खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

खोजी रिपोर्टिङका लागि पत्रकारहरूबीच सहकार्यका सम्भावनाबारे बोल्दै दिलरुक्षी । तस्बिर सौजन्यः NIMJN
  • माघ १, २०८० सोमबार २३:५४

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर) की सह-संस्थापक हुन् । उनी पर्यावरणीय संरक्षणमा केन्द्रित गैरनाफामुलक डिजिटल प्लेटफर्म मोंगाबेका लागि श्रीलङ्का सम्पादक पनि छन् । 

खोजी पत्रकारिताका लागि विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित दिलरुक्षीले सोमबार काठमाडौंमा भएको कार्यक्रममा खोजी रिपोर्टिङका लागि पत्रकारहरूले गर्न सक्ने सहकार्यका सम्भावनाबारे बोलिन् । 

खोज पत्रकारहरूलाई तालिम तथा मेन्टरसिप प्रदान गर्दै आएको नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) को निम्तोमा काठमाडौं आएकी उनले खोजी रिपोर्टिङमा सहकार्यका सम्भावनाहरूमाथि भएको अन्तर्क्रियामा नेपालका पत्रकारहरूसँग आफ्ना अनुभव साटिन् ।  

१० वर्षको उमेरदेखि नै पत्रपत्रिकामा कविता र कथाहरू छाप्न थालेकी दिलरुक्षीले १३ वर्षको उमेरमा आख्यान वा काल्पनिक कथा र मान्छेका बास्तविक व्यथामा भिन्नता भेट्टाएको बताइन् । "मैले लेखेका कथा र कविताहरू पत्रिकामा त छापिन्थे । तर मान्छेका व्यथाहरू मैले रचेका कथा भन्दा विल्कुल पीडादायी र फरक हुन्थे," उनले आफू पत्रकारितातर्फ आकर्षित हुनुको कारण खोलिन्, "तर ती व्यथा सुनाउने कुनै ठाउँ थिएनन् ।"

भुइँमान्छेको कथा भन्ने रहरका कारण १८ वर्षकै उमेरमा उनी समाचार कक्ष पुगिन् । समाचार कक्षको यथार्थ अर्कै थियो । "समाचार कक्षहरू मैले सोचेको जस्तो सजिला पक्कै थिएनन्,” उनी सम्झन्छिन् , "झन् महिलाहरूका लागि निकै अप्ठ्यारो थियो ।" श्रीलंकामा आज पनि दिलरुक्षीसहित १० जना मात्रै महिला सम्पादक छन् ।

समाचार कक्षको यथार्थसँग जुध्दै पत्रकारितामार्फत नै आम मानिसको पक्षमा वकालत गर्ने अठोट उनले गरिन् ।

पर्यावरणसँग सम्बन्धित विषयहरूले उनलाई सबैभन्दा बढी आकर्षित गर्‍यो । पर्यावरणसहित उनले लेखनको दायरा फराकिलो बनाइन् । "विशेषगरी मैले राज्यमा हुने ठूला-ठूला घोटाला र भ्रष्टाचारको विरुद्दमा लेख्न सुरु गरेँ," उनले भनिन् ।   

NIMJN Program Collaboration in Investigative Journalism.jpegसरकारी संयन्त्रमा हुने अनियमितता विरुद्ध लेख्नु बोल्नु सजिलो थिएन/छैन । सम्वेदनशील विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूमाथि कैयन् सुरक्षा चुनौतीहरू पनि छन् । "म त झन् महिला । धेरै धम्कीहरू आए, अप्ठ्यारा परिस्थितिहरू आए तर मैले रिपोर्टिङ गर्न छाडिनँ”, कार्यक्रम सकिएपछि मिडिया कुराकानीसँगको सम्वादमा उनले सुनाइन् ।  

पत्रकारिताप्रतिको प्यासनले उनलाई कैयौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू र पत्रकारहरूसँग सहकार्य गर्ने अवसर पनि मिल्यो । अलजजिरा, द गार्डियन, न्युयोर्क टाइम्स जस्ता प्रसिद्ध अन्तर्राष्ट्रिय मिडियामा आवद्ध भएर काम गरिन् ।

रिपोर्टिङ कै कारण उनले २०२२ मा अमेरिकाको हवाईस्थित इस्ट वेस्ट सेन्टरद्वारा प्रदान गरिएको अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइन् । 

दिलरुक्षी सहसंस्थापक रहेको श्रीलंकास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर) ले श्रीलङ्का र अन्य मुलुकका पत्रकारहरूलाई खोजी रिपोर्टिङका लागि फेलोसिप लगायतका सहायता प्रदान गर्छ ।

अनुसन्धानलाई बलियो बनाउन चाहिन्छ सहकार्य

दिलरुक्षी खोजी रिपोर्टिङलाई सहकार्यको परिणाम ठान्छिन् । सहकार्य सहितको रिपोर्टिङले अनुसन्धानलाई थप बलियो बनाउने उनको अनुभव छ । विश्वभरका धनाढ्यहरूको मुटु हल्लाउने ‘पानामा पेपर’ अनुसन्धानमा उनले सहकार्यको अवसर पाएकी थिइन् । 

''पानामा पेपर एउटा सहकार्य सहितको रिपोर्टिङ हो जसमा विश्वभर लुकाइएको कालो धन र आर्थिक चलखेलका दस्ताबेज छताछुल्ल पारिएको छ”, उनी  भन्छिन्, "सौभाग्यबस श्रीलंकाबाट मैले पनि यसमा सहकार्य गर्ने अवसर पाएँ ।"  

एक करोड १५ लाख गोप्य कागजातहरू केलाइएको यो रिपोर्टिङमा ८० देशका १०७ भन्दा बढी मिडियाहरूले सहकार्य गरेका थिए ।

स्टोरी पिच (समाचार प्रस्ताव) गर्नेदेखि कसरी रिपोर्टिङ अगाडि बढाउने भन्ने विषयमा पनि सहकार्य आवश्यक रहेको उनी बताउँछिन् । स्थापनाको तेस्रो वर्षमा चल्दै गरेको नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क र पाँच वर्षदेखि सञ्चालित सिआईआरबीचको सहकार्यले राम्रो परिणाम आएको उनले बताइन् । 

फरक संस्कृति र भाषाका कारण सोचेजसरी रिपोर्टिङ गर्न नसकिने भएकोले स्थानीय पत्रकारसँग सहकार्य गर्न उनी पत्रकारहरूलाई सुझाव दिन्छिन् । 

"मलाई मेरै स्थानीय भाषा आउँदैन तर त्यहाँका स्थानीय पत्रकारहरूसँग सहकार्य गरेर मैले धेरै रिपोर्टिङ गरेकी छु । यसरी मात्र हामी बास्तविक स्टोरी खोज्न सक्छौँ”, उनी भन्छिन्, "म त भन्छु हामी दक्षिणका पत्रकारले उत्तरका र उत्तरका पत्रकारले दक्षिणका पत्रकारसँग सम्बन्ध र सहकार्य स्थापित गरिराख्नुपर्छ।" 

आर्थिक पाटोदेखि सुरक्षाका हिसाबले पनि रिपोर्टिङमा सहकार्य अत्यावश्यक रहेको उनको अनुभव छ ।   

रिपोर्टिङमा सहकार्य कसरी गर्ने ?

Rajneesh Bhandari Journalist NIMJN.jpeg

NIMJN का संस्थापक तथा प्रधान सम्पादक रजनीश भण्डारी । फोटो सौजन्यः NIMJN


आफूले गरेका सहकार्य सहितका रिपोर्टिङहरूको उदाहरण दिँदै दिलरुक्षीले सहकार्यका तरिकाहरू सिकाइन् । मिडियाहरूबीच मात्र नभएर मिडिया र गैर समाचारमुलक (मिडियाभन्दा बाहेक) संस्थाहरूबीचको सहकार्यमा गरिएको रिपोर्टिङ थप प्रभावकारी हुने उनी बताउँछिन् । 

"गैर समाचारमुलक संस्थाहरूसँग सहकार्य भन्नाले सूचना दिन सक्ने संस्थाहरूसँग पत्रकार वा मिडियाले गर्न सक्ने सहकार्य हो”, उनले प्रष्ट्याइन्, "केही बन्देजहरू पक्कै होलान् । तर आवश्यक सूचना र विषयवस्तुको चुरो कुरो बुझ्नका लागि हामीले गैरसमाचारमुलक संस्थाहरूसँग पनि सहकार्य गर्‍यौँ भने हाम्रो रिपोर्टिङ बलियो र प्रभावकारी हुन्छ ।"

धेरै भन्दा धेरै पाठकहरूसम्म आफ्नो रिपोर्टिङ पुर्‍याउनका लागि पनि सहकार्य गर्न सकिन्छ । यसका लागि एउटा मिडियाले अर्को मिडियाको रिपोर्टिङलाई पनि स्थान दिएर सम्प्रेषण गर्न सक्छन् । "निम्जिनले उत्पादन गरेका समाचारहरू अन्य सञ्चार माध्यममा प्रकाशन गरेर पनि सहकार्य गर्न सकिन्छ,” उनले उदाहारण दिइन्, "यसले गर्दा स्टोरीका पाठक बढ्छन् र रिपोर्टिङ थप प्रभावकारी हुन्छ ।"

सँगै तथ्याङ्क संकलन गर्ने, एकअर्कासँग भएका तथ्याङ्क साटासाट गर्ने, एकै खालका रिपोर्टिङ गर्न रुचाउने फरक फरक मिडियाका पत्रकारहरूले एक अर्कालाई सहायता गरेर वा कुनै स्टोरीमा सँगै काम गरेर पनि सहकार्य गर्न सकिन्छ । दिलरुक्षीका अनुसार रिपोर्टिङमा मात्रै नभई सहकार्य अनुसन्धान र अन्य सामग्री उत्पादनमा समेत फलदायी हुन्छ । 

सीमापार मुद्दाका स्टोरीमा सहकार्य  

कतिपय विषयहरू एउटा निश्चित मुलुकको मात्र मुद्दा हुँदैनन् । त्यसका कारण र प्रभावहरू अन्यत्र पनि हुन्छन् । घटना एक तर प्रभाव र परिणाम अन्तरदेशीय हुन सक्छन् । यस्तो अवस्थामा पत्रकारहरूबीच झन् सहकार्य चाहिन्छ ।

NIMJN Program Collaboration in Investigative Journalism 1.jpeg

कार्यक्रमपछि नेपालका पत्रकारहरूसँग फोटो खिचाउँदै दिलरुक्षी । फोटो सौजन्यः NIMJN


"पर्यावरण कुनै एक देशको मात्रै विषय होइन, यो अन्तराष्ट्रिय मुद्दा हो," उनी थप्छिन्, "यस्ता विषयहरू खोजी गर्दा एउटा देशमा मात्रै सीमित हुँदा त्यसको प्रभाव कम हुन्छ । तसर्थ, फरक फरक देशका पत्रकार वा संस्थाहरूसँग सहकार्य आवश्यक छ ।"

सीमाका मुद्दाहरूमा पत्रकारहरूबीच कसरी सहकार्य भइरहेको छ भन्नेबारे उनले भारत र पाकिस्तानका पत्रकारको उदाहरण दिइन् ।

"भारत र पाकिस्तानको कूटनीति जर्जर अवस्थामा छ तर त्यहाँका धेरै पत्रकारहरू आज पनि सहकार्य गरेर रिपोर्टिङ गर्छन्," दिलरुक्षी भन्छिन्, "उही रिपोर्टिङ कहिले भारतका मिडियामा छापिन्छ त कहिले पाकिस्तानका मिडियामा ।"

यसरी अन्तरदेशीय सहकार्य सहितको रिपोर्टिङ प्रभावकारी हुने तथा धेरै पाठकहरूसम्म पुग्ने उनी बताउँछिन् ।

सहकार्यका अन्तर्राष्ट्रिय स्रोत 

दिलरुक्षी अन्तर्राष्ट्रिय संघसंस्थाहरूले रिपोर्टिङका लागि गर्ने आर्थिक तथा अन्य सहयोगको लाभ पत्रकारहरूले लिन सक्ने बताउँछिन् ।

आइसिएफजे, जिआइजेएन, पुलित्जर सेन्टर, ग्लोबल फोरम फर मिडिया डेभलप्मेन्ट (जीएफएमडी), कोल्याबरेसन एन्ड इन्भेस्टिगेटिभ जर्नलिज्म इनिसिएटिभ (सिआईजेआई) र द इन्भारमेन्टल रिपोर्टिङ कलेक्टिभ जस्ता संस्थाहरू यस्ता केही संस्था हुन् ।

"यी संस्थाहरूसँग तपाईँ रिपोर्टिङका लागि सहकार्य गर्न सक्नुहुन्छ । यद्यपि यसका लागि तपाईँले काम अनुसारको क्षङ्गता र दक्षता भने विकास गर्नुपर्छ," उनले थपिन् ।


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।