कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

  • फाल्गुण १९, २०७८ बिहीबार ०३:५६

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले स्वागत गर्दै पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । 

२०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ ।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो ।

सरकारको निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको महासंघले जनाएको छ ।


पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७६
जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुलाई आर्थिक सहयोग पुर्‍याउन,द्वन्द्वमा परी मृत्यु भएका पत्रकारहरुको परिवारका सदस्यहरुलाई आर्थिक तथाअन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धि सम्बन्धीकार्यक्रम सञ्चालन गर्न पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को अधिनमा रही कोष सञ्चालक समितिले यो मापदण्ड बनाएको छ ।


१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस मापदण्डको नाम ‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७६’ रहेको छ ।
(२) यो मापदण्ड २०७७ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा,–
(क) ‘निर्देशिका’भन्नाले ‘पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५’ सम्झनु पर्दछ ।
(ख) ‘मृतक पत्रकार’ भन्नाले द्वन्द्वको समयमा पेशागत कर्तव्य पालना गर्दा सोही कारणबाट मृत्यु भएका पत्रकार सम्झनु पर्दछ ।
(ग) ‘सन्तति’ भन्नाले द्वन्द्वपीडित पत्रकारका छोराछोरी सम्झनु पर्दछ ।
(घ) ‘समिति’ भन्नाले पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को दफा ४ बमोजिमको समिति सम्झनु पर्दछ ।

३. कोषबाट प्राप्त हुने व्याज रकमको बाँडफाँड
वृत्तिकोषबाट प्राप्त हुने व्याज रकमलाई निम्नबमोजिम बाँडफाँड गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
क) ज्येष्ठ पत्रकार वृत्तिको लागि पचास प्रतिशतसम्म,
ख) द्वन्द्वपीडित पत्रकार तथा निजको परिवारलाई सन्तति वृत्ति भरण तथा छात्रवृत्ति उपलब्ध गराउनका लागि बीस प्रतिशतसम्म,
ग) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न बीस प्रतिशतसम्म,
घ) आर्थिक अवस्था अत्यन्त कमजोर रहेका पत्रकारहरुलाई औषधि उपचार र किरिया खर्च वापत आर्थिक सहयोग दिन दश प्रतिशतसम्म ।

४. कोषको रकम उपलब्ध गराउने मापदण्डः
(१) पत्रकार वृत्तिकोषमा सहभागी हुन चाहने जेष्ठ र द्वन्द पिडित पत्रकारले तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीयतह) बाट राहत क्षतिपूर्ति वा अन्यआर्थिक र भौतिक सहयोग प्राप्त गरिरहेको छैन भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको हुनुपर्ने ।
(२) पत्रकार वृत्ति कोषमा सहभागी हुन चाहने जेष्ठ तथा द्वन्द्वपीडित पत्रकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिस पेश गर्नुपर्ने ।
(३) नेपाल सरकारको कुनै सरकारी सेवाबाट निवृत्त भई निवृत्ति भरण वा उपदान प्राप्त गरेको वा नेपाल सरकारद्वारा नियुक्ति वा मनोनित भई कुनै लाभको पदमा बहाल रहेको वा संघ, प्रदेश र स्थानीय तह मध्ये कुनै पनि तहबाट अन्य सेवा सुविधा प्राप्त गरिरहेका पत्रकारहरुलाई यस मापदण्ड भित्र समावेश नहुने ।

५. पत्रकारहरुलाई मासिक वृत्ति प्रदान गर्ने मापदण्डः निर्देशिकाको दफा १० को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मका शर्तहरु पूरा गरेका पत्रकारहरुलाई देहायका मापदण्ड बमोजिम वृत्तिउपलब्ध गराउने ।
(क) जेष्ठ पत्रकार वृत्तिको लागि उमेर गणना गर्दा नागरिकतामा उल्लेखित मितिलाई आधार मानी गणना गर्नुपर्ने । तर नागरिकता प्रमाणपत्रमा स्पष्ट मिति नखुलीवर्ष मात्र खुलेको भएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित मितिलाई आधार मानी गणना गर्र्नेे ।
(ख) दफा ३(क) बमोजिम छुट्याइएको रकमबाट तीसवर्ष पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई निम्न बमोजिम वृत्ति प्रदान गर्ने ।
(१) पैसठी वर्षदेखि उनान्सत्तरी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पाँच हजार रुपैयाँका दरले,
(२) सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक सात हजार रुपैयाँका दरले,
(३) छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक दश हजार रुपैयाँका दरले र
(४) एकासी वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पन्ध्र हजार रुपैयाँका दरले ।

६. द्वन्द्व पीडित पत्रकार वा निजको परिवार तथा सन्ततिलाई छात्रवृत्ति सहयोग सम्बन्धी मापदण्डः पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यु भएका वा शारीरिक रुपमा अशक्तता भएका पत्रकारहरुलाई देहाय बमोजिम मासिक वृत्ति, अशक्तता वृत्ति र सन्तति वृत्ति उपलब्ध गराउने ।
१) मासिक वृत्तिः पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका पत्रकारहरुको परिवारलाई मासिक वृत्ति दश हजारका दरले उपलब्ध गराउने । यस्तो वृत्ति निजको परिवारलाई वृत्ति प्राप्त गरेको मितिले ७ (सात) वर्षसम्म उपलब्ध हुने ।
२) शारीरिक अशक्तता वृत्तिः
(क) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि पूर्णरुपमा अशक्त (द्वन्द्वकाक्रममा पूर्णरुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित रहेसम्म मासिक रुपमा दशहजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
(ख) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि आंशिकरुपमा अशक्त(द्वन्द्वका क्रममा आंशिक रुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको निलो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित भएसम्म मासिक रुपमा पाँच हजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
३) सन्तति वृत्ति ः पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका र पूर्णरुपमा अशक्त (नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुका २ जना सन्ततीलाई अठारवर्ष उमेर पुरा नभएसम्म वा १२ कक्षा सम्म अध्ययन गर्न शैक्षिक वृत्ति वापत वार्षिक पन्ध्र हजारका दरले वृत्ति उपलब्ध गराउने र आंशिक रुपमा अशक्त (निलो कार्ड) भएका पत्रकारका २ जना सन्ततिलाई वार्षिक दश हजारका दरले वृत्ति उपलब्ध गराउने ।

७. क्षमता अभिवृद्धि सम्बन्धी मापदण्डः सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न पत्रकार महासघको प्रदेश समिति वा पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा उक्त संस्थाहरुले पहिचान गरेका विषयमा तालिम कार्यक्रम निम्न आधारमा सञ्चालन गर्ने ।
१) दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी हुने तालिम कार्यक्रमहरुलाई प्राथमिकता दिने,
२) सञ्चार माध्यममा न्युनतम २ वर्ष काम गरेका पत्रकारहरुलाई सहभागी गराउने ।
३) कम्तिमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको ।
४) नेपाल पत्रकार महासंघ जिल्ला शाखा र सम्बन्धित सञ्चार माध्यमले तालिमको लागि छनोट गरेको ।
५) तालिम कार्यक्रम विभागबाट तयार गरिएको तालिम तथा कार्यक्रम सम्बन्धी दिग्दर्शन अनुरुप सञ्चालन हुनुपर्ने ।

८. आर्थिक सहायताः आर्थिक रुपमा विपन्न पत्रकारलाई दफा ४ (घ) बमोजिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रीय समितिबाट आर्थिक अवस्था अत्यन्तै कमजोर रही औषधि उपचार वा किरिया गर्न समेत असमर्थ रहेको भनी आर्थिक सहायताका लागि रकम उपलब्ध गराउन सिफारिस भई आएमा समितिको निर्णय अनुसार बढीमा पच्चीस हजार रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ ।
तर तत्काल उपचार तथा किरिया गर्न रकम अभावभई समस्यामा परेको विरामी तथा मृतक पत्रकारका परिवारलाई पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिसमा समितिबाट अनुमोदन हुने गरी सूचना तथा प्रसारण विभागका महानिर्देशकले रकम उपलब्ध गराउन सक्नेछ ।

९. बाधा अड्चन फुकाउने अधिकारः यस मापदण्डको कार्यान्वयनमा कुनै बाधा अड्चन परेमा वा दुविधा उत्पन्न भएमा त्यस्तो बाधा अडचन र दुविधा फुकाउने अधिकार समितिलाइ हुनेछ ।


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।