शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

  • बैशाख १४, २०८२ आइतबार २३:२१

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की प्रहरीले हानेको पानीको फोहोराबाट गम्भीर घाइते भएकी छन् ।

दिउसो करिब १२ बजे नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो भने शिक्षकहरू पनि ढुंगामुढामा उत्रिएका थिए ।

आँखामा गम्भीर चोट लागेकी सविनाको अहिले सिनामङ्गलस्थित तिलगङ्गा आँखा अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेट्न अस्पताल पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग उनले आफ्नो दाहिने आँखा नखुलेको बताएकी छन् ।

"शिक्षकहरू निषेधित क्षेत्र तोड्न नाराबाजीमा उत्रिनु भयो । उहाँहरू अलिक आक्रोसित भएपछि एक्कासी प्रहरीले पानीको फोहरा हान्न थाल्यो", सविनाले भिडियोमा घटना विवरण बताएकी छन्, "म मोबाइल झिकेर भिडियो खिच्न थालेँ । त्यसै बेला पानीको फोहोरा एक्कासी आएर मेरो अनुहारमा लाग्यो ।"

उनी घाइते भएर आत्तिएपछि एकजना शिक्षकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उनलाई मिनभवनस्थित सिभिल अस्पताल लगेको थियो ।

नेपाल पत्रकार महासंघका अनुसार पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै हाल तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । उनको आँखामा गम्भीर चोट लागेको र दाहिने आँखाबाट रक्तस्राव भइरहेको छ । "दाहिने आँखा देख्दिनँ । आँखा खोल्नै हुँदैन । ब्लिडिङ भइरहेको छ", उनले भनेकी छन् ।

उपचारमा संलग्न चिकित्सक डा. सिभान्त श्रेष्ठले कार्कीका दुवै आँखाका लेन्सहरू सुन्निएको बताएकी छन् । "आँखामा रगत जमेको छ। आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ। चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ," डा. श्रेष्ठले अनलाइनखबरसँग भनेकी छन्, "अहिलेको चोट भएकाले औषधिले कम गरेपछि मात्रै के कस्तो अवस्था छ भनेर हेरेर आँखाको पर्दा कस्तो छ भनेर हेर्न सकिन्छ । उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकि आँखाको भिजन एकदमै कम छ।"

पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीबाट भएको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको महासंघले जनाएको छ ।

"यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ", महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

पानीको फोहोराले लागेर घाइते भएकी पत्रकार कार्कीलाई प्रहरीले पिठ्युमा बोकेर लाँदै गरेको अर्को एक भिडियोमा देखिन्छ । 

यसैबीच, आजको झडपमा कति शिक्षक घाइते भए भन्ने विषयमा दुई पक्षको भनाइ फरक रहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताएका छन्  भने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले करिब ६० जना शिक्षक घाइते भएको दाबी गरेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राख्दै चैत २० देखि देशभर आन्दोलनमा छन् । सरकारले वार्ताको प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । 


Related Story

सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

वर्षदिन बित्यो । सुरेश रजकका परिवारजन अझै पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पर्खिरहेका छन्, छानबिनको माग गरिरहेका छन् २०८१ चैत १५

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन

ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा

पत्रकार महासंघले भन्यो- प्रेसमाथिको आक्रमण निन्दनीय, रजकको निधनमा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी

राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको

Mob justice or premeditated murder? The tragic case of journalist Suresh Bhul

In the quiet neighborhood of Kantipur in Gauriganga Municipality, Ward No. 11, Suresh Bhul, a 30-year-old journalist, was known for

चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’

पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे ।

किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

मिडियामा प्रकाशित समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी वा थप कानुनी उपचार खोज्नु साटो मिडिया र पत्रकारलाई कुटपिट गरी