योजना छ । यो सँगै अमेरिका बाहिर पोस्टका ब्युरोको संख्या २६ पुग्नेछ ।
बज्बीले सन् २०१० देखि २०१६ सम्म एपीको वाशिङ्टन ब्युरो प्रमुख थिइन् भने २०१२ र २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनहरूको कभरेजको नेतृत्व पनि गरेकी थिइन् ।
सन् १९९० को दशकमा एपीका विभिन्न ब्युरोमा उपप्रमुख रहेर उनले अन्तर्राष्ट्रिय मामिला, राष्ट्रिय सुरक्षा लगायतका विषयमा रिपोर्टिङ गरेकी थिइन् ।
“पोस्टसँग पत्रकारिताको यति विशाल विरासत छ र यति ठूलो संख्यामा पत्रकारहरू छन्”, उनले नियुक्ति लगत्तैको एक अन्तर्वार्तामा भनेकी छन्, “यो नवप्रवर्तनको समयमा यो समाचार संस्थामा काम थाल्न पाउँदा म उत्साही छु ।”
कर्पोरेट दुनियाको चर्चित नाम अमेजन र यसका मालिक जेफ बेजोस वाशिङ्टन पोस्टका पनि मालिक हुन् । अमेजनका समेत मालिक रहेका बेजोसले सन् २०१३ मा ग्राहम परिवारबाट २५० मिलियन अमेरिकी डलरमा वाशिङ्टन पोस्ट किनेका थिए ।
बेजोसले पोस्ट किनेपछि नियुक्त भएकी पहिलो कार्यकारी सम्पादक बज्बीले कस्तो पत्रकारिता गर्लिन् ? अनुमान गरिहाल्न सजिलो छैन ।
तर कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेको भोलिपल्ट पोस्टको प्रथम पृष्ठमा अमेजनका गोदामघरहरूमा कसरी मजदुरहरू घाइते हुन्छन् भनेर गज्जब स्टोरी आएको छ । व्यावसायिकताको मामिलामा उनीहरू तुलनात्मक रुपमा हामीकहाँजस्तो साहुकारितामा छैनन् भन्न सकिन्छ ।
Front page of today’s @washingtonpost print edish. Just in case you think we go easy on the owner’s other business. pic.twitter.com/xg6ctDSP6i
— Paul Farhi (@farhip) June 2, 2021
युनिभर्सिटी अफ क्यानससबाट सन् १९८८ मा ग्राजुएट गरेपछि क्यानससमै एपी सम्वाददाताको रुपमा बज्बीले काम सुरु गरेकी थिइन् । सन् १९९६ मा निमित्त ब्युरो चिफका रुपमा सम्पादन विभागमा उनको बढुवा भयो ।
सन् २००४ मा उनले एपीको मध्यपूर्व क्षेत्रीय सम्पादकका रुपमा कायरोमा रहेर काम गरिन् र इराक युद्धको कभरेजलाई नेतृत्व गरिन् । उनले जर्जटाउन युनिभर्सिटीबाट उनले एमबीए पनि गरेकी छन् ।
सम्पादकीय नेतृत्वमा महिला
यसअघि पनि कयौँ महिलाहरूले पोस्टमा प्रबन्ध सम्पादकका रुपमा काम नगरेका होइनन् । तर प्रबन्ध सम्पादक दोस्रो तहको पद थियो । १८७७ मा पत्रिका स्थापना भएयता महिलाहरूलाई माथिल्लो पदमा नियुक्त गरिएको थिएन ।
बज्बीले लामो इतिहास बोकेको संस्थाको पहिलो महिला सम्पादक हुन पाउनु सम्मानको विषय भएको प्रतिक्रिया दिएकी छन् । “मैले आफ्नो करिअर र जीवनमा सदैव सचेत छु कि मेरो यो सफलताका लागि अरु धेरैको ठूलो योगदान छ”, उनले भनेकी छन्, “यसका लागि म आभारी छु । म केमा पनि सचेत छु भने हामी विविधताको विषयमा चुप बस्न सक्दैनौँ । मेरो भावना के छ भने हामीले आज जतिसुकै प्रगति गरेको भए पनि यो कहिल्यै पनि पर्याप्त थिएन ।”
बज्बीको सम्पादकीय नेतृत्वमा पोस्टमा के परिवर्तन हुन्छन् होला त ? सहकर्मीहरूसँग सल्लाह गरी गहन तथा तथ्यगत पत्रकारितामा जोड दिने तथा सबै खालका आवाजलाई स्थान दिने समाचार कक्ष बनाउन आफूले ध्यान दिने नियुक्ति लगत्तै भएको भिडियो कन्फरेन्समा उनले उल्लेख गरेकी छन् ।
बज्बीका चुनौती
बज्बीको मुख्य चुनौती भनेको डिजिटल ग्राहक वृद्धिका लागि मुख्य प्रतिस्पर्धी न्यु योर्क टाइम्स लगायतसँगको प्रतिस्पर्धामा अब्बल हुने नै हो ।
अहिले पोस्टका ३ मिलियन डिजिटल ग्राहक छन् । सन् २०१६ यता यो ग्राहक संख्या तेब्बरले बढेको हो । तर अहिले पनि यो मुख्य प्रतिस्पर्धी न्यु योर्क टाइम्स भन्दा पछाडि नै छ । किनभने टाइम्सका ७.५ मिलियन डिजिटल ग्राहक छन् ।
अमेरिकी पत्रकारिताको उच्च पदमा पुगेकी बज्बीको तुलना पक्कै पनि यसअघिका सम्पादकहरूको नेतृत्वकालमा भएका उपलब्धिहरूसँग हुनेछ । ब्यारोनको कार्यकालमा पोस्टले १० वटा पुलित्जर पुरस्कार जितेको छ । तर ब्यारोनमाथि समाचार कक्षमा उत्पन्न आन्तरिक मतभेदहरू सुल्झाउन नसकेको आरोप पनि लाग्ने गरेको थियो । खासगरी समाचार कक्षभित्र उठ्ने रङ्ग (वर्ण) र विविधताका मुद्दालाई सम्बोधन गर्न उनले कौशल देखाउन सकेका थिएनन् ।
कार्यकारी सम्पादकका रुपमा बज्बीको कार्यकालमा एपीका सम्वाददाताहरूले यमन युद्धको कभरेजका लागि अन्तर्राष्ट्रिय रिपोर्टिङका लागि पुलित्जर पुरस्कार जितेका थिए । त्यही वर्ष ट्रम्प प्रशासनले आप्रवासीहरूको परिवारलाई छिन्नभिन्न गर्ने गरी ल्याएको नीतिमाथि गरेको रिपोर्टिङ पुलित्जर पुरस्कारको अन्तिम सूचिमा परेको थियो । यी जस्तै उपलब्धिहरूको अपेक्षा बज्बीबाट पक्कै गरिनेछ । हादसम्मको तथ्याङ्क हेर्ने हो भने पोस्टले ६९ पुलित्जर जितेको छ भने उसको मुख्य प्रतिस्पर्धी टाइम्सले १३० पुलित्जर जितेको छ ।
पोस्टका ग्राहकहरूलाई कार्यकारी सम्पादकमा बज्बीको आगमनको जानकारी दिँदै प्रकाशक फ्रेड रायनले पत्र लेखेका छन् ।
वाशिङ्गटन पोस्टमा हिजोबाट स्याली बज्बी (कार्यकारी) सम्पादक, प्रतिष्ठित पोस्टको समाचारकक्ष नेतृत्व गर्ने पहिलो महिला। पोस्टका ग्राहकहरूलाई बज्बीको आगमन र परिचय दिंदै प्रकाशक फ्रेड रायनले एक पेजको पत्र लेखेछन्। नियुक्तिको समाचार पहिल्यै आइसकेको छ ।https://t.co/Cw4lPjgU7G pic.twitter.com/RHtKtptjuA
— Dinesh Wagle (@wagle) June 2, 2021
बज्बीका दुई छोरी छन्- इमा (२१) र मार्गरेट (२०) । अमेरिकाको स्टेट डिपार्टमेन्टमा कार्यरत उनका श्रीमान् जोन बज्बीको भने सन् २०१६ मै निधन भइसकेको छ ।