गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित उभिएका थिए । पाटन दरबार क्षेत्रमा पुस १६ गते सोमबार साँझ उनीहरूले पछिल्लो समय इजरायलको नृशंस हमलामा मारिएका ७० भन्दा बढी पत्रकारहरूप्रति श्रद्धाञ्जली दिए ।
पत्रकार दिनेश पन्तले इजरायलले मच्चाइरहेको नरसंहारको समाचार कभरेजमा आफ्नो ज्यानको पर्बाह नगरी प्रतिकूल अवस्थामा पनि रिपोर्टिङ गर्ने पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउन र मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको बताए । त्यसलगत्तै मारिएका पत्रकारहरूको नाम पढेर सुनाइयो ।

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
"इजरायल सरकार र उसका समर्थक पश्चिमा पत्रकारजगतको प्रोपगन्डाले जसोतसो युद्धस्थलबाट बाहिर पठाएको समाचारमाथि पनि सन्देहको बिउ छरिदिने गरेका छन्", दीप प्रज्ज्वलनपछि पत्रकारहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख छ, "विश्वव्यापी सामाजिक सञ्जालहरुले प्यालेस्टाइनबाट आउने समाचारलाई दबाउने गरेका सन्दर्भमा गाजाका पत्रकार यस माध्यमबाट विश्वसँग प्रभावकारी ढंगले जोडिन सकिरहेका छैनन् ।"
पत्रकार नरेश ज्ञवालीले ३० हजारभन्दा बढी निर्दोषहरू मारिएकामा बालबालिका र महिलाहरूको संख्या बढी रहेको तथ्याङ्क सुनाए । “हामीले यो बिर्सनु हुँदैन कि उनीहरू अमेरिकामा बनेका हतियारबाट मारिएका हुन्”, उनले भने । पश्चिमा मिडियाहरूले त्यहाँ भएको नरसंहारमाथि आँखा चिम्लिएको र बाँकी विश्व पनि त्यहाँ के भइरहेको छ भन्नेबारे अनभिज्ञ रहेको उनले बताए ।
वरिष्ठ पत्रकार कनकमणि दीक्षितले आफ्ना सहकर्मीहरूप्रति ऐक्यबद्धता जनाउन आफूहरू भेला भएको बताए । “अहिले त्यहाँको यति अफ्ठ्यारो अवस्थामा उहाँहरूले समाचार सङ्कलन गर्नु परेको छ । हामी पत्रकारिताप्रति समर्पित छौँ भने पत्रकारहरूमाथि जहाँजहाँ अवस्था खराब छ, त्यहाँ हामीले चिन्ता मनमा पनि लिनपर्छ र व्यक्त पनि गर्नुपर्छ भनेर हामी सार्वजनिक रूपमा यसरी जम्मा भएका छौं”, दीक्षितले भने, “ज्यान गुमाएका पत्रकारहरूलाई हामीले मैनबत्ति बालेर सम्झेका छौँ ।“
गाजामा पत्रकारहरूमाथि लक्षित आक्रमण भएकाले दीक्षित त्यसलाई हत्या मान्छन् । “यस्तो जटिल विषयमा पनि हामीले बोल्न सकेका छैनौं । अहिले हामीले नबोल्ने हो भने जतिबेला हामीमाथि पनि प्रकोप आउँला अनि अरूले पनि मुख बन्द राख्ला केही नबोल्ला”, दीक्षित भन्छन्, “नेपाली मिडियामा गाजाका प्यालेस्टाइनी पत्रकारहरूमाथि भएको ज्यादतिको विषयमा पर्याप्त रिपोर्टिङ भएको छैन। जुन किसिमको नरसंहार भैरहेको छ, हाम्रो विचारनिर्माणकर्ता, सम्पादकीय लेख्नेहरूले लेखिरहेका छैनन् ।“
आफूले देखेको र भोगेको परिस्थितिमाझ गाजाका कयौं पत्रकारले जीवितै छँदा अन्तिम संदेश लेख्दै आएका छन् ।
यिनै सन्देशमध्ये २२ अक्टुबरमा क्षेप्यास्त्र आक्रमणमा मारिएका पत्रकार रोश्दी सर्राजको संदेश बहुतै मार्मिक छ । “हामी कदापी आफ्नो थलो छाड्ने छैनौँ । र, जब हामी गाजालाई छोड्नेछौ तब हामी अनन्तः आकाशमा विलय हुनेछौँ” सर्राजले फेसबुकमा लेखेका थिए ।
पढ्नुहोस् विज्ञप्तिः
१ जनवरी २०२४ (१६ पौष २०८०)
गाजाका पत्रकारलाई नेपाली सञ्चारकर्मीको समर्थन र इजरायली नरसंहारको निन्दा
पत्रकारमाथि आधुनिक इतिहासको सबैभन्दा नृशंस हमला गाजामा इजरायलले गरिरहेको छ । अढाई महिनायता हमाससँगको युद्धमा इजरायली सरकारले गाजा पट्टीका ७० भन्दा बढी प्यालेस्टिनी पत्रकारको हत्या गरेको छ । हामी नेपालका पत्रकार यसको निन्दा गर्छौँ ।
७ अक्टुबर २०२३ यता गाजामा मारिएका पत्रकारको संख्या अघिल्लो वर्ष अर्थात सन् २०२२ मा विश्वभरीमै हत्या गरिएका पत्रकारको संख्याभन्दा बढी छ । लक्षित बमबारीका क्रममा गाजामा ज्यान गुमाएका धेरै पत्रकारका परिवार सदस्य समेत मारिएका छन् । जसोतसो बाँच्न सफल केही पत्रकारले परिवारजन गुमाएका छन् ।
गाजा क्षेत्रमा २२ हजारभन्दा बढी मानिसको ज्यान लिनेगरी इजरायली सेनाले मच्चाइरहेको नरसंहारबारे समाचार सम्प्रेषण गरिरहेका पत्रकार दिनानुदिन मारिँदै छन् र घाइते हुँदैछन् । गाजामा कार्यरत सञ्चारकर्मी त्यहाँका आम मानिस झैँ बमबारीको जोखिममाझ गाँस र बासको अभाव झेल्दै र प्रियजनको बिचल्लीमाझ चलिरहेको नरसंहारका बारेमा विश्वलाई जानकारी दिइरहेका छन् । क्षेप्यास्त्र प्रहारको ए बन्दुकधारी स्नाइपरको भयका बीचमा संहारको समाचार संकलन गरिरहेका मिडियाकर्मीको मानसिक स्वास्थ्यको अवस्थाको सायदै कल्पना गर्न सकिन्छ । यी पत्रकारले निर्दोष बालबालिका, महिला र पुरुषको सामूहिक हत्याका साथै सन् १९४८यता देखि थातथलोदेखि उजाडिएका मानिसहरूका पीडासम्मको समाचार पेश गरिरहेका छन् ।
भारी विद्युत कटौती र इन्टरनेट बन्दाबन्दी तथा सञ्चार पूर्वाधार ध्वस्त हुँदा हाम्रा सहकर्मी गाजाका पत्रकार एकअर्कासँग सहज संवाद गर्न सकिरहेका छैनन् भने समाचार सम्प्रेषणमा पनि चुनौती व्यहोरिरहेका छन् । इजरायल सरकार र उसका समर्थक पश्चिमा पत्रकारजगतको प्रोपगन्डाले जसोतसो युद्धस्थलबाट बाहिर पठाएको समाचारमाथि पनि सन्देहको बिउ छरिदिने गरेका छन् । त्यसैगरी विश्वव्यापी सामाजिक सञ्जालहरुले प्यालेस्टाइनबाट आउने समाचारलाई दबाउने गरेका सन्दर्भमा गाजाका पत्रकार यस माध्यमबाट विश्वसँग प्रभावकारी ढंगले जोडिन सकिरहेका छैनन् ।
आफूले देखेको र भोगेको परिस्थितिमाझ गाजाका कयौं पत्रकारले जीवितै छँदा अन्तिम संदेश लेख्दै आएका छन् । यिनै सन्देशमध्ये २२ अक्टुबरमा क्षेप्यास्त्र आक्रमणमा मारिएका पत्रकार रोश्दी सर्राजको संदेश बहुतै मार्मिक छ । “हामी कदापी आफ्नो थलो छाड्ने छैनौँ । र, जब हामी गाजालाई छोड्नेछौ तब हामी अनन्तः आकाशमा विलय हुनेछौँ” सर्राजले फेसबुकमा लेखेका थिए ।
काठमाण्डूबाट हामी गाजामा घेराबन्दीमा परेका पत्रकारसँग एक्यबद्धता जनाउदै उर्लँदो नरसंहारको समाचार प्रकाशनमा लगाइने व्यवधानलाई चिर्ने क्षमता मिलोस् भनी कामना गर्छौँ ।
ऐक्यवद्धतामा:
-
- असिम जमानल
- आभाष बुढाथोकी
- अनुज बज्राचार्य
- अर्चना दर्जी
- दया दुदराज
- धनु विश्वकर्मा
- दिनेश पन्त
- गोपेन राई
- हिमाली दीक्षित
- इन्द्र श्रेष्ठ
- जेबी पुन मगर
- कनकमणि दीक्षित
- किरण नेपाल
- मस्त केसी
- म्होद अय्युब
- नरेश ज्ञवाली
- पिङ्कीशिरिष राना
- रविराज बराल
- सानिया शाह
- सञ्जीव सत्गैँया
- सञ्जीव शर्मा
- शांशद अहमद
- सुमन नेपाली
- सुनील प्रधान
- तुफान न्यौपाने
- उर्मिला गम्वा थारु