- सुवास चापागाईं-
‘मिम’ एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन
दुई दशकयता इन्टरनेटको पहुँच, प्रविधिको विकास र सामाजिक सञ्जालको व्यापक प्रयोगले संसार साँघुरिएको छ । सन् २००० ताका इन्टरनेट प्रयोगकर्तामाझ संगीत र सांगीतिक रुचिबारे छलफल गर्ने प्राथमिक अवधारणासहित ‘माइस्पेस’को सुरुवातसँगै संसारमा सामाजिक सञ्जालको उदय भएको मानिन्छ । विद्युतीय प्रविधिमा भएको व्यापक विकाससँगै गुगल, फेसबुकजस्ता माध्यमको आगमनले आममानिसको अनलाइन अस्तित्व स्थापित गर्यो । आजका दिनमा हेर्ने हो भने विश्व जनसंख्याको करिब आधा हिस्सा कुनै न कुनै रूपमा अनलाइनमा उपस्थिति जनाइरहेको छ । तथ्यांकअनुसार फेसबुकका मात्रै २.४ अर्ब प्रयोगकर्ता छन् । ट्विटर तथा इन्स्टाग्रामजस्ता अन्य सञ्जालहरूलाई समेट्ने हो भने यो संख्या निकै बढी हुने सहजै अनुमान लगाउन सकिन्छ ।
सुरुवाती दिनमा टेक्स्टमा सीमित सामाजिक सञ्जालका आदान–प्रदान ‘ए आई’ र अन्य प्रविधिको तीव्र विकाससँगै फोटो, भिडियो र अन्य अन्तर्क्रियात्मक सामग्रीले भरियो । मुख्यतः फेसबुक, ट्विटर र इन्स्टाग्राममा आफ्नो डिजिटल कन्टेन्ट (फोटो, भिडियो वा अन्य) लाई भाइरल अर्थात् व्यापक बनाउने चाहना नुरूप तीव्र गतिमा एक नयाँ प्रकारको सामग्री सञ्चार हुने गरेको छ, जसलाई इन्टरनेट प्रयोगकर्ता ‘मिम’ भन्ने गर्छन् । विशेषतः किशोर–किशोरी र युवामाझ लोकप्रिय रहने मिम वास्तवमै एउटा विश्वव्यापी नव–सांस्कृतिक प्रक्रियाको रूपमा उदाएको छ । यसलाई सामाजिक सञ्जालका भित्ताहरूदेखि सन्देशमूलक एपहरूमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । यी मिमहरूमा प्रायः तस्बिर, भिडियो र टेक्स्टको मिश्रण हुने गर्छ । इन्टरनेटमा मिमको लोकप्रियता यति बढिसकेको छ कि आजभोलि ठुल्ठूला व्यापारिक घराना तथा अनलाइन व्यापारीले समेत विज्ञापनका निम्ति यस्ता मिम उत्पादन र प्रयोग गर्ने गर्छन् । कहिलेकाहीँ त कम्पनीहरूबीच ग्राहकको ध्यानाकर्षण गर्नका निम्ति ‘मिम–युद्ध’ नै हुने गरेको पनि देखिन्छ ।
चित्र, भिडियो र लिपिको रचनात्मक सम्मिश्रण गरी बनाइने हुँदा यसले छोटो समयमै धेरै प्रयोगकर्ताको ध्यानाकर्षण गर्छ र यस्ता सामग्रीको विस्तार गुणात्मक रूपमा हुने गर्छ । यी मिमहरू केवल एक डिजिटल फोटो वा भिडियो मात्र नभएर व्यंग्य, क्रोध र कतिपय समयमा कुण्ठा पोख्ने माध्यम पनि बन्न पुगेका हुन्छन् । समय–सापेक्ष, तर भिन्ना–भिन्नै अवधारणालाई एकै ठाउँमा केन्द्रीकृत गरेर सटिक र व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्न सकिने भएकाले पनि मिम एकदमै उपयोगी माध्यम बन्न पुगेको छ । उसो त वेलावेलामा इन्टरनेट मिमको प्रयोगलाई नै राजनीतीकरण गर्ने नगरिएको होइन । विभिन्न अध्ययनअनुसार हाम्रै छिमेकी भारतमा युवामाझ इन्टरनेट मिमको प्रयोग बढ्दै गर्दा त्यहाँको सत्ताले यो माध्यम प्रयोग गरी ‘राष्ट्रविरोधी’ भावना फैलाउन खोजेको भन्दै सन् ०१७–०१८ ताका मात्रै कम्तीमा ५० जना युवालाई गिरफ्तार गरेको थियो । पर्यावरणको क्षेत्रमा काम गर्दै आएकी दिशा रविलाई हालै लगाइएको देशद्रोहको मुद्दालाई पनि यसैसँग जोडेर हेर्न सकिन्छ ।
आफूलाई लोकतान्त्रिक भनेर चिनाउने युरोपियन युनियनले पनि इन्टरनेट मिमको प्रयोगको नियमन गर्ने प्रयास गरेको खबर नआएका होइनन् । यस्ता घटना समाज तथा जनमानसमा इन्टरनेट मिम कतिसम्म स्थापित भइसकेको रहेछ भन्ने बुझ्नका लागि सहज उदाहरण हुन् ।
च्याउसरी फैलिन सक्ने ‘मिम’को उपयोगिता र विशेषताको विवेचना गर्दै गर्दा हामीलाई लाग्न सक्छ कि इन्टरनेट र मिम पर्यायवाची वा भनौँ एक–अर्काका पूरक हुन् । तर, हामीले मिम भनेको इन्टरनेटमा छरपस्ट देखा पर्ने फोटोसहितका पंक्ति वा दुई–चार दिन ‘भाइरल’ भई हराएर जाने भिडियो भनेर मात्र बुझ्यौँ भने त्यो अल्पव्याख्या मात्र हुनेछ । वास्तवमा ‘मिम’ एउटा विशाल र जटिल अवधारणा हो । यससम्बन्धी सूक्ष्म चर्चा हुनु आवश्यक पनि छ, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन । पढ्नुस् सुवास चापागाईंको नयाँ पत्रिकामा प्रकाशित लेख