सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई तीन महिना कैद सजाय सुनाएको छ । सर्वोच्चको ९ सदस्यीय पूर्ण इजलासले अदालतको अवहेलना गरेको ठहर गर्दै सर्वोच्च अदालतले प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय तोकेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको पूर्ण इजालसले सिधाकुराले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।
🔗🔗 फेक अडियोबारे विस्तृत बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
सिधाकुराले ५ हजार रुपैयाँ जरिवाना तिरेर आफैँ क्षमयाचना गरेमा सजाय मिनाहा हुने फैसलामा उल्लेख छ । लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधाकुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नै पर्ने फैसला भएको छ ।
"प्रत्यर्थीमध्येका नवीन ढुंगाना र युवराज कँडेलका हकमा उल्लिखित सामग्री निजहरूले आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर निजहरुले उक्त सामग्रीको सत्यापन परीक्षण गर्नुपर्ने आमसञ्चारमा संलग्न जो सुकै व्यक्तिले अनिवार्य रुपमा गर्नुपर्ने न्यूनतम प्रक्रिया समेत पूरा नगरी आफ्नो सञ्चारमाध्यममा पटक–पटक उक्त सामग्री प्रकाशन गरी अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको एवम् उक्त कार्यलाई केबल लापरवाही वा हेलचेक्राई मात्र मान्न सकिने स्थिति नभई यस अदालत, अदालतका न्यायाधीश र समग्र न्यायिक प्रकृयाका बारेमा अफवाह फैलाई न्यायसम्पादन गर्ने कार्यमा अवरोध श्रृजना गर्ने बदनियतले नै गरेको पुष्टि भएकाले निजहरूको उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम निजहरुलाई जनही ३ (तीन) महिना कैद सजाय हुने ठहर्छ," सर्वोच्चको आदेशमा भनिएको छ।
फेक अडियो उत्पादक राजकुमार तिमिल्सिनाले भने ६ महिना कैद बस्नुपर्नेछ। आदेशमा भनिएको छ, "प्रत्यर्थीमध्येका राजकुमार तिमिल्सिनाको हकमा निजले नै उल्लिखित झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि अन्य प्रत्यर्थीहरूलाई दिएको देखिँदा निजलाई उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ (छ) महिना कैद सजाय हुने ठहर्छ।"
सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो ।
उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधाकुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए ।
सिधाकुराका सम्पादक नवीन ढुंगानाले सर्वोच्च अदालतकाे फैसलालाई सम्मान गर्दै आफू र प्रकाशक युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमा लेखेका छन् ।
"पाठक र स्राेताहरू हामी फेरि समाचार लेख्नै आउने छाैँ । हामी समाचार लेख्न नै जन्मिएका हाैँ। समाचारकाे धर्मबाट कहिल्याै बिचलित हुने छैनौं", उनले लेखेका छन् ।
गत वैशाख १४ गते शुक्रबार सिधाकुरा डटकमले ‘EXCLUSIVE’ भन्दै शृङ्खलाबद्ध सामग्रीहरू प्रकाशन गरेपछि उक्त प्रकरण सर्वोच्चमा न्यायिक परीक्षणको विषय बनेको थियो ।
'स्टिङ अपरेसन' मा आधारित भनेर प्रकाशित भई पछि हटाइएका ती श्रव्यदृश्य सामग्रीहरूमा सर्वोच्चका वरिष्ठतम् न्यायधीश, वरिष्ठ अधिवक्ता, मिडियाका सञ्चालकहरूलाई समेत मुछिएको थियो ।
🔗🔗 मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा
फैसलाको पुर्णपाठ पढ्नुहोस्:-