लेन अनुशासन, मापसेलगायतमा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ट्राफिक कार्यालयमा बोलाएर कक्षा सञ्चालन गरेको तपाईँलाई थाहै होला । अब आचारसंहिताविपरीत समाचार लेख्ने पत्रकारलाई पनि यस्तै कक्षा दिइने भएको छ । पत्रकार आचारसंहिताविपरीत समाचार सामग्री लेख्ने पत्रकारलाई लक्ष्य गरी प्रेस काउन्सिल नेपालले अभिमुखीकरण कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था Research and Analysis Wing (R&AW) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको सहमतिबारे समाचार लेखेका ७ वटा न्युज पोर्टलका सञ्चालक/सम्पादकले छिट्टै यसखालको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् । ‘७ वटै न्युज पोर्टलका सञ्चालक/सम्पादकलाई छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराइनेछ’, काउन्सिलका सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराले बैशाख ५ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ । आगामी दिनमायी अनलाइनका समाचारमा विशेष निगरानी राख्ने पनि काउन्सिलले जनाएको छ ।
७ अनलाइनले माफी मागे
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (R&AW) का प्रमुखबीच भएको भनिएको गोप्य सहमतिबारे समाचार प्रकाशित गर्ने सात न्युज पोर्टलले सार्वजनिक रूपमा क्षमा मागेका छन् । यी अनलाइनसँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्क, समाचार दैनिक, नेपाली गाथा, पर्दाफास, पिएलए खबर, कान्तिपथ र सुदर्शनखबर डटकमले काउन्सिलमै पुगेर क्षमा मागेका हुन् । ती अनलाइनले भुलसुधार गरी आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै स्पष्टीकरण पेस गरेको काउन्सिलका सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘आगामी दिनमा आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै विवादास्पद सामग्री हटाए काउन्सिलमा उपस्थित भई क्षमायाचनासहित स्पष्टीकरण पेश भएको छ’, काउन्सिलले बैशाख ५ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रेस काउन्सिल नेपाललले अब उप्रान्त पनि ती न्युज पोर्टलबाट सम्प्रेषणा हुने सामग्रीको विशेष अनुगमन गर्नेछ ।’
‘अनअफिसियल ट्रान्सलेसन’ डकुमेन्टलाई आधार बनाई ‘प्रधानमन्त्री के.पी. ओली र R&AW बीच भएको सहमति…’ भनी यी अनलाइनले समाचार प्रकाशित गरेका थिए । पढ्नुस्ः भारतीय गुप्तचर संस्था 'रअ' सँग जोडेर प्रधानमन्त्रीविरुद्ध प्रोपगन्डा
उल्लेखित न्युज पोर्टलहरूमा प्रकाशित सामग्री हेर्दा पत्रकार तथा सम्बन्धित अनलाइन प्रयोग गरी प्रधानमन्त्री ओलीविरुद्ध प्रोपगन्डा गरेको देखिन्छ । भारतीय गुप्तचर संस्था 'रअ' सँग जोडेर प्रधानमन्त्री केपी ओलीविरुद्ध हालै भएको प्रोपगन्डाबाट के सिक्नुपर्छ ? दैनन्दिन समाचार रिपोर्टिङ, लेखन तथा प्रकाशनमा संलग्न पत्रकारका रुपमा यो घटनाबाट के शिक्षा लिन सकिन्छ ? पढ्नुस्ः प्रधानमन्त्री ओलीविरुद्धको प्रोपगन्डाबाट पत्रकारले सिक्नुपर्ने ७ पाठ
यसैबीच, नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूमाथि प्रहरीले गर्न खोजेको गिरफ्तारीको विरोध गरेको छ । 'प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको तथा उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधान सम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजतलास गरिरहेको घटनाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ', महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बैठकले यो कार्यको भत्र्सना गर्दै पत्रकारहरूलाई आतंकित पार्ने काम तत्काल रोक्न राज्यको ध्यानाकर्षण गराएको छ ।'