पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ
कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे । सुरेश भुल (३०) शौचालय जान निस्किए । गौरीगंगा नगरपालिका, वडा नम्बर ११ को वडा कार्यालयनजिकैको कान्तिपुर टोलमा सुरेशको मेडिकल थियो । जसमा उनले फोटो स्टुडियो र फोटोकपी पसल पनि चलाउँदै आएका थिए । स्थानीयलाई स्वास्थ्यसम्बन्धी केही आपत्विपत् पर्दा सहयोग गर्न सकिएला भनेर उनी मेडिकलमै बस्ने गर्थे । त्यसैले उनले मेडिकलनजिकै रहेको वडा कार्यालयको शौचालय प्रयोग गर्ने गर्थे ।
हरेक दिनजस्तै कात्तिक २३ को बिहान पनि उनी मेडिकलबाट शौचालयका लागि निस्किए । वडा कार्यालयको गेटनजिकै उनले एउटा बाख्रो देखे । बाख्रो चिसोले कामिरहेको थियो । बाख्रोलाई त्यसै चिसोमा छोड्न उनको मनले मानेन । बाख्रोलाई आफूसँगै ल्याए । अनि, आफ्नो मेडिकलअगाडि बाँधे । यसपछि अरू दिनजस्तै त्यस दिन पनि उनी आफ्ना दैनिक कार्यमा व्यस्त भए । तर, घडीले १२ नकटाउँदै उनको जीवनमा संकटको समय आइलाग्यो ।

"१० देखि ११ बजेको बीचमा केही महिला सुरेशजीको पसलमा आएछन् र चिच्याउन थालेछन्,’ राष्ट्रिय दलित पत्रकार संघ कैलालीका अध्यक्ष हिक्मत भुल भन्छन्, ‘सुरेशजीलाई ‘बाख्रो चोर’ भन्दै तथानाम् भन्न थालेछन् ।" हिक्मत यस घटनाका प्रत्यक्षदर्शी होइनन् तर आफूलाई यो कुरा स्वयं सुरेशले बताएको उनको दाबी छ ।
सुरेशको पसलमा आएर उनीमाथि ‘बाख्रो चोर’को आरोप लगाउँदै कराउने ती दुई महिला थिए, विस्ना भुल र रमा रावल । तीमध्ये विस्ना भुल बाख्रोधनी रहेछिन् । अर्थात्, सुरेशले वडा कार्यालयको गेटनजिकैबाट ल्याएको बाख्रो त्यसै टोलमा बस्ने विस्ना भुलको रहेछ । जो कात्तिक २० गतेदेखि हराएको थियो । तीन दिनदेखि हराएको बाख्रोलाई सुरेशको पसलअगाडि बाँधेको देख्दा उनी रिसले चुर भइन् ।
जाडोले काँपिरहेको बाख्रोलाई दया गरी आफ्नो मेडिकलअगाडि ल्याएर बाँध्ने सुरेशमाथि उल्टै चोरीको आरोप लगाइन् । उनलाई ‘बाख्रो चोर’ भनिन् ।

सुरेशले आफूलाई भनेको कुरा सम्झिँदै हिक्मत भुल भन्छन्, "सुरेशजीले ‘मैले चोरेको होइन बरु कसको बाख्रो हो, खोज्दै आउँदा भेटिएला भनेर यहाँ ल्याएर बाँधेको हुँ’ भन्नुभएको रहेछ ।" सुरेशले बारम्बार सो कुरा दोहो-याए पनि ती दुई महिलाले उनीमाथि बारम्बार चोरीको आरोप लगाइरहे । होहल्ला भएपछि त्यहाँ गाउँलेहरू पनि जम्मा हुन थाले ।
राष्ट्रिय दलित पत्रकार संघ कैलालीका जिल्ला सहसचिव र सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलालीका सूचना आयुक्तसमेत रहेका सुरेश सुदूरपाटी डटकममा रिर्पोटर थिए । सत्यतथ्यको खोजी गर्ने, भ्रष्टाचारविरुद्ध कलम चलाउने पेशामा रहेका उनले आफूमाथि चोरीको आरोप लागेपछि ती महिलाहरूलाई वडा कार्यालयमा लगेर सीसीटीभी क्यामराको फुटेजसमेत देखाएका थिए ।
"त्यतिखेर वडा कार्यालयका साथीहरूसँग बैठक चलेको थियो,’ गौरीगंगा नगरपालिका–११ का वडाध्यक्ष साहेबलाल चौधरी भन्छन्, ‘भुलजीले सीसीटीभी फुटेज देखाइदिनु भनेपछि हामीले देखायौँ ।" सीसीटीभी क्यामराको फुटेज देखाएपछि पनि सुरेश र महिलाहरूबीच भनाभन नरोकिएको वडाध्यक्ष चौधरी सम्झिन्छन् । "धेरै चर्काचर्की परेपछि मैले प्रहरीलाई बोलाएर उनीहरूलाई जिम्मा लगाइदिएँ," उनी भन्छन् ।
सीसीटीभी क्यामराको फुटेज हेरिसकेपछि पनि बाख्रोधनीले सुरेशलाई चोरीको आरोप लगाउँदै एक लाख रुपैयाँ मागेको हिक्मत बताउँछन् ।

"बिहानको घटना सीसीटीभी फुटेजमा हेरिसक्दा पनि विस्ना भुल र रमा रावलले पुरानै कुरा दोहोर्याइरहे," उनी भन्छन्, "सुरेशजीले आफूले चोरी नगरेको भन्दै पैसा तिर्न अस्वीकार गरेपछि त उनीहरू सुरेशजीमाथि जाइलागे । हातपात नै गरेका थिए । त्यसपछि नै हो वडाध्यक्षले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको ।"
दिउँसो २ बजेतिर उनीहरू इलाका प्रहरी कार्यालय मसुरिया पुगे । चौकीमा पनि प्रहरीसामु विस्नाले सुरेशमाथि चोरीको आरोप लगाउँदै एक लाख रुपैयाँको माग गरिरहिन् र सुरेशले अस्वीकार गरिरहे । "२ बजेतिर चौकी पुगेका थियौँ," त्यतिखेर सुरेशसँगै प्रहरी चौकी गएकी उनकी श्रीमती कल्पना सार्की सम्झिन्छिन्, "बाख्रोधनीले त्यहाँ पनि आफ्नै ढिपी गरिरहिन् । बाख्रो चोरेको आरोप लगाइरहिन् । उनको कुराले दिक्क भएर यस्तो कुरामा नअल्झिन भन्दै मैले उहाँलाई सहमति गर्न कर गरेँ ।"
"बाख्राधनीको आरोप सरासर गलत थियो तर ‘हात लाग्यो कि बात लाग्यो’ जस्तै भयो," कल्पना थप्छिन्, "उहाँले त मान्नु नै भएको थिएन । तर, बाख्रोधनीको कचकचले दिक्क भएर मैले नै उहाँलाई सहमति गर्न भनेकी हुँ । मैले चोखो मनले नै त्यो पैसा म आफैँ तिर्छु भनेकी हुँ ।"श्रीमतीको करपछि सुरेश बाख्रोधनीसँग सहमति गर्न तयार भए । रकम एक लाखबाट घटाएर ३० हजारमा सम्झौता भयो । पैसा केही दिनमा दिने सम्झौता भयो ।
"चौकीबाट फर्किदा उहाँ मसँग रिसाउनुभएको थियो," कल्पना सम्झिन्छिन्, "खाँदै नखाएको विष लाग्यो भन्दै उहाँ मसँग रिसाउनुभयो । उहाँ मसित जति रिसाए पनि यति गरेपछि कम्तीमा बाख्रोधनीको कचकच सक्कियो भन्ने ठानेकी थिएँ तर भोलिपल्ट...।" वाक्य पूरा गर्न नपाउँदै पंक्तिकारसामु कल्पनाको भक्कानो छुट्यो ।

०००
कात्तिक २४ गते । शनिबार । बिहान ६ बजे ।
‘पैसा खै ?’ भन्दै विस्ना भुल सुरेशको दैलोमा पुगिन् । सुरेशको श्रीमती कल्पनाले ‘अहिले पैसा छैन, सरसापट गरेर दिन्छु’ भनेपछि उनी फर्किइन् ।
"शनिबारको दिन भएकाले बैंक बन्द थियो," कल्पना भन्छिन्, "बाख्रोधनीलाई नै तिर्नका लागि मैले आफन्तबाट सापटी लिएँ । तर, पैसा तिर्न जाँदा उनले कुरा फेरिन् ।"
फेरि एक लाख चाहियो भन्दै झगडा गर्न थालिन् । बाख्राधनीले एक लाखको ढिपी गरेपछि कल्पना पैसा नतिरी घर फर्किइन् । "त्यसोभए पैसा लिन घरमा आउनु भनेँ," कल्पना भन्छिन्, "पैसा लिन उनी एक्लै आउँछिन् होला भन्ने लागेको थियो तर उनी त पूरै जत्था नै बोकेर आइन् ।"
कात्तिक २४ गते । साँझ साढे ५ बजेतिर एक हुल मानिस सुरेशको घरमा आए । ‘एक लाख रुपैयाँ चाहिन्छ’ भन्दै घरबाहिर हल्लाखल्ला गर्न थाले ।
सुरेशलाई ‘चोर चोर’ भन्दै कराउन थाले । सम्झौताविपरीत घरमा आएर हल्लाखल्ला गरेको भन्दै कल्पनाले प्रतिकार गर्दा भीडमा भएका मान्छेमध्ये एकले सुरेशको कठालो नै समात्यो ।

सुरेशलाई जोगाउन उनकी तीन वर्षकी छोरीसहित अरू आफन्त घेरेर बसेका थिए । तर, बाख्रोधनीसँगै आएको ४०–५० जनाको भीडले सुरेशलाई घिसारेर लग्यो । वरपरका केही स्थानीयले छुटाउन नखोजेका होइनन् तर ठुलो जत्थासँग उनीहरू जुध्न सकेनन् ।
"पसलअगाडिको नालामा सुरेशको कपाल समातेर टाउको डुबाउँदै निकाल्दै, डुबाउँदै निकाल्दै गरेर भीडले उनलाई कुट्न थाल्यो," एक प्रत्यक्षदर्शी घटनाबारे सुनाउँछन्, "सुरेशलाई बचाउन उनकी श्रीमती र ससाना नानीहरू जाँदा मान्छेहरूले उल्टै उनीहरूलाई पनि पिटे ।"
भीडले सुरेशलाई मरणासन्न हुने गरी कुटपिट गर्यो । त्यसपछि उनलाई उनकै मेडिकलभित्र कुनै निर्जीव वस्तुझैँ फाल्यो । यति भइसकेपछि मात्रै प्रहरी घटनास्थलमा पुग्यो ।
प्रहरीले सुरेशलाई अस्पताल लैजाने हतारो गरेन । उल्टै अपशब्द प्रयोग गर्दै सुरेशलाई अन्टसन्ट भनेको एक प्रत्यक्षदर्शी बताउँछन् ।
"घटनाको केही समयपछि दुई जना पुलिस आएका थिए तर उनीहरूले त उल्टै सुरेशलाई नै अपशब्द भन्न थाले," नाम खुलाउन नचाहने ती प्रत्यक्षदर्शी भन्छन्, "सुरेशको त्यस्तो अवस्थामा पनि पुलिसले बाख्रोधनीलाई बाख्रोको पैसा बुझाउन लगायो । बाख्रावालाहरू पैसा र बाख्रो लगेर गए ।"
०००
अबोध जीवमाथि दया गर्नु सुरेशका लागि आफ्नै खुट्टामा बन्चरो हान्नुसरह भयो । उनको कमलो व्यवहार परिवारका लागि कहालीलाग्दो घटना बन्न पुग्यो । एकातिर उनी मेडिकलभित्र मरणासन्न अवस्थामा थिए । अर्कोतिर श्रीमती बेहास थिइन् । आमा र बुबाको अवस्था देखेर साना नानी रुँदै थिए । आत्तिदै थिए ।

शारीरिक पीडा बढेपछि भोलिपल्ट अर्थात् कात्तिक २५ मा सुरेशलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइयो । "अस्पताल गएको थाहा पाएलगत्तै म त्यहाँ पुगेँ," राष्ट्रिय दलित पत्रकार संघ कैलालीका अध्यक्ष हिक्मत भुल भन्छन्, "त्यसबेला हालखबर लिँदा छातीभन्दा अलि तल दुखेको छ भन्नुहुन्थ्यो ।"
सुरेशको उपचारमा संलग्न डाक्टरले पनि उनको अवस्था सामान्य रहेको र आत्तिनु पर्दैन भनेको हिक्मत सम्झिन्छन् । "त्यस दिन दिनभरि उहाँसँगै अस्पतालमा बसेँ अनि किन र कसरी घटना भयो भन्नेबारे बुझेँ ।"
अस्पतालमा सुरेशको हेरचाहमा दिन बिताएर राति घर फर्किएका हिक्मतको फोनमा भोलिपल्ट अर्थात् कात्तिक २६ गते बिहानै घण्टी बज्यो ।
"फोन उठाएँ, उताबाट आवाज आयो– 'सुरेशको टाउकोमा रगत जमेको छ र कलेजोमा पनि चोट देखिएको छ, उहाँलाई तुरुन्तै आईसीयूमा सार्नु पर्ने भयो," अप्रिय घटनाका लागि आएको फोन कलबारे सम्झिँदै हिक्मत भन्छन्, "हतारिँदै अस्पतालतिर हान्निएँ । तर, सुरेशजीलाई भेट्न पाइनँ । म पुग्दासम्म उहाँले संसार त्यागी सक्नुभएको थियो ।"
सुरेशको शव पोस्टमार्टम रिपोर्टमा उनको छाती, गुप्तांगलगायतमा गहिरो चोट लागेको देखिएको उनकी श्रीमती कल्पनाको भनाइ छ ।
सुरेशको मृत्युपछि प्रहरीले घटनामा संलग्न आठ जना पक्राउ परे । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ का ६५ वर्षीय जंगबहादुर भुल, २३ वर्षीय विशाल विक, १८ वर्षीय दिनेश विक, १८ वर्षीय दिनेश भुल, ३५ वर्षीया विस्ना भुल, ३४ वर्षीया रमा रावल, २३ वर्षीय धर्मसिंह विक र २४ वर्षीय रमेश रावल छन् ।
कुटपिटमा संलग्न गौरीगंगा–९ का ४० वर्षीय पवन बोगटी भने हालसम्म फरार छन् ।
'निडर पत्रकारको नियोजित हत्या'
मेडिकल, फोटो स्टुडियोसँगै फोटोकपी पसल चलाउँदै आएका सुरेश भुल पत्रकारिता पनि गर्थे । राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिवसमेत रहेका उनी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सूचना आयुक्तसमेत थिए । उनी अनियमिता र विसंगतिमाथि प्रश्न गरिरहन्थे ।
"स्थानीय तहदेखि जिल्लासम्मै उसले सामाजिक विषयमा प्रश्न उठाइरहन्थ्यो," सुरेशका दाजु गणेश भुल सुनाउँछन्, "बाटोमा खाल्डो परेको विषयदेखि सरकारी अधिकारीहरूले अनियमिता गरेको विषयमा बारम्बार लेखिराख्थ्यो र प्रश्न गरिरहन्थ्यो ।"
सुरेश निडर र हक्की स्वभावका भएको उनका दाजु गणेश बताउँछन् । "बेथितिमा प्रश्न गरिहाल्थ्यो अलि हक्की स्वभावको थियो," गणेश भन्छन्, "निडर थियो । सही कुरामा कसैसँग डराउँदैनथ्यो । त्यसैले सबैको तारो बनिसकेको थियो । समाज रूपान्तरणका लागि उभिन्छु भन्थ्यो, त्यही समाजले उसको ज्यान लियो ।"
जिल्लाको सुदूरपाटी अनलाइनमा कार्यरत सुरेशले चार महिनाअघि मात्रै मिल्ने साथी हिक्मत भुलसँग आफूलाई त्यो ठाउँमा बस्न गाह्रो भएको जिकिर गरेका थिए ।
हिक्मत सम्झिन्छन्, "चार महिनाअघि सुरेशजीले ‘म चौतर्फी घेराबन्दीमा छु, यहाँकाले मलाई सिद्ध्याउँछन्’ भन्नुभएको थियो । त्यति भने पनि पछि त्यो विषयमा उहाँले खुलेर कुरा चाहिँ गर्नुभएन ।"

त्यसो त सुरेश जोखिम मोलेरै भए पनि आफ्नो कामप्रति कटिबद्ध रहेको सुदूरपाटीका प्रकाशक तथा सम्पादक शेरबहादुर सार्की बताउँछन् । "उहाँ डराउनुहुन्नथ्यो, ‘जे आइपरे पनि हाम्रो धर्म सत्यतथ्य बाहिर ल्याउनु हो’ भन्दै जोखिम मोल्न डराउनुहुन्नथ्यो ।"
एकातिर अनियमिततामाथि प्रश्न गरिरहने सुरेशसँग भ्रष्टाचार गर्नेहरू मिल्ने कुरै भएन । अर्कोतिर उनको प्रगति देखेर गाउँमा डाहा गर्नेहरू पनि प्रशस्तै थिए ।
पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी भन्छन्, "सुरेशजी अछामबाट बसाइँ सर्नुभएको हो । त्यो गाउँमा उहाँसँगै बसाइँ सर्ने उहाँकै पुराना गाउँका स्थानीय हुनुहुन्छ । धेरै त उहाँको आफन्त पनि हुनुहुन्छ क्यारे ! पत्रकारितासँगै आफ्नै औषधि पसल पनि चलाउनुभएको थियो । उहाँकी श्रीमती पनि अनमी हुनुहुँदो रहेछ । उहाँको प्रगतिका कारण स्थानीय चिढिएको जस्तो पनि देखिन्छ । अलि डाहा गरेजस्तो देखिन्छ ।"
सुरेशले पत्रकारितासँगै गाउँमा औषधि पसल सञ्चालन गरेर गाउँलेलाई सुविधा हुन्छ भन्ने ठानेका थिए । तर, उनको प्रगति देखेर चिढिएका आफन्त र स्थानीयले उनको तिरस्कार गर्थे । जातका आधारमा उनलाई गालीगलौच गर्थे ।
"कुटपिटको अघिल्लो दिन रमा रावलका श्रीमान् (भीमे रावल)ले दलित भनेर हेप्दै ‘तँ पनि यस्तो पत्रकार हुन्छस् ? दलित पनि पत्रकार हुन्छ ? दलित भएर पनि पत्रकारिता गर्न पाइन्छ ? नेता बन्न खोज्छस्' भन्दै हप्काएको सुरेशकी पत्नी कल्पना सम्झिन्छिन् ।
"अरूको विषयमा तपाईंलाई केको चासो भन्दा मलाई पनि हप्कीधप्की गर्नुभो," उनी भन्छिन्, "पैसा नदिए सार्वजनिक मुद्दा लगाएर जेलमा थुनिदिनेसम्मको धम्की दिएका थिए ।"
"दलित समुदायका भए पनि गाउँमा पढेलेखेका, सामान्य आयआर्जनसमेत भएका, सार्वजनिक निकायमा सूचना मागिरहने, खबरदारी गर्ने, सामाजिक सञ्जालमा बेथितिविरुद्ध लेखिरहने गर्थे सुरेश," घटनाको स्थलगत अध्ययन गरेका पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावल भन्छन्, "घटना हुनुमा बाख्रो चोरी त बहानामात्र देखिन्छ । उनलाई पहिलेदेखि नै नोटिस गरिएको देखिन्छ । कुटपिट गर्ने बेला ४०/५० जनाको समूह थियो । बाहिर घाउचोट नलाग्ने गरी नियोजित रूपमा कुटपिट गरेको देखिन्छ ।
सूचनाको हकका लागि राष्ट्रिय अभियानका प्रदेश अध्यक्ष पुष्प जोशी पनि सुरेशको नियोजित रूपमै हत्या भएको बताउँछन् । विभिन्न संघसंस्था, निकाय र व्यक्तिको विषयमा वकालत गरेको, सूचना माग गरेकै कारण सुरेशको हत्या गरिएको हुन सक्ने उनको दाबी छ ।
"भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण उनको हत्या भएको हुन सक्छ," उनी भन्छन्, "घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाही हुनुपर्छ ।"
प्रहरीको भूमिका शंकाष्पद !
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट दुई जना प्रहरी घटनास्थल पुगेका थिए ।
उनीहरूले ‘पैसा नदिएर त यो सब भएको हो, किन पैसा नदिएको ?’ भन्दै आफूहरूलाई हप्काएको कल्पना बताउँछिन् । भन्छिन्, "यो बढ्ता भइसक्या छ, यसलाई हतकडी लगा भनेर उहाँको हात समात्नुभयो ।" प्रहरीले नै ‘यो मर्ने मान्छे हो’ भनेको कुरा हिजोआज कल्पनाका कानमा चौबिसै घण्टा गुञ्जिरहन्छ । कुटपिट र हुलदंगा छुट्याउनुको सट्टा प्रहरीले उल्टै पैसा र बाख्रो दुवै बुझाउने उर्दी दिएको उनी बताउँछिन् ।
कुटपिट भएपछि सुरेशले सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको म्यासेन्जर ग्रुपमा म्यासेज लेखेका थिए । जसमा उनले आफू असुरक्षित रहेको भन्दै घटनामा प्रहरीसहित वडाध्यक्षको मिलेमतो रहेको र आफू त्यसबारे अदालत जाने कुरा खुलाएका थिए ।

घटनास्थलमा प्रहरीले गरेको लापर्बाहीबारे इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज लक्ष्मी दत्त भट्टलाई पंक्तिकारले सोध्दा उनले चित्त बुझ्दो जवाफ दिन सकेनन् ।
"अघिल्लोे दिन पैसा लेनदेनको कुरा यहाँ हुँदैन तपाईंहरू आपसमा मिल्नुहोस् भनेर पठाइदिएँ," इन्चार्ज भट्ट भन्छन्, "दोस्रो दिन कुटपिट भएको खबर आएपछि मैले हवलदारसहित दुई जना घटनास्थलमा पठाइ दिएकै हो । त्यहाँ केके भयो त्योबारे म त्यति जानकार छैन ।"
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहरा भने घटनास्थलमा प्रहरीले लापर्बाही गरिएको पाइएमा अनुसन्धान गरेर प्रहरीमाथि तुरुन्त कारबाही गर्ने बताउँछन् ।
०००
पत्रकार महासंघले पनि यो विषयमा उचित छानबिन गर्न मिसन टोली बनाएको छ । महासंघका सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली बनेको हो । टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । त्यस्तै टोलीले घटनाबारे सत्यतथ्य छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने महासंघले जनाएको छ ।
अहिलेलाई महासंघको अनुसन्धानले थप तथ्यहरू बाहिर ल्याउनेछ भन्ने विश्वास गरौँ । तर त्यतिन्जेल, पीडित परिवार र सुरेशको न्यायका लागि सचेत समाजको चासो र आवाज अपरिहार्य छ ।