नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था ‘एक्सेस नाउ’ ले इन्टरनेट प्रतिबन्धविरुद्धको अभियान ‘किप इट अन’को सहकार्यमा प्रकाशित प्रतिवेदन ‘इन्टरनेट सटडाउन इन २०२३- स्रिङ्किङ डेमोक्रेसी, ग्रोइङ भायोलेन्स’मा नेपाललाई पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा राखिएको हो।
प्रतिवेदन अनुसार सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशको सूचिमा भारत लगातार छैठौं पटक पहिलो स्थानमा रहेको छ । त्यस्तै सन् २०२३ मा नेपालसहित मोजाम्बिक, केन्या र सुरिनाममा पहिलो पटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा समावेश भएका हुन् । भारतमा २०२३ मा ११६ पटक इन्टरनेट सटडाउन भएको प्रतिवेदनमा उल्लेख छ ।
२०२२ को तुलनामा २०२३ मा ४१ प्रतिशतले वृद्धि
सन् २०२२ को तुलनामा सन् २०२३ मा इन्टरनेट सटडाउनको घटना ४१ प्रतिशतले वृद्धि भएको छ । 'एक्सेस नाउ'ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा ३९ देशहरूमा २८३ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए । सन् २०२२ मा ४० देशमा २०१ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए ।
सन् २०२३ मा हिंसात्मक घटनाहरूका कारण ९ देशमा ७४ पटक इन्टरनेट सटडाउन भएको थियो । त्यस्तै, विरोध प्रदर्शनहरूका कारण १५ देशमा ६३ पटक, परीक्षाका कारण ६ देशमा १२ पटक र निर्वाचनका कारण ५ देशमा ५ पटक र प्राकृतिक विपद्का कारण ४ देशमा ४ पटक इन्टरनेट सटडाउन भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सूचिमा पर्नुको कारण टिकटकमा प्रतिबन्ध
नेपाल इन्टरनेट सटडाउन हुने देशको सूचिमा पहिलो पटक पर्नुको कारण भिडियो प्लेटफर्म टिकटकमा लगाइएको प्रतिबन्ध हो । सामाजिक सद्भावमा खलल पुगेको भन्दै २०८० कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने घोषणा गरेको थियो।
'सेनेगलदेखि इथियोपिया, नेपालदेखि भारत, इजरायलदेखि रुसका सरकारहरू निरन्तर रूपमा इन्टरनेट र संवेदनशील डिजिटल सञ्चार प्लेटफर्महरू बन्द गर्न लागिपरेका छन्', एक्सेस नाउको प्रतिवेदनमा भनिएको छ- ‘अभिव्यक्ति कुण्ठित गर्ने, महत्त्वपूर्ण सूचनामा पहुँच रोक्ने र मानवताविरुद्ध जघन्य अपराध ढाकछोप गर्ने र मानिसहरूको आधारभूत आवश्यक्ता पुरा गर्न अवरोध सिर्जना गर्ने गरेको छ।'
एक्सेस नाउले प्रतिवेदनमा नेपालमा टिकटक प्रतिबन्ध गरेको र सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएर सबै सामाजिक सञ्जाललाई कडाई गर्न लागेको टाइम मा नोभेम्बर १३, २०२३ मा प्रकाशित समाचारलाई रिफरेन्स लिएको छ ।
इन्टरनेट सटडाउन गर्नुको कारण फरक
इन्टरनेट सटडाउन गर्ने देशहरूले सटडाउन गर्नुको अपर्याप्त वा खराब कारणहरू दिने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा, गलत सूचना र घृणायुक्त अभिव्यक्तिको प्रसार रोक्न इन्टरनेट सटडाउन गर्ने गरेको दाबी सरोकारवालाले गरेपनि वास्तविक कारण चाहिँ अरूलाई दमन गर्न, मौन राख्न र नियन्त्रणको प्रयास गर्न इन्टरनेट वा कुनैपनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरिएको प्रतिवेदनको निष्कर्ष छ ।
‘इन्टरनेट सटडाउन भएकोले धेरै ठाउँमा धेरै मानिसहरूलाई प्रभाव पारेको देख्यौं, यी बन्दहरूले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा मानवअधिकारको स्पष्ट उल्लङ्घन गरेको तथ्यको बावजुद, सरकारले जनता र समुदायलाई हानी पुर्याउने र जीवनलाई जोखिममा पार्ने आफ्नै राजनीतिक स्वार्थलाई अगाडि बढाउन जानाजानी सटडाउन गर्न लगाएका हुन्’- प्रतिवेदनमा भनिएको छ।
फेसबुक सबैभन्दा बढी प्रतिबन्धित सामाजिक सञ्जाल
सन् २०२३ मा धेरै देशहरूले विभिन्न सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएका थिए । सबैभन्दा बढी फेसबुकमा प्रतिबन्ध लगाइएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
फेसबुकलाई ११ वटा देशहरूले २३ पटक प्रतिबन्ध लगाए । त्यस्तै ह्वाट्सएपलाई ९ देशले १९ पटक, एक्सलाई १० वटा देशले २१ पटक, इन्स्टाग्रामलाई १० वटा देशले १२ पटक, युट्युबलाई ७ वटा देशले १७ पटक, स्काइपलाई २ वटा देशले १० पटक, टिकटकलाई ६ वटा देशले ६ पटक, ग्रीन्डर (Grindr) लाई १२ वटा देशले १२ पटक, सिगनललाई ३ वटा देशले ३ पटक, क्लबहाउसलाई ३ वटा देशले ३ पटक प्रतिबन्ध लगाएका थिए ।